कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

टेनिसमा राज गर्दै अल्कारज

स्पेनी टेनिस खेलाडी कार्लोस अल्कारज भर्खर २१ वर्षका भए । यसअघि यूएस ओपन र फ्रेन्च ओपन जितेका अल्कारजले सोमबार फ्रेन्च ओपन जितेका छन् । यससागै उनी यी तीनवटै ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छो खेलाडी भएका छन् ।
हिमेश

काठमाडौँ — विम्बल्डन मात्र होइन, फ्रेन्च ओपन पनि जितेको हुनुपर्छ, त्यो टेनिस खेलाडी आफैंमा बबाल हुन्छ । अझ यूएस ओपन हात पारेको छ भने कुरै बेग्लै । स्पेनका कार्लोस अल्कारज यी तीनै उपाधि जित्ने खेलाडीमध्ये एक भएका छन् । भर्खर २१ वर्षका भए उनी । यससँगै उनी ती तीन ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छो खेलाडी पनि भएका छन् । सबैलाई थाहा छ, विम्बल्डन र फ्रेन्च ओपन त एक आपसमा ठ्याक्कै फरक छ, एक आपसमा केही पनि मिल्दैन । 

टेनिसमा राज गर्दै अल्कारज

विम्बल्डन खेलिन्छ, घाँसे कोर्टमा । अनि फ्रेन्च ओपन रातो माटोको कोर्टमा । प्रायः विम्बल्डनमा राम्रो गर्नेले फ्रेन्च ओपनमा राम्रो गर्न सक्दैन । अनि फ्रेन्च ओपनमा राम्रो खेल्नेले विम्बल्डनमा राम्रो खेल्न सक्दैन । यूएस ओपन भने हार्ड कोर्टमा खेलिन्छ, यी दुवै प्रतियोगिताभन्दा यो झन् फरक छ । अल्कारजले सबैभन्दा पहिले यूएस ओपन जिते । साल थियो, २०२१ । गत वर्ष उनले विम्बल्डन पनि जिते । सोमबार मात्रै फ्रेन्च ओपन फाइनलमा उनले जर्मनीका एलेक्जान्डर जेभरेभलाई पराजित गरे ।

फाइनल पाँच सेट चलेको थियो र त्यसमा अल्कारेज ६–३, २–६, ५–७, ६–१ र ६–२ ले विजयी रहे । सुरुआती सेट टुंगिँदा जेभरेभ नै अगाडि थिए । तर अन्तिम दुई सेटमा अल्कारज अर्कै खेलाडी सावित भए । यी दुवै सेट जितेर उनले आफूलाई सबैभन्दा प्रिय ग्रान्ड स्लाम टेनिसको उपाधि जिते । खासमा जति बेला उनले व्यावसायिक रूपमा टेनिस खेल्न सुरु गरे, सबैले गरेको अनुमान हो, यी खेलाडीले चाँडै फ्रेन्च ओपन जित्नेछन् ।

फ्रेन्च ओपन भनेपछि त्यसै पनि अगाडि आउने नाम हो, राफायल नाडाल । फ्रेन्च ओपनको इतिहासमा उनी जत्तिको सफल खेलाडी अरू कोही छैनन् । विश्वास नहुन सक्छ, नाडालले १४ पल्ट रातो माटोमा खेलिने ग्रान्ड स्लाम जितेका छन् । त्यसैले उनलाई क्ले कोर्टमा राजा मानिन्छ । नाडाल पनि परे, स्पेनी नै । अल्कारजका लागि उनी सबथोक हुन् । उनको एउटै इच्छा भनेको नाडालले जस्तै खेल्ने र जित्ने हो । त्यसकै पहिलो खुड्किलो उनले पार गरेका छन् ।

फाइनल जित्नु अगाडि उनको एउटा तस्बिर फेरि चारैतर्फ आउन थालेको थियो । त्यो तस्बिर आफैंमा कथा हो । त्यसमा १२ वर्षका अल्कारज आइफल टावर अगाडि ठूलो स्क्रिनमा घत मानेर फ्रेन्च ओपनको कुनै खेल हेरिरहेका छन् । त्यो तस्बिर हेरे पनि लाग्छ, यी भर्खरका ठिटोभित्र फ्रेन्च ओपन खेल्ने ठूलो चाहना छ । त्यसको ९ वर्षपछि उनी आफैं च्याम्पियन भए । अब उनले आफ्नो नयाँ सोख पूरा गर्ने भएका छन् । उनले खुट्टामा आइफल टावर नै खोप्ने भएका छन्, ट्याटुका रूपमा ।

‘म यो काम गर्छु गर्छु,’ उनले मिडियासँगको कुराकानीमा भनेका छन् । सानो छँदा अल्कारज क्ले कोर्टमै खेल्न बढी रुचाउँथे । रोलान्ड ग्यारोसमा चलिरहेको खेल हेर्नका लागि स्कुलबाट घर जाँदा दौडेर पुग्थे । उनी भन्छन्, ‘ग्रान्ड स्लाम जित्नु आफैंमा ठूलो हो । तर हामी स्पेनी खेलाडीका लागि फ्रेन्च ओपन जित्नुको महत्त्व नै बेग्लै छ । मैले ६ वर्षदेखि टेनिस खेल्न थालेको हुँ र त्यही बेला देखेको एउटा सपना हो, फ्रेन्च ओपन जित्ने । अहिले यो पूरा भएको छ ।’

रमाइलो त के पनि छ भने अल्कारजले तीनपल्ट ग्रान्ड स्लाम फाइनल खेलेका छन् र तीनैपल्ट च्याम्पियन पनि भएका छन् । यहाँनिर छुटाउनै नहुने एउटा तथ्य के भने फ्रेन्च ओपन भन्नेबित्तिकै नाडाल मात्र होइन, एक हुल च्याम्पियन स्पेनी खेलाडीहरू आउने गर्छन् । फ्रेन्च ओपनमा स्पेनी खेलाडीको वर्चस्व आफैंमा अद्वितीय छ । तर यसमा कुनै रहस्य भने लुकेको छैन । भनिन्छ, टेनिस खेलिने स्पेनका कुनै पनि गाउँमा एक थोक पक्कै हुन्छ, क्ले कोर्ट ।

स्पेनमा जति पनि टेनिस कोर्ट छन्, त्यसमा ६० भन्दा बढी क्ले कोर्ट नै छन् । अनि यस्तै कोर्टमा खेलेर सबैले नाडाल हुने सपना बुन्छन् । नाडालले सन् २००५ मा पहिलो पटक फ्रेन्च ओपन जिते । उनले अन्तिम पटक जितेको भने २०२२ मा हो । सन् १९९३ देखिको च्याम्पियनको सूची बनाउने हो भने पुरुषतर्फ ३२ बिजेतामध्ये २० त स्पेनी खेलाडी छन् । अब सूची नै बनाउने हो भने त्यसमा सर्गे ब्रुगुएरा, कार्लोस मोया, अल्बर्टो कोस्टा र जुवान कार्लोस फरेराको नाम आउँछ ।

भन्न कर लाग्छ, उनीहरूले तय गरेको बाटो समाउँदै यसपल्टको च्याम्पियन भएका हुन्, अल्कारज । र, एउटा अर्को तथ्य पनि छ । यसपल्ट नाडालले पनि फ्रेन्च ओपन खेलेका थिए । तर पहिलो चरणमै पराजित भए । अब त उनी ३८ वर्षका भइसके । यो सिजन उनी पूर्णतः चोटग्रस्त जस्तै छन् । त्यसैले राम्रो खेल्न सकिरहेका छैनन् । उनलाई जेभरेजले नै हराएका थिए । अनि नोभाक जोकोभिच पनि यसपल्ट तेस्रो चरणमै रोकिए । कारण थियो, चोट नै । जोकोभिचले रोलेन्जो मुसेटीलाई पाँच सेट चलेको खेलमा हराउन त हराए, तर चौथो चरणको खेल अगाडि नै प्रतियोगिता परित्याग गरे ।

यसको अर्थ के भने विश्व टेनिसमा एउटा युग सकिँदै छ । त्यो भनेको नाडाल र जोकोभिचसँगै रोजर फेडेररको युग । एकै समय यी महान् तीन खेलाडीले विश्व टेनिस आफ्नो पकडमा राखे । फेडेररले त संन्यास लिइसके । नाडालले कहिले संन्यास लिने भन्ने मात्रै हो । अब त जोकोभिच पनि त्यस्ता खेलाडी रहेनन्, जस्तो केही अगाडिसम्म थिए । यो पुस्तापछि विश्व टेनिस हाँक्ने को त ? यसको पहिलो र सजिलो उत्तर हो, अल्कारज ।

प्रकाशित : जेष्ठ २९, २०८१ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x