कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

विस्फोटक जोन्स

जारी ट्वान्टी–२० विश्वकपमा आयोजक राष्ट्र अमेरिकाले क्यानडा र पाकिस्तानलाई पराजित गरिसकेको छ । क्यानडासँगको खेलमा ४० बलमा ९४ रन बनाएका आरोन जोन्स नटआउट रहे । पाकिस्तानविरुद्धको सनसनीपूर्ण खेलमा अमेरिकालाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जोन्स २६ बलमा ३६ रनमा नटआउट रहे । 
हिमेश

काठमाडौँ — कम्तीमा पाकिस्तानी क्रिकेट समर्थकले उनलाई बिर्सने छैनन् । नाम हो, आरोन जोन्स । अमेरिकाले ट्वान्टी–२० विश्वकप २०२४ मा पाकिस्तानमाथि रचेको जित ऐतिहासिक रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटलाई अझ फैलाउने हो भने एसोसिएट देशले टेस्ट प्रतिद्वन्द्वीलाई यस्तो धक्का बराबर दिइरहनुपर्छ । अमेरिकाको त्यो जितमा अनेक नायक रहे । ती सबैको अहिले जताततै चर्चा छ । त्यसमै एक हुन्, जोन्स । उनले पाकिस्तानविरुद्ध २६ बलमा ३६ रन बनाए ।

विस्फोटक जोन्स

दुई/दुई चौका र छक्का पनि प्रहार गरे । मुख्य कुरा, उनी नटआउट रहे । अनि नितिश कुमारसँग मिलेर निर्णायक साझेदारी गरे । यही प्रदर्शनका कारणले त हो, अमेरिकाले तीन विकेटमा ठ्याक्कै १ सय ५९ रन बनाउन सकेको । टाई भएको यस खेलमा पाकिस्तानले पहिले ब्याटिङ गरेको थियो । पछि खेलको निर्णय सुपर ओभरमा भयो । खेल वास्तवमै सनसनीपूर्ण रह्यो । अमेरिकी क्रिकेट इतिहासमै अहिलेसम्मको सबैभन्दा सुखद नतिजा निस्क्यो ।

सुपर ओभरमा पनि रनआउट हुनुअघि जोन्सले ११ रन बनाए । मोहम्मद आमिरको पहिलो बलमै उनले चौका प्रहार गरेर अमेरिकाको नियत के हो देखाए । पाकिस्तानले जवाफमा १३ रनमात्रै बनाउन सक्यो । अमेरिकाको यो लगातार दोस्रो जित हो । सुरुमा अमेरिकाले क्यानडालाई पनि हराएको थियो । दुई खेलबाट चार अंकसहित अमेरिका समूह ‘ए’ को लिग तालिकाको शीर्षमा छ । अब हो न हो, यो समूहबाट सुपर–एट पुग्ने टिममा एउटा ठूलै नाम अनुपस्थित हुन सक्छ ।

भारत र आयरल्यान्ड पनि यो समूहमा छन् । अब अमेरिकाले आफ्नो यो उम्दा प्रदर्शनको यात्रा अझ केही खेलमा कायम राख्ने हो भने जे पनि हुन सक्छ, त्यसै पनि क्रिकेट खेलको अर्को नाम हो, अनिश्चितता । क्यानडामाथिको जितमा पनि सबैभन्दा मुख्य खेलाडी रहे, जोन्स नै । त्यस खेलमा क्यानडाले सुरुमा ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ९४ रन बनाएको थियो । यो उद्घाटन खेल थियो र पूरा सम्भावना बनिसकेको थियो, अमेरिकालाई गाह्रो हुने ।

तर ठीक यही बेला जोन्सले विस्फोटक इनिङ खेले ४० बलमा ९४ रनको । उनले चार चौका र १० छक्का प्रहार गरे । अनि स्ट्राइक रेट रह्यो, २ सय ३५ । अझ मुख्य कुरा, यो इनिङ्समा पनि जोन्स नटआउट रहे । जति बेला उनी ब्याटिङका लागि क्रिजमा ओर्लेका थिए, अमेरिका समस्यामै थियो । टिमको ४२ रन बनाउँदासम्म दुई विकेट खसिसकेको थियो । त्यहीँबाट जोन्सले पूरा जिम्मेवारीले भरिएको ब्याटिङ गरे । खेल सकिँदा लागिरहेको थियो, के अमेरिका साँच्चै यो खेलमा कुनै समय दबाबमा पनि थियो र ?

बारबाडोससँग सम्बन्ध

स्वाभाविक रूपमा जोन्स नै त्यस खेलका ‘प्लेयर अफ द म्याच’ रहे । प्रतियोगिताले एक साता छुनै लाग्दा यो ट्वान्टी–२० विश्वकपका सबैभन्दा ठूलो नामका रूपमा जोन्स नै अगाडि छन् । अहिलेको अमेरिकी टिम हेर्नुपर्छ, त्यो साँच्चै ‘मल्टी डाइमेन्सनल’ छ । यसमा को मात्र छैन, कहाँको मात्र छैन । त्यसो त जोन्सको जन्म अमेरिकामै भएको हो । उनी पक्कापक्की अमेरिकी नै हुन् । उनको जन्म न्युयोर्कमा भएको हो । तर अरू सबै अमेरिकी खेलाडीको जस्तै उनको सम्बन्ध भने बारबारडोससँग छ ।

क्यारेबियन क्षेत्रको बारबाडोस क्रिकेट खेल्ने देश नै भयो । वेस्ट इन्डिजसँग जोडिने अनेक देशमध्ये यो पनि एक हो । यसको क्रिकेट इतिहास आफैंमा लामो छ । त्यस अर्थमा जोन्सले अमेरिकामा एकाएक क्रिकेट खेलेका होइनन् । अझ रमाइलो त के भने उनले खेल्ने घरेलु क्रिकेट भनेकै बारबाडोसमा हो । त्यसैले उनको नसामा सुरुदेखि नै क्रिकेट छ । जोन्सका आमाबुबा अरू धेरै क्यारेबियन क्षेत्रका बासिन्दा जस्तै अमेरिका छिरे । त्यहीं उनको जन्म भयो ।

तर उनले क्रिकेट खेल्न छाडेनन् । त्यसैले फेरि बारबाडोस फर्के । उनले एउटा ठोस निर्णय भने गरे, वेस्ट इन्डिजका लागि होइन, अमेरिकाका लागि क्रिकेट खेल्ने । सन् २०१६ मा पहिलो पटक बारबाडोसका लागि खेले । सन् २०१८ पुग्दा नपुग्दै उनले अमेरिकाका लागि खेल्ने निर्णय गरिसकेका थिए । सन् २०१९ मा उनले अमेरिकाको वान–डे हैसियत कायम राख्ने निर्णायक भूमिका खेले । सन् २०२१ मा उनी अमेरिकी टिमका उपकप्तान पनि भए ।

अमेरिकाको क्रिकेट इतिहास

ट्वान्टी–२० विश्वकपमा अमेरिकाको सानदार सुरुआतपछि धेरैले फर्केर यो देशको क्रिकेट इतिहास पल्टाउन थालेका छन् । अब त दाबी पनि के आइरहेको छ भने अमेरिका नै त्यो पहिलो देश हो, जहाँ पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो, त्यो पनि सन् १८४४ मा । खेल न्युयोर्कमा भएको थियो । अहिलेको विश्वकपका लागि रोजिएका अमेरिकाका तीन स्थानमा न्युयोर्क पनि पर्छ । अमेरिकामा सन् १७०० को वरिपरि नै क्रिकेट खेल्न थालेको इतिहास छ ।

अब भनिरहनु पर्दैन, अमेरिकामा क्रिकेट भित्र्याउने काम बेलायतीकै थियो । अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टनले आफ्ना सैनिकलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न क्रिकेट खेलाउँथे । न्युयोर्क उत्रेका बेलायतीले क्रिकेटलाई यो सहरमा खुबै लोकप्रिय बनाए । उन्नाइसौं शताब्दी आइपुग्दा अमेरिकामा जताततै क्रिकेट क्लब खुल्न थाले । त्यतिबेला यो अमेरिकाको नम्बर एक खेल जस्तै भइसकेको थियो । यही सिलसिलामा अमेरिका र क्यानडाको खेल भएको हो ।

त्यो समय क्यानडामा पनि क्रिकेट उत्तिकै लोकप्रिय थियो । न्युयोर्कका पत्रपत्रिकाले क्रिकेटको समाचार खुबै महत्त्व दिएर छाप्थे, बेसबलभन्दा बढी । तर अमेरिकामा गृहयुद्ध सुरु भएपछि सबथोक फेरियो । क्रिकेट अंग्रेजको खेल थियो, त्यसैले अमेरिकीले यसलाई अगाडि बढाउन चाहेनन् । अमेरिकाले क्रिकेटको स्थानमा बेसबललाई आफ्नो बनायो । के अब क्रिकेटले फेरि अमेरिकामा पुनरागमन गर्न सक्छ त ? यसका लागि अमेरिकाले पाकिस्तान जस्ता देशलाई हराउने क्रम भने जारी राख्नैपर्छ ।

प्रकाशित : जेष्ठ २६, २०८१ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x