काठमाडौँ — सन् १९७५ मा आजकै दिन (जुन ७) मा पहिलो विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको थियो । दुई सातासम्म चलेको प्रतियोगिताका खेल इंग्ल्यान्डका ७ स्थानमा खेलाइएको थियो । लर्डसमा भएको फाइनल खेलमा अस्ट्रेलियालाई १७ रनले पराजित गर्दै वेस्ट इन्डिजले विश्वकप जितेको थियो ।
प्रतियोगितामा टेस्ट खेल्ने ६ र अन्य २ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । टेस्ट खेल्ने राष्ट्रहरू इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र वेस्ट इन्डिज तथा टेस्ट नखेल्ने श्रीलंका र पूर्वी अफ्रिका प्रतिस्पर्धी थिए ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी प्रत्येक टिमले अरू हरेक टिमसँग खेल खेलाइएको थियो । हरेक समूहका दुई/दुई उत्कृष्ट टिम सेमिफाइनल पुगेका थिए भने विजेताले फाइनल खेलेका थिए । ६० ओभरमा खेलाइएको म्याचका लागि खेलाडीको जर्सी सेतो र क्रिकेट बल रातो थियो ।
दोस्रो (१९७९) र तेस्रो (१९८३) मा भएका विश्वकप क्रिकेट प्रतियोगिता पनि इंग्ल्यान्डमै भएका थिए । १९८७ को विश्वकप क्रिकेट भने भारत र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेका थिए । उक्त प्रतियोगितादेखि ५० ओभरको खेल खेलाउन थालिएको हो ।
