भारतमा पुरातत्त्व अध्ययन गरिरहेका विद्यार्थीहरू केही समयअघि लुम्बिनी, तौलिहवा र तिलौराकोटका सांस्कृतिक सम्पदाबारे अध्ययन र अनुसन्धानमा सक्रिए भए । अध्ययनपछि भारत फर्केका तीमध्ये अधिकांश विद्यार्थी नेपालको लोकल खाना र नेपालीको स्वागत सत्कार मिस गरिरहेको बताउँछन् ।
भैरहवा — भारतको गुजरातस्थित द महाराजा सायाजीराव विश्वविद्यालय (एमएसयू) मा विद्यावारिधिकी शोधकर्ता २६ वर्षीया स्वाती बर्मा नेपालको हावापानी, स्थानीय बासिन्दा र यहाँका परिकार ‘मिस’ गरिरहेकी छन् । वनारस हिन्दु विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर पूरा गरेकी उनी गुजरातको बरोडास्थित विश्वविद्यालयमा राजस्थानको पुरापाषणकालीन पुरातात्त्विक अवस्थाबारे शोध गरिरहेकी छन् ।
बर्मा गत हिउँदमा कपिलवस्तुको तिलौराकोटमा सञ्चालित एकमहिने उत्खननमा सहभागी भएकी थिइन् । सरल स्वभावकी उनी नेपालको धनगढीनजिकै उत्तरप्रदेशकी बासिन्दा भएकाले नेपाली रहनसहनसित परिचित छन् ।
यतिबेला भारत र नेपालमा उधुम गर्मी छ । स्वाती भने तिलौराकोटमा बिताएको ‘विन्टर सिजन’ मिस गरिरहेको सुनाउँछिन् । ‘नेपालका मानिस नै स्पेसल लाग्यो,’ कान्तिपुरसित उनले भनिन्, ‘त्यहाँका गाउँले र साथीभाइको व्यवहारले फरक मुलुकको अनुभूति नै भएन ।’ कम बोल्ने र मुस्काइरहने उनले नेपालका लुम्बिनी बौद्ध र त्रिभुवन विश्वविद्यालयमा पुरातत्त्व विषयमा स्नातकोत्तर तह अध्ययन गरिरहेका छात्रछात्रालाई साथी बनाएको बताइन् । ‘धेरै जनासँग सामाजिक सञ्जालमार्फत कुराकानी हुन्छ,’ उनले भनिन्, ‘एक महिनामै घुलमिल भइयो, सम्झना आउँछ ।’
स्वातीले तिलौराकोट र तौलिहवामा पाइने ‘लोकल फुड’ले लोभ्याएको बताइन् । पानीपुरी, चाट, चटपट भारतमा पनि उपलब्ध हुन्छन् । उनले धेरै मिस गरिरहेको चाहिँ झोल मःमः हो । झोल मःमः को स्वाद जिब्रोबाट नहटेको उनले सुनाइन् । तिलौराकोटमा उत्खननका क्रममा आफ्नो व्यावहारिक ज्ञानको पाटो उकासिएको उनको भनाइ छ । दक्षिण एसियाकै व्यवस्थित र संरक्षित पुरातात्त्विक स्थलमा काम गरेर ज्ञानको दायरा बढाउन पाएकोमा खुसी व्यक्त गरिन् । ‘त्यो चिसो मौसम र न्यानो साथ सम्झिरहेकी छु,’ उनले भनिन्, ‘फेरि कतिखेर नेपाल जान पाउँछु भनेर सोचिरहेकी छु, साथीसँगै झोल मःमः सम्झिरहेकी छु ।’
तस्बिरहरू : मनोज पौडेल/कान्तिपुर
विहारको दलहट्टा, मुंगेरका २८ वर्षीय आकाश पाण्डेय महाराजा सायाजीराव विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत छन् । दुई वर्षदेखि भारतको प्राचीन इतिहासमा शोध गरिरहेका छन् । गत माघमा उनी विश्वविद्यालयका अन्य साथीसँगै तिलौराकोटमा ‘फिल्ड स्कुल’का लागि आएका थिए । उनको घरबाट जनकपुर करिब २० किलोमिटरको दूरीमा छ । उनका बुवा साइकलमा जनकपुर आउजाउ गरिरहन्थे । बुवासँगै नेपाल आउजाउ गर्ने गरेकाले उनलाई यहाँको संस्कृतिबारे जानकारी छ । जसले उनलाई नेपाल र नेपालीसँग आत्मीय तुल्याउने गरेको छ । उनलाई नेपालको मूर्तिकलाबारे खुबै चासो छ । ‘नेपाल आउँदा घरकै जस्तो वातावरण हुन्छ,’ उनले भने, ‘सबैको एकनासको व्यवहारले खुसी तुल्याउँछ ।’ यहाँ उत्खननमा सहभागी उनले रूपन्देही र कपिलवस्तुस्थित ‘ग्रेटर लुम्बिनी’ अन्तर्गतका बुद्धस्थल भ्रमण गरे । ‘तिलौराकोट प्राकृतिक अवस्थामै छ,’ उनले भने, ‘यो गाउँजस्तै छ, खोज्नुपर्ने कुरा धेरै छन् ।’
त्यसबाहेक लुम्बिनीस्थित जर्मन र नेपाल विहारले उनलाई लोभ्यायो । यहाँ प्रदूषण छैन । २४ दिन यहाँ बसेर फर्किएका उनले लुम्बिनीमा धेरै समय बस्न मन रहेको बताए । अध्ययन सिलसिलामा फेरि आएर समय बिताउने उनको भनाइ छ । ‘नेपालमा स्नातकोत्तर तहमा मात्र पुरातत्त्व अध्ययन भइरहेको छ,’ उनले भने, ‘यसलाई स्नातक तहबाटै पढाउनुपर्छ ।’ यहाँका पुरातात्त्विक स्थल हेर्दा विद्यालय तहबाटै पुरातत्त्व र यसको महत्त्वबारे कोर्समा समेटनुपर्ने उनको सुझाव छ । ‘यसले यहाँको ज्ञात/अज्ञात संस्कृति बचाउन सहयोग पुग्छ,’ उनले भने, ‘स्थानीय बासिन्दालाई पनि पुरातत्त्व र संस्कृतिबारे जानकारी दिन जरुरी छ ।’ उनलाई काठमाडौं र पोखरा घुम्न मन छ । ‘अस्ति त हतारमा फर्किनुपर्यो,’ उनले भने, ‘फेरि घुम्न आउँछु ।’ आकाशले पुरापाषणकालमा मानवले प्रयोगमा ल्याएको ढुंगे प्रविधिको अध्ययन गरिरहेका छन् । उनले अहिले दक्षिण विहारको खण्डकपुर क्षेत्रमा आधारित भएर अध्ययनको काम गरिरहेका छन् । ‘आफ्नो संस्कृति बुझ्न जरुरी छ,’ उनले भने, ‘यो संस्कृति बचाएर भावी पुस्तालाई उपहार दिने विषय हो ।’ आकाशले सबैभन्दा बढी मिस गरिरहेको स्थानीय खाना हुन् । सेवा र झोल मःमः को स्वाद याद आइरहेको उनले बताए ।
भारतबाट एक दर्जन विद्यार्थी, पुरातत्त्व कर्मचारी र प्रोफेसर आएका थिए । उनीहरू विभिन्न विश्वविद्यालय र कार्यालयबाट आएका थिए । उनीहरू एकआपसमा परिचित थिएनन् । यहाँ आएपछि घनिष्ठ बने । यिनैमध्येका २८ वर्षीय श्रीसमर्थ इमानदार चुलबुले स्वभावका थिए । एमएसयूमा विद्यावारिधि अन्तिम वर्षका शोधकर्ता उनी कर्नाटकको बेलागाभी जिल्लामा जन्मिए पनि गुजरातको बरोडामै हुर्किए । २४ वर्षदेखि बरोडामै बसोबास भएका उनले पुरातत्त्वमै स्नातक र स्नातकोत्तर पूरा गरेका थिए । डेढ वर्ष गुजरातस्थित पुरातात्त्विक संग्रहालयमा निर्देशक पदमा कार्यरत थिए । सरकारी जागिर छाडेर भारतको उत्तर–पश्चिम राज्यमा पाइने प्राचीन माटाका भाडा (सेरामिक) मा विद्यावारिधि अध्ययन गर्न थाले ।
यसक्रममा जम्मु कश्मीर, पन्जाब, हरियाना, पश्चिम उत्तरप्रदेश, राजस्थान, गुजरात र पाकिस्तानको सिन्ध प्रान्तका विभिन्न ठाउँमा पुगेर सेरामिकबारे अध्ययन गरिसकेका छन् । ‘गत विन्टरमा पहिलो पटक नेपाल पुगेको हुँ,’ उनले भने, ‘यस पटक विश्वविद्यालयबाट छनोट भएर आएको थिए ।’ दक्षिण भारतमा जन्मिएका उनको यहाँ आउँदा दिमाग खाली थियो । ‘यहाँका मानिस आत्मीय रहेछन्,’ उनले भने, ‘सांस्कृतिक रूपमा भारतकै जस्तो रहेछ ।’ तिलौराकोट उत्खननमा सहभागी भएका उनलाई यहाँका पुरातात्त्विक स्थलले लोभ्याए । उनलाई लुम्बिनीस्थित मायादेवी मन्दिरले धेरै प्रभावित तुल्यायो । ‘जता गयो, उतै सम्पदास्थल,’ उनले भने, ‘स्थानीय बासिन्दाको सहकार्य पनि राम्रो लाग्यो ।’ यस्ता क्षेत्रमा स्वदेश/विदेशबाट विज्ञ आउँछन्/जान्छन् । तर, सम्पदालाई चिरकालसम्म स्थानीयले संरक्षण गर्ने भएकाले उनीहरूको भूमिकाको सराहना गर्नुपर्ने बताए । उनले पनि स्थानीय खाना भने बिर्सन सकेका छैनन् । ‘झोल मःमः, समोसा, पकौडा, चाट खुब सम्झिराछु,’ उनले भने, ‘अनि त्यहाँका मानिसको आत्मीयता पनि सम्झिरहेको छु ।’
एमएसयूमै विद्यावारिधि अन्तिम वर्षकी छात्रा ३४ वर्षीया निलीमा वासुदेवन फरासिलो स्वभावकी छन् । उनलाई धेरैले ‘दिदी’ भनेर सम्बोधन गर्थे । दक्षिण भारतको केरलकी बासिन्दा उनले स्नातक त्यहींबाट पूरा गरेकी थिइन् । मद्रास विश्वविद्यालयबाट स्नातकोत्तर गरिन् । दुई वर्ष भारतीय पुरातत्त्व समाजमा काम गरेकी उनी नर्थहिल विश्वविद्यालय मेघालयमा अतिथि लेक्चरको काम गरिन् । त्यसपछि विद्यावारिधि अध्ययन गर्न बरोडा पुगिन् । हाल उनले मेघालयको नवपाषणकालीन संस्कृतिबारे अध्ययन गरिरहेकी छन् । यस अवधिमा स्टोर जार अफ मेघालय प्रोजेक्ट पूरा गरिसकेकी छन् । गत हिउँदमा विश्वविद्यालयका सहपाठीसँगै नेपाल आएकी उनले नेपालका बासिन्दा र विद्यार्थी आत्मीय र सहयोगी रहेको बताइन् ।
चिसो भगाउन चियाको लत परेकी उनलाई तिलौराकोट नजिकै रामघाटको झुप्रोमा पाइने समोसा र पकौडाको स्वादले पछ्याइरहेको छ । सदरमुकाम तौलिहवास्थित एक होटलमा २४ दिन बिताउने क्रममा खोजीखोजी झोल मःमः खाएको याद आइरहेको उनी बताउँछिन् । ग्रेटर लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा उनले लुम्बिनीमा अल्लोका कपडा र ऊनका टोपी खरिद गरेकी थिइन् । ‘मलाई छुर्पीको याद आइरहेको छ,’ उनले भनिन्, ‘नेपालबाट मगाउने सोचेकी छु ।’ भारत र नेपालको संस्कृतिमा अन्तर नरहेको जनाउँदै उनले कपिलवस्तुका बासिन्दाको न्यायो स्वागतले छिटो नेपाल आउन आतुर बनाएको बताइन् । ‘हामी पुरातत्त्वका विद्यार्थीका लागि कपिलवस्तु र लुम्बिनीमा सम्पदाको खानी छ,’ उनले भनिन्, ‘एक पटक परिवारसहित आउँछु ।’
