सन् १९८२ मा आजकै दिन : लेबनानमा इजरायली आक्रमण

जेष्ठ २४, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८२ मा आजकै दिन (जुन ६) मा लेबनानमाथि इजरायलले आक्रमण सुरु गरेको थियो । बेलायतका लागि इजरायली राजदूत सोलोमो आर्गोभको हत्या प्रयासपछि दुई देशबीच युद्धको अवस्था उत्पन्न भएको थियो ।

आर्गोभमाथि प्यालेस्टाइन लिबरल अर्गनाइजेसन (पीएलओ) समर्थित अबु निदाल समूहका एक बन्दुकधारीले १९८२ जुन ३ मा लन्डनमा आक्रमण गरेका थिए । आक्रमणलगत्तै उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । त्यसपछि कोमामा राखिएका उनको २००३ फेब्रुअरी २३ मा मृत्यु भएको थियो । 

इजरायली प्रधानमन्त्री मेनाचेम बेगिनले आक्रमणका लागि पीएलओ जिम्मेवार रहेको बताएपछि इजरायली फौजले लेबनानमा आक्रमण सुरु गरेको थियो । त्यसक्रममा इजरायली सेनाले लेबनानको राजधानी बेरुत घेराउसमेत गरेको थियो । 

दुई देशबीच करिब तीन वर्ष चलेको युद्धमा १५ देखि २० हजार सर्वसाधारण मारिएका लेबनानले दाबी गरेको थियो । तर अमेरिकी सैन्य विश्लेषक रिचार्ड ग्याब्रियलले भने युद्धमा पाँच हजारदेखि आठ हजार सर्वसाधारणको ज्यान गएको बताएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully