कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘नम्बर वान’ शुभमन

विश्वकप २०२३ प्रतियोगिताको लिग चरणका सबै खेल यसै साता सकिँदै छन् । केही खेल बाँकी रहेका भए पनि शीर्ष स्थानमा भारत रहने तय भइसकेको छ । यसका लागि उल्लेखनीय भूमिका खेल्नेमध्येका खेलाडी हुन् शुभन गिल । उनी हालै आईसीसीको वान–डे बरीयतामा नम्बर एकमा उक्लेका छन् । भारतीय क्रिकेट पण्डितहरू के पनि भन्छन् भने भारतीय क्रिकेटका अबका सुपर स्टार कोही हुनेछन् भने ती शुभमन नै हुन् ।
हिमेश

काठमाडौँ — विश्व क्रिकेटमा भारतीय टिम र यसका खेलाडीको कति धेरै दबदबा छ, त्यसका लागि भर्खर जारी गरिएको आईसीसीको एकदिवसीय बरीयता हेरे पुग्छ । त्यसमा ब्याटरतर्फ नम्बर एकमा छन्, शुभमन गिल अनि बलरमा नम्बर एक मोहम्मद सिराज । अहिले दुवै खेलाडी भारतीय टिममा छन् ।

‘नम्बर वान’ शुभमन

यही टिमले त हो एकदिवसीय विश्वकप २०२३ मा तहल्का मच्चाइरहेको । यसै साता प्रतियोगिताको लिग चरणका सबै खेल सकिने छन् । त्यसअघि नै तय भइसकेको छ, शीर्षस्थानमा रहने टिम भनेको भारत नै हो ।

अहिलेसम्म जति खेल भएका छन्, त्यसले स्पष्ट पार्छ । सारा टिम एकातर्फ छन्, अर्कोतर्फ भारत । यसको एउटा प्रमुख कारण त शुभमनजस्ता खेलाडी नै हुन् । त्यस्ता धेरै कारण छन्, जसले शुभमन अलि धेरै नै चर्चामा हुने गर्छन् सिराजको तुलनामा । भारतीय क्रिकेट अनि यसका समर्थकका लागि शुभमन प्रिय नाम हो । क्रिकेट पण्डितहरू के पनि भन्छन् भने भारतीय क्रिकेटको अबका सुपर स्टार कोही हुनेछन् भने ती शुभमन नै हुन् ।

भर्खर २४ वर्ष पूरा गरेका यी शुभमनलाई धेरैले मन पराउनु पछाडिको सबैभन्दा ठूलो कारण त उनको खेल नै हो । ओपनरका रूपमा उनको ब्याट बोल्छ । त्यसैले धेरै उनको खेलमा ‘कायल’ भएका हुन् । अहिलेको विश्वकप सुरु हुनसम्म नम्बर एक ब्याटर अरू कोही होइनन् । पाकिस्तानका कप्तान बाबर आजम थिए । तर, उनका लागि विश्वकप व्यक्तिगत प्रदर्शनका आधारमा राम्रो हुन सकेन । अझ बाबरको बढी नै आलोचना हुने गरेको छ, निर्णायक खेल प्रदर्शन गर्न असफल रहेकामा ।

यसै पृष्ठभूमिमा शुभमनले नम्बर एक स्थान ओगटेपछि उनको नै बढी चर्चा हुनु स्वाभाविक पनि हो । फेरि भारतीय खेलाडीमध्ये यो स्थानमा पुग्ने उनी चौथो खेलाडी मात्रै हुन् । त्यसअघि सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र विराट कोहली मात्रै विश्वका नम्बर एक ब्याटर भएका छन् । यही एक तथ्यांकले पनि देखाउँछ, शुभमनको यो उपलब्धि आफैंमा कति ठूलो छ भनेर । बाबर लगातार दुई वर्ष जतिको समय नम्बर एकमा रहे, तर साँच्चै विश्वकपमा उनको प्रदर्शन त्यसलाई न्याय गर्न लायक रहेन ।

पछिल्ला तिनै दुई वर्षमा बाबरलाई कसैले बलियो टक्कर दिइरहेका थिए भने ती शुभमन नै थिए । उनी एकाएक विश्वकपको प्रदर्शनले माथि पुगेका होइनन् । नयाँ बरीयता जारी हुँदा अहिलेको विश्वकपका सुरुवाती खेल पनि समावेश गरिएको थियो । त्यसमा जहाँ बाबरले २ सय ८२ रन बनाएका छन्, त्यहीं शुभमनले २ सय १९ रन बनाए । तर त्यसमा शुभमनले दुई खेल कम खेलेका छन् । खासमा डेंगुका कारण उनले भारतका लागि सुरुवाती दुई खेल खेल्न पाएका थिएनन् ।

शुभमनले तय गरेको खेल जीवनको यात्रा पनि आफैंमा सजिलो थिएन । न त यो छोटो यात्रा नै रह्यो । उनको क्रिकेट खेलजीवन सफल होस् भनेर परिवारले पनि उत्तिकै त्याग गरेको पाइन्छ । त्यो पनि कतिसम्म भने पुर्ख्यौली जमिनमा उनका लागि क्रिकेट मैदानमै बनाइएको थियो । पछि शुभमनको क्रिकेट करिअर अगाडि बढोस् भनेर पूरा परिवार नै पन्जाबको जाजिकाबाट मोहाली सरेको थियो । भारतका लागि उमेर समूहको क्रिकेटबाट सुरु गरेका उनी सन् २०१८ को यू–१९ विश्वकप विजेता टिमका एक प्रमुख सदस्य थिए ।

उनी लामो समय त्यस टिमका उपकप्तान पनि रहे । त्यस विश्वकपमा उत्कृष्ट खेलाडी चुनिए । त्यस प्रतियोगितामा उनले १ सय २४ को औसतमा रन बनाएका थिए । पाकिस्तानविरुद्ध सेमिफाइनलमा शतक पनि बनाए । त्यसपछि त उनले सिनियर भारतीय टिममा प्रवेश पाइहाले । त्यसै पनि भारतीय टिमलाई एक पक्का बलियो ओपनर आवश्यक थियो नै । उनी आएयता भारतीय टिम ओपनरको मामिलामा ढुक्क हुन सकेको छ ।

पन्जाबमा जन्मेहुर्केका शुभमनले एकपल्ट भारतका लागि खेल्ने मौका पाए, त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । उनी टेस्ट होस् वा एकदिवसीय अझ ट्वान्टी–२० को भारतीय टिमका नियमित सदस्य हुन् । सन् २०१९ मा पहिलो पटक भारतका लागि एकदिवसीय खेले । लगत्तै अर्को वर्ष टेस्ट टिममा पनि परे । उनले भारतका लागि पहिलो पटक ट्वान्टी–२० क्रिकेट खेलेको सन् २०२३ मै मात्र हो । आईपीएलमा भने उनी गुजरात टाइटन्सका लागि खेल्छन् । सुरुमा कोलकाता नाइट राइडर्समा आबद्ध थिए ।

भारतका पुराना खेलाडी सुनील गावस्कर पनि शुभमनका खास प्रशंसक हुन् । उनलाई एक पूर्ण क्रिकेटर मान्छन् । उनी भन्छन्, ‘शुभमनमा सबैखाले सट खेल्न सक्ने गुण र क्षमता छ ।’ त्यसैले त उनी भारतका लागि एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने सबैभन्दा कान्छा खेलाडी हुन् । भारतीय टिमका लागि ट्वान्टी–२० क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान पनि उनकै नाममा छ । त्यो भनेको न्युजिल्यान्डविरुद्ध १ सय २६ रन ।

भारतीय मिडिया बजारका लागि उनी खासमा मसला हुन् । त्यसैले उनी बारम्बार समाचारमा छाइरहन्छन् । त्यो पनि मैदानबाहिरको घटनाक्रमका लागि । यसको एउटै कारण हो, दुई फरक सारा । केही समय अगाडिसम्म पनि शुभमन बलिउड अभिनेत्री सारा अली खान प्रेमिका मानिँदै आएकी थिइन् । तर के पनि भनियो भने उनीहरू एक आपसमा छुट्टिए । कारण कसैलाई थाहा छैन, किनभने न साराले यसबारे बोलेकी छन्, न त शुभमन आफैंले ।

साराले ‘कफी विथ करण’ को नयाँ शृंखलामा भने आफूले शुभमन गिलसँग प्रेमसम्बन्धमा नरहेको बताएकी थिइन् । बरू उल्टै शुभमन कोही अर्कैसँग सम्बन्धमा रहेको खुलासा गरिन् । उनको आशय थियो, शुभमन प्रेममा त छन्, तर त्यो आफू होइन । अर्कै ‘सारा’ हुन सक्छ । यी सारा हुन्, सारा तेन्दुलकर । अब भनिरहनु पर्दैन । यी तिनी हुन्, जो सचिन तेन्दुलकरकी छोरी हुन् । अभिनेत्रीले ख्यालठट्टाको भाषामा भनेकी थिइन्, ‘सबैले शुभमन गिलका प्रेमिका सारा भनिरहेका छन्, तर त्यो म सारा होइन नि ।’

प्रकाशित : कार्तिक २४, २०८० १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×