काठमाडौँ — सन् १९८९ मा आजकै दिन (नोभेम्बर ९) मा बर्लिन पर्खाल ढलेको थियो । नोभेम्बरमा ९ मा सुरु गरिएको भए पनि एक सय ५५ किलोमिटर लामो पर्खाल भत्काइसक्न भने लामो समय लागेको थियो ।
१९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसँगै सोभियत संघको सेनाले अधीनमा लिएको जर्मनीको पूर्वी भाग करिब चार वर्षसम्म सोभियत संघको ‘स्याटलाइट’ राज्यका रूपमा रहेको थियो । जसका कारण १९४९ मा जर्मनी पूर्वी र पश्चिम गरी दुई राज्यमा विभाजन भयो । डेमोक्रेटिक रिपब्लिक भनेर साम्यवादी व्यवस्था सुरु भएको पूर्वी जर्मनीले राज्य नियन्त्रित अर्थतन्त्र अपनायो । बेलायत, अमेरिका र फ्रान्सको नियन्त्रणमा रहने गरेर विभाजन भएको पश्चिम जर्मनीले खुला बजार अर्थतन्त्र अपनायो ।
पूर्वी जर्मनीले आफ्नो देशको बौद्धिक जमात र कामकाजी युवालाई पश्चिम जर्मनीतर्फ जानबाट रोक्ने उद्देश्यले बर्लिन पर्खाल ठड्याएको थियो ।
