मनीष : बिग म्याच प्लेयर

काठमाडौँ — पुराना प्रशिक्षक अब्दुल्ला अल्मुताइरी मनीष डाँगीलाई आफ्नै खेलाडी मान्थे र भन्थे, ‘यो हो नि खेलाडी भनेको ।’ मनीषलाई नेपालको मूल धारको फुटबलमा ल्याउने श्रेय तिनै कुवेती प्रशिक्षकलाई जान्छ । अल्मुताइरीका साँच्चैका प्रिय खेलाडी हुन्, उनी ।

अहिलेका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस पनि मान्छन्, ‘यो खेलाडीमा केही छ ।’
राम्रा खेलाडी हुनु पर्छ, सबैको प्रिय हुने रहेछ । के अल्मुताइरी । के एनिस । मनीषले किशोर उमेर छोडेको पनि भर्खर भर्खर जस्तै हो । यस्तोमा उनीसामु धेरै समय छ, नेपाली फुटबलको सेवा गर्ने । त्यसैले उनी नेपाली फुटबलका ‘लामो रेसका घोडा’ हुन् । अहिले यिनै मनीषको चर्चा किन त ? कारण खास छ ।
भर्खरै विश्वकप एसियाली छनोटको प्रारम्भिक चरण सकिएको छ । दुई लेगमा भएको खेलमा नेपाल समग्रमा २–१ ले विजयी रह्यो । लाओसको भियन्टाइनमा भएको दोस्रो लेगमा नेपाल १–० ले विजयी रह्यो । त्यस अगाडि काठमाडौंमा भएको पहिलो लेग भने १–१ को बराबरीमा छुटेको थियो ।
दोस्रो चरण पुग्न नेपाललाई लाओसमा जित्नै पर्ने जस्तै स्थिति थियो । त्यसै खेलमा मनीषले निर्णायक गोल गरे । त्यो पनि आफैमा उत्कृष्ट थियो, फुटसल शैलीको फिनिसिङमा । अञ्जन विष्टले नजिकबाट दूरीबाट नापेर दिएको पासमा मनीषले बायाँ खुट्टाको मदतले मीठो ‘फ्लिक’ गरे । नतिजा बलले मज्जाले पोस्टको दिशा लियो, लाओसका खेलाडी हेरेको हेर्यै भए । यो खेल कति धेरै महत्त्वपूर्ण रह्यो भने यसले नेपाली फुटबलका लाज बचाएको थियो, नत्र यही नेपाली फुटबलको हुनसम्म आलोचना भएको थियो ।
यस्तोमा भन्न सुरु भएको छ, मनीष हुन्, ‘बिग म्याच प्लेयर’ । कस्तो र के हो त यो ? फुटबलको साहित्यमा त्यस्तै खेलाडीलाई ‘बिग म्याच प्लेयर’ भनिछ, जसले निर्णायक स्थितिमा सफलता दिलाउँछ, जसको प्रदर्शन टिमका लागि असाध्यै धेरै महत्त्वपूर्ण हुन्छ । अहिले नै भनौं न, लाओसविरुद्धको त्यस एक गोलले नेपाली फुटबलका अबको एक वर्षको नक्सा नै परिवर्तन गरेको छ । अबको आठ महिना नेपालले यूएई, बहराइन र यमन जस्ता टिमविरुद्ध खेल्नेछ ।
फेरि मनीषले यस्तो निर्णायक मोडमा गोल गरेको पनि यो एक मात्र अवसर होइन् । उदाहरण दिन सकिने एक भन्दा बढी यस्ता गोल गरिसकेका छन्, यी खेलाडीले । खासमा मनीषले नेपालका लागि डेब्यु गरेको पनि धेरै भएको छैन्, दुई वर्ष भन्दा केही बढी मात्र हो । तिनै अल्मुताइरीले सन् २०२१ को मे १६ मा इराकविरुद्ध उनलाई डेब्युको अवसर दिएका थिए । त्यसयता लाओसविरुद्धको खेलसम्म उनले नेपालका लागि २६ ‘क्याप’ जिते ।
तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर
इराकविरुद्ध त्यो खेलमा नेपाल ६–२ ले पराजित त रह्यो, तर मन जित्ने काम नेपालले नै गरको थियो । संयोगले यो अल्मुताइरीको पनि पहिलो खेल थियो । नेपालका लागि पहिलो पल्ट खेल्दै मनीषले शक्तिशाली इराकविरुद्ध गोल गरेका थिए । त्यसपछि आउँछ, सन् २०२१ को माल्दिभ्समा भएको साफ च्याम्पियनसिप । राउन्ड रोबिनको आधारमा भएको त्यस प्रतियोगिताको पहिलो खेल थियो, नेपालविरुद्ध आयोजक माल्दिभ्स ।
मालेमा भएको त्यस खेलमा माल्दिभ्सले नेपाललाई सायद किन पनि पहिलो प्रतिद्वन्द्वी बनाएको थियो भने आश थियो, यसलाई हराउन सकिन्छ । तर मनीषले त्यस खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरे, नेपाल माल्दिभ्समाथि १–० ले विजयी रह्यो । नेपालले माल्दिभ्सलाई माल्दिभ्समै हराएको यो पहिलो पल्ट थियो, अनि साफ च्याम्पियनसिपको इतिहासमै पनि । मनीषको गोल आफैमा उत्कृष्ट थियो, नेपालको प्रत्याक्रमणमा उनले माल्दिभ्सका मध्यभागबाट अगाडि बढाएको बललाई दुई भन्दा बढी डिफेन्डरसँगै गोलरक्षकलाई मीठोसँग ‘बिट’ गर्दै गोल गरे । भनिन्छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपालबाट सम्भव उत्कृष्ट गोलको सूचीमा यो अगाडि नै पर्छ । त्यही गोलमा टिकेर त हो, नेपालले त्यस साफ च्याम्पियनसिपको फाइनल यात्र तय गरेको । इतिहासमा नेपालले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनल यात्रा तय गरेको यो नै पहिलो पटक थियो । भनेपछि मनीषको गोल महत्त्वका थियो, सजिलै छर्लङ हुन्छ । यसरी नेपालका लागि औपचारिक रूपमा उनले तीन गोल गरेका छन्, तीनै गोल असाध्यै महत्त्वका छन् ।
त्यसपछि एक अर्को गोल पनि छ, जसले नेपाललाई थ्री नेसेन्सकपको उपाधि नै दिलाएको थियो । सन् २०२३ मा नेपालसँगै लाओस र भुटान सम्मिलित थ्री नेसन्सकप भएको थियो, काठमाडौंमा । यो भिन्सेन्जो प्रशिक्षक भएयताको पहिलो प्रतियोगिता पनि थियो । फाइनलमा नेपालसँगै भिडेका थिए, लाओस । यो रह्यो, ‘फिफा विन्डो’ बाहिरको खेल । त्यसमा सुरुमै लाओसले अप्रत्यासित अग्रता लिएको थियो, पूरा दशरथ रंगशाला चुपचाप भएको थियो ।
लगतै आयुष घलानले एक गोल फर्काए र खेल बराबरीको स्थितिमा रह्यो । खेल सकिन दुई मिनेट बाँकी छँदासम्म त्यही स्थिति रह्यो, लागि रहेको थियो खेल अतिरिक्त समयमा जानेछ । अझ हुन सक्छ, खेल टाइब्रेकरमै जान बेर छैन् । साँच्चै यस्तो भएको भए, जे पनि हुन सक्थ्यो । ठीक यही बेला मनीषले उत्तिकै महत्त्वको गोल गरे, खेलमा नेपाल २–१ ले विजयी रह्यो । सबै खाले समस्या टरेको थियो, नेपाल च्याम्पिनय बनेको थियो ।
अनि मनीषले फेरि एकपल्ट निकै निर्णायक सावित गोल गरे र यो रह्यो, ठूलो खेलमा ठूलै गोल । मनीषको व्यक्तिगत कुरा गर्ने हो भने पनि किन हो, उनलाई धेरै बोलेको देखिन्न । बोल्दा पनि विस्तारै नरम बोल्छन्, सक्दो सानो स्वरमा । सार हो, यो खेलाडी भलाद्मी छ । भलाद्मीको अर्थ फुटबलमा के पनि हो भने यो खेलाडी अनुशासित छ । प्रशिक्षकलाई फेरि मन पर्ने यस्तै खेलाडी न हो । यिनकै कम बोल्ने मनीषले लाओसलाई हराएयता मीठो प्रतिक्रिया दिए ।
उनले भनेका थिए, ‘हामी खुसी छौं, किनभने नेपाली फुटबल समर्थकलाई दसैंमा खुसी दिन सक्यौं ।’ अबको आठ महिना नेपाली राष्ट्रिय फुटबल टिम साँच्चै ब्यस्त रहनेछ । छनोटको दोस्रो चरणमा नेपालले त्यस्तो प्रतिद्वन्द्वी पाएका छन्, जसकाविरुद्ध सम्भावना तयार पार्न सकिन्छ, सम्भावना देख्न सकिन्छ । फेरि यसको आधार भनेको मनीष जस्तै खेलाडी न त हुन् । उनी पनि भन्छन्, ‘दसैंपछि हामीलाई धेरै मिहिनेत गर्नु छ, धेरै काम पो छ ।’
प्रकाशित : कार्तिक २, २०८० ११:१३