अलग धारका पुष्पण
Highlights
- भारतीय राज्य पश्चिम बंगाल डुवर्सको चिलाउनेबारी चिया बगाननजिकै जन्मेहुर्केका हुन् पुष्पण । अलग धारका गीतमार्फत दर्शक, श्रोताको मन जितेका यी गायकले भर्खरै चिया श्रमिकमाथिकै कथालाई आधार बनाएर फरक शैलीको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
(डुवर्स, भारत) — भारतीय राज्य पश्चिम बंगाल डुवर्सको चिलाउनेबारी चिया बगाननजिकै जन्मेहुर्केका हुन्, पुष्पण प्रधान । खासमा उनको सांगीतिक यात्रा चिया बगानबाटै सुरु भएको हो भन्दा हुन्छ । उनले सानै उमेरदेखि चिया श्रमिकका दुःख नजिकबाट नियाल्ने मौका पाए । चिया श्रमिकमाथि राज्यले गर्ने दुर्व्यवहार, ज्यालामाथिको विभेद अनि समयमा बेतन नपाउने समस्याबारे उनी भुक्तभोगी जस्तै नै हुन् ।
अलग धारका गीतमार्फत दर्शक, श्रोताको मन जितेका यी गायकले भर्खरै चिया श्रमिकमाथिकै कथालाई आधार बनाएर फरक शैलीको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कमाने आमा’ शीर्षकको भिडियोमा उनले चियापत्तीसँग लुकामारी गर्ने श्रमिक जीवनलाई रोचक ढंगले प्रस्तुत गरेका छन् । एउटी चिया श्रमिक आमाको दैनिकीलाई उनले देखाउने प्रयत्न गरेका छन् ।
‘चिया कमानका श्रमिकका प्रतिनिधि कथालाई गीतमार्फत व्यक्त गर्न खोजेको छु,’ पुष्पणले भन्छन्, ‘श्रमिकका कथाहरूले मलाई चाँडै छुन्छ ।’ पुष्पण आफैंले गीत लेखे अनि शरद सिन्हाले गीतलाई कम्पोज गरेपछि जन्मियो, कमाने आमा । यसलाई नाट्य रूपान्तरण गरे परिवर्तन थिएटर झापाका रंगकर्मीले ।
पुष्पणको अलग धारको गायकीको चर्चा डुवर्सको त्यो सानो गाउँमा मात्रै सीमित छैन, नेपालको पुरानो सिमाना टिस्टा तरेर काठमाडौंसम्मै पुगेको छ । उनलाई फ्यानहरूले मन पराउनुको प्रमुख कारण सामाजिक मुद्दालाई गीतमार्फत भन्न सक्ने शिल्प पनि हो । उनी बढी श्रमिकका गीत गाउँछन् । ‘पंक्षी’ मार्फत विदेशिएका युवाको भोगाइ कहन्छन् ।
भारतका धेरै नेपालीभाषी गायकहरू काठमाडौंमा चर्चित छन् । अम्बर गुरुङ, गोपाल योञ्जन जस्तो धेरै दिग्गज भारतीय नेपाली सर्जकले आफ्नो सम्पूर्ण जीवन काठमाडौंमै बिताए । ‘भजन शिरोमणि’ भक्तराज आचार्य पनि डुवर्सबाटै काठमाडौं उक्लिएका थिए, गायक बन्ने सपना देखेर । डुवर्सकै नेपालीभाषी पुष्पण यतिबेला भारतमा भन्दा बढी नेपालपट्टि मन पराइएका गायकको सूचीमा सम्भवतः अग्रपंक्तिमा आउँछन्, कालिम्पोङका विपुल क्षेत्री पछि ।
पुष्पण गीत त सानैदेखि गुन्गुनाउँथे । तर, गायक नै बन्ने सपना चाहिँ यिनले देखेका थिएनन् । गीत गाएरै ‘नेम एन्ड फेम’ बन्ला भन्ने त कहिल्यै सोचेका थिएनन् । ‘तर, कहिलेकाहीँ नसोचेको हुँदोरहेछ,’ पुष्पणले गीतको लयझैं मिठो भाकामा सुनाए, ‘नदेखेको सपना पनि विपना बनेर आइपुग्दोरहेछ ।’ खासमा पुष्पणको सपना चाहिँ पढेर डाक्टर बन्ने नै थियो । त्यही भएर उनी दिनरात पढाइमा घोटिन्थे । साथीभाइमाझ यिनको अलग पहिचान थियो, पढन्दासका रूपमा । विज्ञानका विद्यार्थी न परे । पढाइबाहेक यिनले धेरै कुरा सोच्नै भ्याएनन् त्या बेला । ‘पढाइ, पढाइ मात्रै पढाइ थियो मेरो दिमागमा,’ मन्द मुस्काउँदै पुष्पणले विद्यार्थी काल सम्झिए, ‘गीतसंगीत त सुन्ने, गुन्गुनाउने मात्रै काम हुन्थ्यो ।’
सन् १९९९ मा कालिम्पोङको कुमुदुनी होम्समा जब उनी प्लस टु पढ्दै थिए । त्यसपछि पुष्पणको जीवनमा नयाँ मोड आइलाग्यो । स्कुलले आयोजना गरेको सांगीतिक कार्यक्रमका लागि अडिसन हुने भयो । दुई/तीन हजार विद्यार्थी अडिसन दिन तम्तयार भए । त्यही पंक्तिमा पछिल्तिर उभिए पढन्दास पुष्पण पनि । खासमा उनलाई गाउने भित्री इच्छा त थिएन । तर, साथीसंगीको दबाबमा उनी परे । याकुप नामका सहपाठीले ‘पुष्पणले मिठो गाउँछ’ भनेर शिक्षकलाई भनेकै भरमा उनी अडिसनका लागि उभिए । अडिसन जानुअघि उनले कक्षाका शिक्षकलाई ‘हामे और जिनेका...’ भन्ने किशोर कुमारको गीत सुनाएपछि शिक्षक चकित खाए । उनले भने, ‘यति मिठो आवाज बोकेर किन लुकिबसेको ?’
सांगीतिक कार्यक्रममा पनि उनले त्यही गीत गाएर तहल्का मच्चाए । एउटा गीतका कारण उनी स्कुलमा ‘सेलेब्रिटी’ नै बने । छोटो समयको चर्चापछि उनले सोचे, ‘यत्रो वर्ष पढेर पहिलो र दोस्रो मात्रै भएँ । सीमित साथीले मात्रै चिने । तर, एउटा गीत गाउँदा स्कुलभर चिनिएँ ।’ खासमा किशोरकुमारको त्यही गीतले उनको गायकीको ढोका खुल्यो । २२ वर्षअघि उनले गीति एल्बम निकाले । भारु १ लाख हाराहारीमा खर्च भयो । तर, दार्जिलिङ, डुवर्समा सुस्ताउँदो संगीत बजारले लगानी डुब्यो । गीति एल्बमको क्यासेट र सीडी निःशुल्क बाँड्दै हिँडे उनी । लगानी उठाउन पनि गाह्रो भो । ‘लगानी नमज्जाले डुब्यो,’ पुष्पणले थपे, ‘सुरुआती असफलताले ज्यादै निराश बनायो ।’
उनले संगीत क्षेत्रबाट अलग्गिने सोच बनाए । तर, सकेनन् । संगीतको लत छुटाउन गाह्रो भो । अन्ततः गल्तीलाई जीवनको शिक्षा ठान्दै संगीत क्षेत्रमै सक्रिय हुने अठोट गरे । सन् २००४ मा जलपाइगुडी, मिरिक र डुवर्सका ‘मनमिल्ने’ साथीहरू मिलेर ब्यान्ड तयार गरे, ‘सिक्स स्ट्रिङ’ । ब्यान्डले त्यो बेला छोटो समयमै पहिचान बनाउन सफल भयो, त्यो भेगमा ।
साथीभाइको उत्साहले सन् २००५ तिर दोस्रो एल्बमको सोच बनाए । दार्जिलिङ डुवर्समा वेस्टन टाइपको म्युजिकको क्रेज बढी थियो त्यो समय । त्यही शैलीका गीत संग्रह गरेर एल्बम तयार पारे । त्यो पनि सोचे जस्तो चलेन । ‘त्यो मेरो दोस्रो गल्ती थियो,’ पुष्पणले हाँस्दै सुनाए, ‘फेरि लगानी डुब्यो ।’
एकातिर लगानी डुब्नु, अर्कातिर मनमिल्ने साथीहरूबीच मन मिल्न छाड्दा ‘सिक्स स्ट्र्रिङ’ ब्यान्ड धरापमा पर्यो । ब्यान्ड छाडेर एक्लिए पनि संगीतबाट भने टाढिएनन् । फुर्सदको समयमा उनले हजारौं गीत सुने । भारतका आञ्चालिक गीतदेखि र्याप– ज्याजसम्म । सुफी संगीतले उनलाई मोहनी लगायो । आजपर्यन्त उनी सुफीकै शैली पछ्याइरहेका छन् गायनमा । पहिलो ब्यान्डबाट अलग्गिएर के भो त ? उनले मनमिल्ने अरू साथी खोजे । रोनिक प्रधान र सुमित विश्वकर्माको साथमा ‘बन्दिज’ नामको नयाँ ब्यान्डको न्वारान गरे । त्यही ब्यान्डमार्फत उनले आदिकवि भानुभक्त आचार्यको कवितालाई लयबद्ध गरेर गाए, ‘भर जन्म घाँसतिर...।’
करिब डेढ दशकअघि गाएको यो गीतले पुष्पणको गायकीको स्तर बढायो । श्रोताले अलग स्वाद चाख्न पाए । उनी बन्दिज ब्यान्डमा पनि धेरै टिक्न सकेनन् । अर्का साथी देवेन्द्र गौतमको सहयोगमा तेस्रो ब्यान्ड ‘वाणी’ जन्मियो । ब्यान्डमार्फत ‘आह्वान’ एल्बम गरे । त्यो एल्बमको ‘पन्छी फर्केर स्वदेश आउ...गीतले श्रोताको मन जित्दै थियो । क्रिया अनप्लगको प्रस्तुतिपछि उनको उचाइ ह्वात्तै बढ्यो । नेपाल आइडलका एक प्रतिस्पर्धी अमित बरालले आइडलको गला राउन्डमा पन्छी गाएपछि गीतले तहल्का पिट्यो । पुष्पण रातारात स्टार बने । त्यसपछि उनले पछि फर्किनुपरेको छैन ।
जिन्दगी रक्स, समर लभलगायत सिनेमामा पनि गाउने मौका पाएका पुष्पणका ‘एउटा सपना छ’, ‘तिमीलाई हेर्ने बानी पर्यो’ जस्ता प्रेमिल भावका गीतले तन्नेरी पुस्ताको मन जित्यो । डुवर्समा बस्ने उनी नयाँ गीत सिर्जना गर्नेबित्तिकै टिस्टा तरेर नेपाल पसिहाल्छन् । शिक्षण पेसामा पनि आबद्ध रहेका कारण जागिरै छाडेर काठमाडौं भासिने योजना उनको छैन । ‘पुष्पण अनि सारथि’ नामको चौथो ब्यान्डका यी हर्ताकर्ता थप्छन्, ‘गाउनका लागि गाउँ छाडेरै भासिनुपर्ने पुरानो जमाना अब रहेन ।’
प्रकाशित : कार्तिक १, २०८० ११:३२