मणिकोे ‘मुक्त चेतना’

चितवन — चितवनका कवि मणि काफ्लेको कविता तथा गीत संग्रह ‘मुक्त चेतना’ सार्वजनिक भएको छ । त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित संग्रहमा पद्य, गद्य र गीति कविता गरी जम्मा ६८ सिर्जना छन् ।

संग्रहमा आफूले पछिल्ला तीन दशकमा लेखेका चुनिन्दा सिर्जना समावेश गरेको काफ्लेले बताए । ‘पुस्तकमा समावेश गीत र कविता मेरा अनुभव र अनुभूतिका उपज हुन् । जीवन भोगाइलाई मैले लयात्मक रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छु,’ उनले भने । आफ्ना रचनामा मानव जातिले सुख प्राप्तिका लागि आफूभित्रको अहंकार रूपी शत्रुलाई परास्त गर्नुपर्ने सन्देश दिने गरेको उनको भनाइ छ ।
‘मुक्त चेतना’ काफ्लेको दोस्रो कृति हो । यसअघि उनको समाचोलनात्मक पुस्तक ‘अन्वेषण र विश्लेषण’ प्रकाशित छ । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा तीन दशक नेपाली भाषा र साहित्य प्राध्यापन गरेका काफ्ले गुरुङ भाषाका अध्येता हुन् । उनको ‘गुरुङ–नेपाली’ शब्दकोश प्रकाशोन्मुख छ ।
प्रकाशित : आश्विन ३०, २०८० १०:५७