९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दिल्लीका ट्याटु मास्टर

भारतीय राजधानी दिल्लीस्थित ‘फंकी मंकी’ स्टुडियोका ट्याटु कलाकार हुन् राजु पाण्डे । बुटवल, मलेसिया, मुम्बई हुादै दिल्ली पुगेका उनी पछिल्लो १३ वर्षयता भने त्यहीं जमेका छन् ।
राजेश मिश्र

नयाँदिल्ली — दिल्लीस्थित गुडगाँव सहरको फंकी मंकी भारतमा सबैभन्दा पहिलो व्यावसायिक ट्याटु स्टुडियो मानिन्छ । त्यही स्टुडियोका वरिष्ठ ट्याटु कलाकार हुन् राजु पाण्डे । पछिल्लो समय त राजुलाई ट्याटु खोप्न भ्याइनभ्याई छ । एक त पुरानो स्टुडियो त्यसमाथि पाण्डेको निखारिएको कला । स्टुडियामा उनैलाई खोज्ने ग्राहकको चाप निकै देखिन्छ ।

दिल्लीका ट्याटु मास्टर

बुटवल, मलेसिया, मुम्बई हुँदै १३ वर्षदेखि भने उनी दिल्लीमा छन् । ट्याटुको क्षेत्रमा उनको नाम अब्बल सूचीमा रहेको, उनीबारे छापिएका र प्रसारण भएका दर्जनौं मिडिया रिपोर्टले पनि पुष्टि हुन्छ । स्टुडियोमै उनले आफ्नाबारे छापिएका आधा दर्जन अंग्रेजी म्यागेजिन राखेका छन् । उनी सन् २०१३, २०१४ र २०१५ मा लगातार अन्तर्राष्ट्रिय ट्याटु अवार्डबाट सम्मानित भएका छन् । त्यसयता भने उनले अवार्ड प्रतिस्पर्धामा भाग लिएका छैनन् । बरु, बेला मैकामा त्यस्तो कार्यक्रममा जुरी बसेका छन् ।

स्कुलदेखि नै चित्रकारितामा लागेका उनी पछि ट्याटु क्षेत्रमा लागेका हुन् । कुनै बेला चित्र बनाएको पनि पैसा पाइन्छ भन्ने सुन्दा पनि अचम्म लाग्थ्यो उनलाई । ‘सोखका लागि चित्रकारिता गर्थें, कसैले पैसा दिन खोज्दा पनि लिन लाज लाग्थ्यो,’ राजुले भने, ‘तर, अब समय धेरै बदलिएको छ । ट्याटुको काम पूर्ण रूपमा व्यावसायिक मात्रै भएको छैन । यसबाट राम्रो कमाइ पनि हुन थालेको छ ।’ एकैसाथ दुईवटै हात चलाएर ट्याटु कोर्न सक्ने क्षमता पनि छ राजुमा । निकै अनुभवी भएकाले पनि दिल्लीका सम्भ्रान्त परिवारका सदस्य नै बढी उनका ग्राहक हुन् । दिल्ली र गुडगाँवका त हुने नै भए, उनी मुम्बईमा केही समय बसेकाले त्यहाँका ग्राहक पनि उनलाई खोज्दै आउँछन् । कोलकाता, नेपाल र पञ्जाबका ग्राहक पनि आफूकामा आउने गरेको उनले बताए ।

अहिले ट्याटु क्षेत्र आफ्नो चरम स्थानमा रहेको उनी बताउँछन् । ट्याटुको मामिलामा भारतभन्दा अगाडि नेपाल थियो । तर, पछिल्ला वर्षहरूमा भारत धेरै अगाडि आइसकेको छ । ग्राहकहरूको संख्या पनि दिनदिनै थपिँदै गएको उनले उल्लेख गरे । ‘अहिले मानिसहरूले ट्याटुलाई आफ्नो धर्म, संस्कार र भावनासँग जोडेका छन्,’ उनले भने, ‘हिजो फैसन मात्रै थियो, आज मानिसहरूले आफूले मान्ने देवीदेवता, आमाबुबा वा गुरुकै तस्बिर नै आफ्नो शरीरमा खोपाइरहेका छन् ।’

ट्याटुप्रति बढ्दै गरेको क्रेजले यो व्यवसायलाई उचाइमा पुर्‍याएको पाण्डेले बताए । मानिसहरूको संस्कार र कलाकारिता मिसिएका ट्याटु अहिले प्रशस्तै देख्न पाइनुले पनि यो जीवनपद्धति बन्दै गएको उनी भन्छन् । उनको अनुभवमा पहिला ट्याटु खोपेका व्यक्तिलाई छाडा भन्ने समाज परिवर्तित भइसकेको बरु ट्याटु नगराएका लाई रुढिवादी भन्न थालेको देखिएको छ ।

ग्राहक आफैंले ट्याटुको डिजाइनसमेत रोजेर आउन थालेकाले ट्याटु कलाकारलाई सहज बनाए पनि कलाकारको सृजनशीलता मर्ने हो कि भन्ने चिन्ता उनी व्यक्त गर्छन् । ‘चिटिक्क कन्सेप्टका लागि कलाकारले समय दिनुपर्ने हो,’ उनले भने, ‘स्वतन्त्र भएर भित्रै मनबाट कलाकारले सृजना गर्ने र ग्राहकले कन्सेप्ट नै बोकेर ल्याउने डिजाइनबीचको तालमेल कलाकारका लागि चुनौती हो ।’

बुटवलमा माध्यमिक शिक्षा ग्रहण गर्दै गर्दा पाण्डेको दिमागमा पढाइभन्दा चित्रकारिताको नसा थियो । स्कुलकालमै नगर क्षेत्रमा ‘वाल पेन्टिङ’ गर्न हिँड्थे उनी । उनको माइलो दाइ सागर पाण्डेको रजनीश आर्ट ग्यालरी थियो । त्यहाँ उनले साइनबोर्ड लेख्नमा रुचि देखाउन थालेका थिए । चित्रकलासम्बन्धी कैयौं प्रतिस्पर्धा जितेका थिए । कक्षा ९ मा पढ्दा नै कसैको हातमा ‘ओम’ लेखिएको ट्याटु हरेका राजु त्यसपछि मानिसको शरीरमै कसरी लेख्यो होला भनेर खोजीनितीतिर पसेका थिए । मेसिनले लेखिने थाहा पाएपछि, रेडियोको मोटर, कपडा सिउने सियो लगायतका जुगाडहरूबाट मेसिन नै बनाएका थिए । कोइलाबाट रङ बनाएर आफ्नै हातमा पहिलो ट्याटु खोपेका थिए उनले ।

‘पढाइ र खेलकुदमा पनि म राम्रै थिए, तर पछि मेरो दिमागमा आर्ट मात्रै हुन्थ्यो, अन्त ध्यान जानै छाड्यो,’ उनले सुनाए, ‘मैले मेरै हातमा आफैंले खोपेको ट्याटु देखाउँदै हिँडेपछि धेरै साथीहरूले मबाट ट्याटु गराउन थाले । घरमा ढोका थुनेर साथीभाइलाई ट्याटु बनाइदिन्थे ।’ आमालाई मैले पढाइमा ध्यान नदिएको प्रति चिन्ता बढ्दै गएको थियो । ‘कसैकसैले पैसा दिन खोज्दा लिनै लाज हुन्थ्यो र लिन्नथे । त्यो मेरो सोख हो भन्ने मात्रै थाहा थियो,’ उनले भने, ‘एकजना ब्रिटिस आर्मीले आफ्नो हातमा खोपेको ट्याटुका लागि ८० हजार तिरेको सुनाएपछि यसको पैसा पनि लिन सकिने रहेछ भन्ने थाहा भयो । तर चिनजानका मानिससँग पैसा माग्न भने अप्ठ्यारो लाग्थ्यो ।’

एसएलसी पास नगर्दै बुटवलमा राजु युवाहरूमाझ ट्याटु बनाउन प्रसिद्धि कमाइसकेका थिए । एसएलसी लगत्तै मलेसिया पुगेका पाण्डे त्यहाँ क्वालालाम्पुरको ट्याटु स्टुडियामा काम थालेका थिए । मलेसियामा रहँदै आएको दाइको सहयोगमा त्यहाँ पुगेका उनी साताको ४ दिन पढाइ र ३ दिन ट्याटु स्टुडियोमा काम सिक्ने बहानामा नोकरी प्रारम्भ गरे । ‘प्रारम्भको १५–२० दिन त स्टुडियोमा काम नै पाइएन, न ग्राहक, न स्टुडियो मालिक कसैले कसैको विश्वास नै थिएन,’ उनले भने, ‘तर, दुईतीन साताको पर्खाइपछि एक दिन अस्ट्रेलियन ग्राहकलाई पहिलो पटक ट्याटु खोप्ने अवसर पाएँ । डराइडराइ गरेको त्यो काम नै सबैले मन पराइदिए । र, भोलिबाटै मैले ग्राहक पाउन थालें ।’

त्यहाँ महिनाको नेपाली ५/६ लाखसम्म कमाइ हुन थालेको राजुले बताए । ‘तर पैसाको भ्यालु गरिएन, जति कमायो त्यति नै खर्चियो,’ उनले भने, ‘महँगा जुत्ता, लुगा, मोबाइल र सोखहरूमै पैसा खर्च हुन्थ्यो ।’ पछि मलेसियामा स्थानीयसँगको ५०/५० प्रतिशतकै साझेदारीमा आफ्नै स्टुडियो खोलेको तर तीन वर्ष चलाएपछि बन्द गरेर नेपाल आएको उनले सुनाए । नेपालमा अवसर कम देखेपछि उनी मुम्बई हानिए । त्यसपछि दिल्ली पुगेका उनी हाल त्यहीं जमेका छन् । उनीबाट ट्याटु सिकेका कलाकारले विभिन्न स्टुडियो सञ्चालन गरेका छन् । तर उनको मन ‘मंकी फंकी’ मै अडिएको छ । ‘यहाँ स्वतन्त्रता र सम्मानसँगै पैसा पनि कमाएको छु,’ उनले भने, ‘खुसी लाग्छ, मैले बनाएका क्यानभास (चित्र) घरको भित्तामा झुन्डिएको छैन, चलायमान छ, जहाँ पनि पुगिरहेको छ । ट्याटु कलाकारले पाउने ठूलो पुरस्कार नै यही रहेछ ।’

प्रकाशित : आश्विन ३०, २०८० ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?