सन् १९७९ मा आजकै दिन : टेरेसालाई नोबेल पुरस्कार

काठमाडौँ — सन् १९७९ मा आजकै दिन (अक्टोबर १७) मा मदर टेरेसालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । मानव सेवामा समर्पित भएका कारण उनलाई पुरस्कार प्रदान गरिएको थियो ।

सन् १९१० अगस्ट २० मा मेसेडोनियामा जन्मिएकी टेरेसा १९ वर्षको उमेरमा समाज सेवामा होमिएकी थिइन् । दार्जिलिङको एक स्कुलमा समेत पढाएकी टेरेसाले १९४६ मा कोलकाता फर्केर दुःखी, गरिबको सेवा गर्न थालेकी थिइन् । टेरेसाले महिला सेविकाहरूको ठूलो जमात बनाएकी थिइन् । उनले १९५० मा स्थापना गरेको संस्था ‘मिसनरिज अफ च्यारिटी’ ले विभिन्न सेवागृह चलाएको थियो ।
यद्यपि, उनको संस्थाले सञ्चालन गरेका अस्पतालमा सफाइस्तर नभएको कतिपयको दाबी थियो । त्यसका साथै तानाशाहहरूले दिएको दान स्वीकार गरेको भन्दै उनको आलोचनासमेत हुने गरेको थियो । उनको १९९७ सेप्टेम्बर ५ निधन भएको हो ।
प्रकाशित : आश्विन ३०, २०८० ०८:२२