लोकको फुटबल साधना

रूपन्देहीको तिलोत्तमा–६ का लोक पुन दुर्व्यसन त्यागेपछि फुटबल साधनमा तल्लीन छन् । त्यसका साथै उनी आफैंले निर्माण गरेको कुञ्ज पार्कलाई पर्यटक आगमनको केन्द्र बनाएर अघि बढ्ने योजनामा छन् ।

आश्विन २९, २०८०

सन्जु पौडेल

लुम्बिनी — पहिलो पटकको भलाकुसारीले मात्र उनीसँग घुलमिल हुन गाह्रै हुन्छ । हक्की स्वभाव र ‘बोल्ड भ्वाइस’ भएका उनी झ्याम्मिन थालेपछि भने मित्रता गाढा बन्छ । संगत लम्बिएपछि उनको जीवनबाट धेरै कुरा सिक्ने अवसर मिल्छ । उनको सौख पनि त्यस्तै छ ।

गाउँ होस् या सहर, विभिन्न ओहदाका मानिससित भेट्न, गफिन र नयाँ अनुभव बटुल्न रुचाउँछन् । यस्तै बानीले रूपन्देहीको तिलोत्तमा–६ का ४७ वर्षीय लोक सबैका प्रिय बनेका छन् । 

लोकका बाबु रोमबहादुर भारतीय सेनामा कार्यरत थिए । त्यसैले हुर्काइबढाइमा उतारचढाव छ । सैनिक जीवनका कारण बाबु र आमा गंगादेवीले दुई दाइ र लोकलाई भारतमै अध्यापन गराएका थिए । भारतको आग्रामा बाल्यकाल बिताएका लोक पढाइमा तेज थिए । २०४३ सालमा ४ कक्षामा पढ्दैताका गणित शिक्षकले गृहकार्य नगरेपछि लोक र उनका केही साथीलाई कक्षाकोठामा उभ्याए । मेहेन्दीको लौरोले हिर्काउँदा लौरो उछिट्टिएर लोकको दाहिने आँखामा लाग्यो । उनलाई तत्कालै अस्पताल पुर्‍याइयो । शल्यक्रिया कक्षमा लगियो । चिकित्सकले लौरोको चोटले रेटिना, लेन्स र कोर्निया खराब भएको बताए । अस्पताल र घरमा गरेर उपचारमै ५ महिना बित्यो । त्यसपछि उनको दायाँ आँखाको ज्योति फर्किएन । 

एकाएक आँखा नदेख्ने भएपछि लोक धेरै रोए । उनी टुटे । त्यसपछि उनलाई भारतमा बस्नै मन लागेन । कक्षा ५ मा पुगेपछि उनी काठमाडौंस्थित सिद्धार्थ वनस्थली स्कुलमा भर्ना भए । बुबाआमा र २ दाइ भने भारतमै बसे । वनस्थलीको छात्रावासमा बसेर २ वर्ष पढेको उनले बताए । त्यसपछि भने उनी बुटवल आए । ‘फुपूहरू यतै हुनुहुन्थ्यो, म बुटवल आएँ,’ उनले भने, ‘बुटवलको न्यु होराइजन माविबाट २०४९ मा एसएलसी दिने पहिलो ब्याचको विद्यार्थी हुँ ।’


प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि विज्ञान पढ्ने सोच बनाएर पुनः काठमाडौं हानिए । जेठा दाइ नेपाली सेनामा भर्ती भए । माइला दाइ कोरियातर्फ लागे । लोक भने काठमाडौंस्थित अमृत साइन्स क्याम्पसमा आईएस्सीमा भर्ना भए । ‘आईएस्सी पढ्दै गर्दा चुरोट खान सिकेँ,’ उनले भने, ‘साथीभाइको लहलहैमा चुरोट तान्न थालें, हरेक साता मदिरा पिउने बानी पनि भयो ।’ विज्ञान पढ्न गएका उनी नशा र धूवाँमा रुमल्लिएपछि निराश हुँदै फेरि बुटवल फर्किए । बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा भर्ना भए । त्यहीँबाट १२ कक्षा उत्तीर्ण गरे ।

यसबीच, उनको जिन्दगीमा मायालुका रूपमा स्थानीय मिनुर श्रेष्ठ प्रवेश गरिन् । लोक र मिनुरबीच भेटघाट र बोलचाल खासै बाक्लो भने हुँदैनथ्यो । ‘तर मनमनै एकअर्कालाई मन पराइसकेका रहेछौं,’ लोकले भने, ‘माया बढ्दै गयो, बिहे भयो ।’ क्याम्पस अध्ययन गर्ने क्रममा उनको राजनीतिमा पनि रुचि बढ्दै गयो । आफ्नो आस्था भएको नेपाली कांग्रेस पार्टीमा आबद्ध भएर विद्यार्थी राजनीतिलाई अगाडि बढाउँदै गए । विभिन्न तहमा रहेर नेतृत्व सम्हालेको उनले बताए । यस्तैमा नयाँ मोड आयो । वाणिज्य क्याम्पसमा स्नातक तह अध्ययन सुरु गरेपछि अमेरिका जाने लहर चल्न थाल्यो । त्यसबेला बुबाले अवकाश प्राप्त गरिसकेका थिए । 

‘बुबा प्यारालाइसिस भएर बेडरेस्टमा हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यहीबेला मलाई अमेरिका जाने रहर जाग्यो ।’ आफैंले अमेरिकाको कलेज छानेर छात्रवृत्तिमा नाम निकालेपछि हौसिएका थिए । तर अमेरिकी दूतावासले लिएको अन्तर्वार्तामा असफल भएपछि उनको यो उत्साह मर्‍यो । ‘त्यसपछि पासपार्ट च्यातें र घर फर्किएँ,’ उनले भने, ‘त्यही दिनबाट कमाउन वा पढ्न विदेश जाने सोचिनँ ।’ अमेरिका जान नपाएर घर फर्किएका लोक एक दिन नजिकै कल्भर्टमा टोलाउँदै थिए । त्यही बेला एक साथी टुप्लुक्क आइपुगे । ‘साथीले एकपटक चाखेर विचार गर भन्यो,’ उनले त्यो दिन स्मरण गरे, ‘मैले चाखें, १३ वर्षसम्म त्यसको लतले छोडेन, आधा जीवन गल्तीले बिगारें ।’ एकपटक चाखेपछि त्यस चिज (लागूऔषध) प्रति मोह बढ्दै गएको उनले बताए । 


लोकको विचारमा दुर्व्यसनमा फस्न समय नलाग्दो रहेछ । उनका अनुसार एक सातासम्म लगातार साथीले खुवायो । ‘जब एक दिन त्यो आएन,’ उनले भने, ‘रातभरि निदाइनँ । अर्को दिनदेखि आफैं खोज्न हिँडेँ ।’ लागूऔषध सेवन गर्नेसित मात्र संगत गर्न थाले । सेवनपछि लठ्ठिएर सुत्ने गरेका उनले पढाइ पूरा गर्न सकेनन् । उनकी प्रेमिका मिनुरले साथ छाड्निन् । लतमै भएका बेला लोकसित विवाह गर्ने अठोट राखिन् । २०६० सालमा प्रेमविवाह गरे । मिनुर जागिर गर्दै पढ्थिन् । लोक आफ्नै धुनमा बस्थे । कुलतले उनलाई छाडेन । सबैले सम्झाउँथे । लोक बेवास्ता गर्थे । 

विवाह गरेको दुई वर्षमै उनीहरू अभिभावक बने । तर लोक बेरोजगार थिए । दिनैभरि लागूपदार्थ सेवन गर्थे र सुत्थे । दुर्व्यसनमा फँसेको १३ वर्षपछि एक दिन उनलाई लतबाट बाहिर निस्कन मन लाग्यो । उनले आफन्त दाइ खेमराज पुनलाई फोन गरेर उनीसँगै बस्ने र लत छाड्ने बताए । ‘तलाईं ढोका खुला छ आइज,’ लोकको प्रस्तावपछि खेमराजले भने, ‘अनुशासित भएर बस्नुपर्छ, नभए ढोका फेरि पनि खुलै हुन्छ, फर्केर जानु ।’ उनले सुध्रिने अठोट गरेका थिए । सुध्रिएरै फर्किने प्रतिबद्धतासहित दाइको घरमा गएको उनले बताए । 


एक वर्षसम्म चाडपर्वमा समेत घर आएनन् । परिवार नभेटी बुटवलमा रहेको दाइको घरबाट बाहिर निस्केनन् । छतबाट मानिसले ओहोरदोहोर गरेको हेरेर समय बिताउने गरेको उनले बताए । ‘मलाई एक साता निकै गाह्रो भयो,’ उनले सम्झिए, ‘भाउजूले गराएको योग ध्यान, दाइको नरम बोलीको सुझावलाई मनन गरेर मैले लागूपदार्थलाई बाईबाई गरें ।’ लोकले बिस्तारै खेमराजको औषधि पसलमा काम सिके । 

दुर्व्यसन त्यागेपछि उनको जीवन फुटबल साधनमा बित्न थाल्यो । सानैदेखि उनी छिमेकको मैदानमा फुटबल खेल्थे । २०६४ सालबाट स्थानीय झरना स्पोर्ट्स क्लबमा सदस्य बनेका थिए । उनलाई तत्कालीन अध्यक्ष छत्रबहादुर दर्लामीले खेल संयोजकको जिम्मा दिए । जीवनलाई परिवर्तन गरेका लोकलाई मैदानमा नियमित देख्दा गाउँले नै अचम्म पर्थे । उनले ४ वर्षसम्म खेल संयोजन गरी क्लबमा योगदान गरे । झरना स्पोर्ट्स टिमलाई बलियो बनाए । 

त्यही दौरान लोकले रूपन्देही फुटबल संघमा कार्यसमिति सदस्य बन्ने मौका पाए । सदस्य बनेपछि रूपन्देही–११, टिम म्यानेजरको जिम्मेवारी पाए । ‘त्यो भूमिका पनि सफलतापूर्वक निभाए,’ उनले भने, ‘म नडराईकन बोल्ने, मसँग अरू बोल्न डराउँथे, त्यसैले कडै स्वभावले खेलाडीलाई अघि बढाइन्थ्यो ।’ २०६७ सालमा जिल्ला फुटबल संघमा महासचिव बनेका उनी ४ वर्षपछि फेरि महासचिव बने । हाल उनी जिल्ला फुटबल संघको अध्यक्ष छन् । फुटबलमा जिल्ला लिगमा रेलिगेसनमार्फत छनोट गर्ने अभ्यास गराउँदै पुनले संघमा दर्ता भएका २० क्लबबाट हाल १६ टिम लिगका लागि तयार राखेका छन् । ३ वर्षसम्म रोकिएको तिलोत्तमा गोल्डकप पनि लोककै अध्यक्षतामा गत वर्ष सम्पन्न भएको थियो । 

लोक यतिमा मात्र सीमित छैनन् । उनलाई बोटबिरुवासँग रमाउन मन पर्छ । खासगरी लागूऔषधलाई विश्राम दिनेताका नै उनी बोटबिरुवासँग जोडिएका हुन् । लोक अध्यक्ष रहँदा झरना स्पोर्ट्स क्लबले स्थानीय दुर्गा मन्दिरको संरक्षणमा रहेको ४ बिघा जमिनको झाडी फाँडेर बगैंचा बनाउने निर्णय गरेपछि त्यहाँ फूलबारी बन्यो । बिहान, बेलुका फूलमा पानी राख्ने, माटो चढाउने, कटिङ गर्ने जस्ता काम क्लबका सदस्यले गर्न थाले । बगैंचालाई पर्यटकीय क्षेत्र बनाउन लोक नै तात्तिए । उनले बगैंचालाई कुञ्ज पार्कको नाम दिए । उनी कुञ्ज पार्क व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । यही पार्कलाई पर्यटक आगमनको केन्द्र बनाएर अघि बढ्ने उनको योजना छ । भविष्यमा एक करोड पर्ने म्युजिकल लाइट फाउन्टेन र रात्रिकालीन उद्यान बनाई होमस्टे सञ्चालनको तयारी गरिरहेको बताउँछन् लोक ।

युवा ग्यालरी

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully