पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङकोटबाट ८ किलोमिटर पर मान्द्रेढुंगामा सरेको प्याराग्लाइडिङ २ किलोमिटर वर तोरीपानीमा सारिएको छ । अवतरणस्थल पनि पामेबाट फेवातालनजिकै भकुन्डेमा सार्न नेपाल हवाई खेलकुद संस्थाले पहल गरिरहेको छ ।
पोखरा — कास्कीको सराङकोट डाँडाबाट रंगीचंगी प्याराग्लाइडिङ उडेर फेवाताल किनारमा झर्दै गरेको दृश्य पछिल्लो समय देखिँदैन । यसको कारण हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।
विमानस्थल सञ्चालनमा आएपछि हवाई सुरक्षाको कारण देखाउँदै प्याराग्लाइडिङको उडान स्थल सराङकोटबाट ८ किलोमिटर पश्चिमपट्टि मान्द्रेढुंगामा सारिएको थियो । सराङकोटबाट उड्दाजस्तो ग्राहकको चाप भने मान्द्रेढुंगामा देखिँदैन । हिमशृंखलाको अवलोकन गर्दै तालमाथि उड्न पाइने भएकाले प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट स्थलमध्येमा पर्थ्यो पोखरा ।
कोभिड महामारी मत्थर भएसँगै दैनिक दुई हजारसम्म व्यावसायिक उडान हुन थालेका थिए सराङकोटबाट । ती उडानमा औसतमा दैनिक तीन सय पर्यटक प्याराग्लाइडिङमा रमाउने गर्थे । मान्द्रेढुंगा सरेपछि भने उक्त संख्या एक सयमा झरेको छ । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) पोखरामा प्याराग्लाइडिङलाई पुरानै लयमा फर्काउने कसरतमा निकै जुट्यो । हवाई सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ उडान (टेकअफ) र अवतरण (ल्यान्डिङ) स्थललाई वैकल्पिक स्थानमा सार्ने तयारीमा छ संस्था । यसअघि सराङकोटको ब्लु स्काई, सनराइज र प्यारानोभा टेकअफबाट उड्ने ग्लाइडर फेवातालमाथिबाट खपौंदीस्थित इन्ड अफ दि लेकमा अवतरण गर्थे । सराङकोटबाट ६ किलोमिटर परको तोरीपानी टेकअफबाट प्याराग्लाइडिङ गर्दै चंखपुर झरिन्थ्यो । हाल मान्द्रेढुंगा सरेपछि अवतरणस्थलसमेत पामेमा सरेको छ ।
हाल मान्द्रेढुंगा एकमात्र टेकअफ स्थल रहेकामा संस्थाकै पहलमा क्षेत्र विस्तार भएर तोरीपानी टेकअफसमेत प्रयोगमा आउने भएको छ । संस्थाका अध्यक्ष सुनील भट्टराईले तोरीपानीबाट टेकअफका लागि नागरिक उड्डयन प्राधिकरणले सहमति जनाइसकेको बताए । उनका अनुसार संस्थाले प्राधिकरणकै सहयोगमा गत वैशाखमा सुरक्षा जोखिम मूल्यांकन प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन र स्थलगत अध्ययनपछि तोरीपानी टेकअफ सुरक्षित रहेको प्राधिकरणको निष्कर्ष छ ।
संस्थाका प्रतिनिधि, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणअन्तर्गत फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागका निर्देशक राजु श्रेष्ठबीच तोरीपानी टेकअफ सञ्चालनमा ल्याउने निर्णय भएको छ । उक्त निर्णय एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा प्रकाशित भइसकेको छ । ‘मान्द्रेढुंगाबाट टेकअफ गर्दा मौसम, हावाको वेगले साथ दिइरहेको छैन,’ संस्थाका अध्यक्ष भट्टराईले भने, ‘तोरीपानी टेकअफ सुरु भएपछि पोखराको प्याराग्लाइडिङ पुरानै लयमा फर्किन्छ भन्नेमा आशावादी छौं ।’ अवतरणस्थल पनि पामेबाट फेवातालनजिक भकुन्डेमा सार्न प्राधिकरणलाई प्रतिवेदन बुझाएको बताउँदै उनले त्यसप्रति प्राधिकरण सकारात्मक रहेको सुनाए ।
प्याराग्लाइडिङमा अत्यधिक चाप रहेकै बेला व्यावसायिक उडान (टेन्डम फ्लाइट) का क्रममा भएको दुर्घटनामा ०७७ मंसिरमा पाइलट राजु गैरे नेपालीको निधन भएको थियो । ग्लाइडरमा सवार यात्रु गम्भीर घाइते भएकी थिइन् । गत वर्ष नवौं राष्ट्रिय खेलकुदमा सहभागी सोलो (एकल) पाइलट निसिम थापाको पनि दुर्घटनामा निधन भएको थियो । त्यसयता संस्थाले प्याराग्लाइडिङलाई सुरक्षित बनाउन उच्च प्रविधिको प्रयोग गरेको छ । जीपीएस/लाइभ ट्र्याकर, रेडियो रिपिटर टावरसहित दुईतर्फी रेडियो सञ्चार, हटलाइन सेवाको व्यवस्था संस्थाले गरेको छ । उडान कर्मचारीले जीपीएस/लाइभ ट्र्याकर, रेडियो लिएर मात्रै उडान भर्न पाउनेछन् । उडान सामग्रीको जाँच प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले गर्छ ।
विभागका निर्देशक राजु श्रेष्ठ प्याराग्लाइडिङ सुरक्षित हुँदा त्यसको प्रभाव समग्र पोखराको पर्यटनमा पर्ने बताए । ‘सुरक्षित रहेको सन्देश दिन सके पर्यटक आउँछन्,’ उनले भने, ‘त्यसको लाभ प्याराग्लाडिङ कम्पनीले मात्रै पाउँदैनन्, होटलदेखि रेस्टुरेन्टसम्मले पाउँछन् ।’ सुरक्षा जोखिम मूल्यांकन प्रतिवेदन सन्तोषजनक देखेर नै प्राधिकरणले तोरीपानी टेकअफलाई स्वीकृति दिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउत बताउँछन् ।
‘सुरक्षाको सवालमा यो एक वर्षमा निकै सुधार भएको छ,’ उनी भन्छन्, ‘पोखरामा प्याराग्लाइडिङ जोगिँदैन कि भन्ने थियो, जोगियो । अब पर्यटकको संख्या वृद्धिमा ध्यान दिनुपर्छ ।’ पहिला सराङकोटमा उडिरहेको प्याराग्लाइडिङ लेकसाइडबाटै देखिन्थ्यो । सराङकोटमा चराका बथानसरी उडेका प्याराग्लाइडिङ देखेरै पोखरा आउने पर्यटकप्रति चासो भएको राउत बताउँछन् । अहिले मान्द्रेढुंगाबाट गरिने प्याराग्लाइडिङ लेकसाइडबाट देखिँदैन । तोरीपानीबाट सुरु भएपछि अहिलेको तुलनामा प्याराग्लाइडिङ गर्नेको संख्या ३० प्रतिशतले बढ्ने उनको अनुमान छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विस्थापित हुने भयबीच प्याराग्लाइडिङको व्यवस्थापन हुनुले पोखराको पर्यटनमा सकारात्मक सन्देश दिएको बताए । ‘फेरि पहिलेकै ठाउँबाट उडान सुरु हुँदा पर्यटकको संख्यामा वृद्धि हुन्छ,’ उनले भने, ‘पर्यटन व्यवसायीको अथक प्रयासले यो सम्भव भएको हो ।’ नवौं राष्ट्रिय खेलकुदको क्रममा भएको दुर्घटनापछि प्राधिकरणले सोलो उडानको अनुमति दिएको छैन । सोलो उडान बन्द हुँदा विदेशी पाइलट नआएकोले अनुमति खुला गर्नुपर्ने व्यवसायीको माग छ ।
‘विदेशी पाइलट नआउँदा सरकारले राजस्व गुमाएको छ,’ नाका अध्यक्ष भट्टराईले भने, ‘विदेशी पाइलटसँग नेपाली पाइलटले सीप, ज्ञान, अनुभवको आदानप्रदान गरेर क्षमता अभिवृद्धि गर्न पाएका छैनन् ।’ हाल पोखरामा ६२ र देशभर ७३ प्याराग्लाइडिङ कम्पनी छन् । पोखरामा मात्रै ३ सय ९९ लाइसेन्सप्राप्त पाइलट छन् । पोखराबाहेक काठमाडौं, ललितपुर, मकवानपुर, चितवन, सिन्धुली, सुनसरी, उदयपुर, इलाम, स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पा, सुर्खेत, कैलालीमा पनि प्याराग्लाइडिङ सञ्चालनमा छ ।
