सन् १९२५ मा आजकै दिन : थ्याचरको जन्म

आश्विन २६, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९२५ मा आजकै दिन (अक्टोबर १३) मा बेलायतकी पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचरको जन्म भएको थियो । उनी १९७९ मे ३ मा बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् । कन्जरभेटिभ दलकी नेतृ थ्याचर बेलायतको मात्र नभई समग्र युरोपकै पहिलो महिला सरकार प्रमुख हुन् ।

इंग्ल्यान्डको ग्रानथाममा जन्मिएकी थ्याचरले बेलायतमा करिब ११ वर्ष शासन गरिन् । अक्सफोर्ड विश्वविद्यालयमा रसायनशास्त्र अध्ययन गरेकी थ्याचर वकिलसमेत थिइन् । उनी पहिलो पटक १९५९ मा सांसद भएकी थिइन् । १९७८/७९ मा मजदुरहरूले तलब वृद्धिको माग गर्दै गरेको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री जेम्स कालाघानले विश्वासको मत जुटाउन नसकेपछि मे ३ मा भएको आमनिर्वाचनबाट थ्याचर विजयी भएकी थिइन् । 

थ्याचरले प्रधानमन्त्री भएलगत्तै सरकारको खर्च कटौती गर्न अधिकांश उद्योगहरू निजीकरण गरिन् । बेलायतले सन् १९८२ मा अर्जेन्टिनाविरुद्ध फकल्यान्ड युद्ध जितेका कारण खराब बेरोजगारी दरका बाबजुद उनी १९८३ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिइन् ।

१९८७ मा अर्थतन्त्र सुधार गर्न सफल भएपछि उनी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न सफल भएकी थिइन् । तर, बहुमत आफ्नो पक्षमा नदेखेपछि १९९० को नोभेम्बरमा संसदीय नेतामा प्रतिस्पर्धा गरिनन् । नयाँ नेतामा जोन मेजर निर्वाचित भएपछि उनले १९९० को नोभेम्बरमा प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् । निर्णय क्षमताका साथै सरकार तथा दल सञ्चालनमा निकै दह्रो रूपमा प्रस्तुत हुने गरेकाले रुसी अखबारले उनलाई ‘आइरन लेडी’ को संज्ञा दिएको थियो । पछि उनी यही उपनामबाट चर्चित बनिन् । २०१३ अप्रिल ८ मा थ्याचरको ८७ वर्षको उमेरमा निधन भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully