संसद् अभ्यासमा शिक्षा र स्वास्थ्यका मुद्दा

ललितपुरको एकान्तकुनास्थित पाठशाला स्कुलले गरेको संसदीय अभ्यासमा विद्यार्थी सांसदले बढ्दो वैदेशिक रोजगार र विदेश पढ्न जाने प्रवृत्तिप्रति प्रश्न उठाए । महँगी, सडक दुर्घटना, इराजरालमा दश नेपाली विद्यार्थी मारिएको प्रसंगबारे पनि सरकारमाथि प्रश्न तेर्साए ।

आश्विन २५, २०८०

कान्तिपुर संवाददाता

रोस्टममा सभामुख, उपसभामुख, छेउमै संसद् सचिवालयका महासचिव । दायाँबायाँ उभिएका छन् मर्यादापालकहरू । अगाडिपट्टि बेञ्चमा छुट्टाछुट्टै सत्तारूढ, प्रतिपक्ष सांसद, सचेतक र छेउमै मन्त्री बसेका छन् । दर्शकदीर्घा कक्षमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा र खचाखच अभिभावक थिए ।

झट्ट हेर्दा सोमबार पाठशाला स्कुल एकान्तकुनामा संसद् भवन बानेश्वरको जस्तै माहोल देखिन्थ्यो । ‘पाठशाला नमुना संसद् सभा’को अभ्यास बैठकमा सांसददेखि सभामुख, उपसभामुख, मन्त्री, मर्यादापालकका सबै भूमिकामा भने कक्षा ९ र १० का विद्यार्थी सक्रिय थिए ।

कक्षा ९ मा अध्ययनरत समिरन चालिसेले सभामुखको भूमिकामा संसद्को कारबाही प्रारम्भ गरे । एक मिनेट निर्धारण गरिएको शून्य समयमा ६ जना सांसदले बोले । त्यसपछि विशेष समयको कार्यक्रम सुरु भयो । ३ मिनेटको समय छुट्याइएको थियो । चार जनाले आफ्नो धारणा राखें । त्यहाँ बोल्ने विद्यार्थी सांसदले बढ्दो वैदेशिक रोजगार र विदेश पढ्न जाने प्रवृत्तिप्रति प्रश्न उठाए । सरकारले त्यसलाई रोक्न नसकेको टिप्पणी गरे । पाठ्यक्रम परिवर्तन नभएको, शैक्षिक संस्थामा बेथिति मौलाएको, सरकारले सार्वजनिक र निजी शिक्षण संस्थाको भरपर्दो अनुगमन गर्न नसकेको औंल्याए । महँगी, सडक दुर्घटना, इराजरालमा १० जना नेपाली विद्यार्थी मारिएको प्रसंगबारे धारणा राखें । उनीहरू त्यतिमै मात्र रोकिएनन् । प्रधानमन्त्रीको हालसालैको अमेरिका र चीन भ्रमण उपलब्धिमूलक हुन नसकेको आरोप लगाए । सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुर्‍याउन नसकेको भनेर आलोचना गरेका थिए । त्यसपछि विशेष समयमा बोल्ने क्रम पनि समाप्त भयो ।

संसदीय प्रक्रियाको अभ्यास गरेर सिकौं सिकाउँ भन्ने पाठशाला स्कुलको अभ्यास कार्यक्रममा सभामुखले त्यसपछि संसदीय समितिका प्रतिवेदन पेस गर्न समय छुट्याए । शिक्षा समितिका तर्फबाट छात्रा आस्मा चौधरीले प्रतिवेदन पेस गरिन् । उनले सरकारले सामुदायिक र निजी विद्यालयको पूर्वाधार सरकारले अनुगमन गर्न निर्देशन दिइन् । विद्यालयको अनुगमन स्थानीय तहले गरेर नियमावली बमोजिम कारबाही गर्नुपर्ने माग राखिन् । सामुदायिक विद्यालयमा शिक्षक अभाव रहेकाले शिक्षक सेवा आयोगबाट शिक्षक नियुक्ति गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख थियो । प्रत्येक विद्यालयमा मनोवैज्ञानिक परामर्शदाता नियुक्ति गर्नुपर्ने, शिक्षकलाई तालिम, टाढाका विद्यार्थीलाई स्कुल बसको व्यवस्था गर्न पाठशाला सभा शिक्षा समितिले निर्देशन दिएको थियो । निर्देशन ४५ दिनभित्र कार्यान्वयन गरी समितिलाई जानकारी दिनुपर्ने उल्लेख थियो ।

लगत्तै सभामुखले स्वास्थ्य समितिलाई प्रतिवेदन पेस गर्न समय दिए । समिति सभापतिको जिम्मेवारीमा रहेकी छात्रा आर्या बुढाथोकीले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सरकारलाई सचेत गराइन् । देशभर स्वास्थ्य जनशक्ति अभाव देखिएकाले प्रक्षेपण गर्न र जनशक्ति उत्पादनमा ध्यान दिन निर्देशन दिइन् । प्रत्येक अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने, वृद्धावृद्धा र बालबालिकालाई उपचारमा छुट दिनुपर्ने प्रतिवेदनमा उल्लेख थियो । त्यसपछि क्रमशः यातायात, पूर्वाधार, पर्यटन, खाद्य आपूर्ति, श्रमरोजगार समितिका सभापतिहरूले प्रतिवेदन पेस गरे । यातायात कार्यालयमा बिचौलियाको बिगबिगी रहेको, स्मार्ट लाइसेन्स पाउन ढिलासुस्ती भइरहेकाले सरकारले त्यसमा सुधार गर्नुपर्ने औंल्याए । चाडपर्वका बेला मात्रै सञ्चालन गरिने सुपथ मूल्य पसल बाह्रै महिना सञ्चालन गर्न निर्देशन दिए । राहदानी पाउन सेवाग्रहीलाई सकस परेकाले टोकन प्रणाली लागू गर्न कर्मचारीलाई तालिम दिन सुझाए ।

सांसदका धारणा र समितिका प्रतिवेदन सुनेर बसेका प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छात्र प्रविणसिंह थापा समसामयिक विषयमा बोल्न रोस्टममा उभिए । उनले सुनकाण्डमा सरकारले प्रभावकारी अनुसन्धान गरेको बताए । स्वास्थ्य संस्थामा निःशुल्क औषधिको व्यवस्था गरिएको जनाए । ‘सडक, पुल, विमानस्थल बनेका छन् । विकासको लहर आएको छ । स्वरोजगार कार्यक्रम सरकारले ल्याएको छ । अब विदेश जाने क्रममा रोकिन्छ,’ उनले भने । उनले बोल्दै गर्दा सत्तापक्ष बेञ्चका सांसदले समर्थन जनाए । ऋण घटाउने रणनीतिमा सरकार रहेको, अमेरिका र चीन भ्रमण अन्त्य सफल रहेको उनले जानकारी दिए ।

सरकार सुशासन, आर्थिक विकास र समृद्धिका लागि अघि बढिरहेको प्रस्ट्याउँदै उनले आफ्नो भनाइ टुंगो लगाए ।

सभामुखले प्रतिपक्षी दलका नेताले समय माग गरेको जनाउँदै छात्र एञ्जल ज्ञवालीलाई समय उपलब्ध गराए । उनले सुन तस्करी, ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुन नसकेको आरोप लगाए । प्रतिपक्षी नेताको भूमिका ज्ञवालीले गर्दै यी प्रकरणमा सरकार नै सहभागी छैन ? भन्दै प्रश्न गरे । जघन्य अपराधमा संलग्नलाई आममाफी दिएकामा आलोचना गरे । ‘व्यापार घाटा बढ्दै गएको छ । सरकार नेतृत्वमा लायक छैन । प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ उनले भने । अब ‘पाठशाला विद्यालयमा अनुशासन कायम गर्नेसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्न गृहमन्त्रीले अनुमति पाए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू सहभागी भएका थिए । उनीहरूको कुरा सुनेपछि गृहमन्त्रीको भूमिकामा रहेका छात्र मनिल अधिकारीले जवाफ दिए । उक्त प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरे । उनले विधेयक बहुमतले स्वीकृत भएको घोषणा गरे । सभामुखले हिउँदे नमुना बैठकको मिति तोक्दै सभा अन्त्य गरे । 

छेउमै बसेर विद्यार्थीको संसदीय अभ्यास नियालिरहेका पूर्वसभामुख अग्नि सापकोटाले उनीहरूको प्रशंसा गरे । विद्यार्थीले अभ्यासका क्रममा दिएको प्रस्तुति, भूमिका उत्कृष्ट रहेको उनले औंल्याए । ‘विद्यार्थीको अभ्यास गर्दा संसद् भवन बानेश्वर नै पुगेको स्मरण भयो । अहिले संसद्को गतिविधि, सांसदको शब्दचयन हेर्दा कतै संसद्को दुरुपयोग भइरहेको त छैन ?,’ उनले भने, ‘विद्यार्थीको प्रस्तुति गर्दा पेचिला मुद्दा सरकार तरिकाले उठाउनुभएको छ ।’ पाठशालाले उत्कृष्ट अभ्यास गर्ने विद्यार्थीलाई मूल्यांकनका आधारमा पुरस्कृतसमेत गरेको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully