विदेश गएको मामाको छोरा काठको बाकसमा फर्किएको घटनाले नवराजको जीवनको बाटो बदलियो । उक्त घटनाले ‘सगरमाथाको गहिराइ’ नामक कविता जन्मायो र त्योसँगै जन्मिए कवि नवराज पराजुली । तिनै पराजुली पछिल्लो समय कविता सुनाउनैका लागि देश–विदेश चहार्न व्यस्त छन् ।
अस्ट्रेलिया — जीवनशैली सामान्य नै भइरहेको भए उनी कुनै विश्वविद्यालयमा अंग्रेजी विषय अध्यापन गराइरहेका हुन्थे । वा, लोक सेवा पास गरेर कतै सरकारी जागिरमा हुन्थे । उनले म आफू कवि नै हुँला र यसरी कवितामा जीवन खोज्दै देश–विदेश घुमौंला भन्ने सोचेका पनि थिएनन् ।
खासमा आफ्ना बासँगै हलो जोत्न र खेतीपातीमा रमाउन मजा मान्थे । तर रोजगारीका लागि विदेश गएको उनको मामाको छोरा काठको बाकसमा फर्किएको घटनाले उनको जीवनको बाटो नै बदलियो । उक्त घटनाले ‘सगरमाथाको गहिराइ’ नामक कविता जन्मायो र त्योसँगै जन्मिए कवि नवराज पराजुली ।
३६ वर्षीय नवराज पछिल्लो समय कविता सुनाउने यात्राकै क्रममा अस्ट्रेलियामा छन् । हुन त उनको यो यात्रा चलिनै रहन्छ । अस्ट्रेलियामा यो उनको दोस्रो यात्रा हो भने उनले भर्खरै मात्र अमेरिकामा यस्तै यात्रा सकेर आएका छन् । साँच्चै भन्ने हो भने उनी ‘फुलटाइम’ कवि हुन् । उनी कवितासँगै रमाउँछन् र कवितामार्फत नै आफ्नो जीवन बाँच्छन् । अनि उनलाई जीवनमा सबैभन्दा रमाइलो र मज्जाको काम पनि कविता सुनाउने नै लाग्छ रे । ‘कविता हृदयको कथा हो र हृदयको कथा सबैले सुन्न, अनुभव गर्न र त्यसलाई अँगाल्न पाउनुपर्छ,’ दक्षिण अस्ट्रेलियामा एमआरपी इभेन्टले आयोजना गरेको कविता कन्सर्टका क्रममा भेटिएका उनै कविले भने । उनलाई कविता पढ्ने मात्र नभएर सुन्ने पनि हुनुपर्छ भन्ने लाग्छ । ‘किनभने कविता नसुनाउने हो भने पढ्न नसक्नेका लागि व्यर्थ हुन्छ,’ उनले भने । कवितालाई सबैले सुन्न पाउनु र त्यसलाई मनबाट अनुभूति गर्न पाउँदा मात्रै सिर्जनामाथि न्याय हुन्छ भन्ने उनी ठान्छन् ।
पराजुलीले साहित्यिक यात्रा गजलबाट सुरु गरे । त्यससँग अन्य केही कविता पनि लेखे । तर सगरमाथाको गहिराइले उनको परिचयलाई चम्किलो बनाइदियो । प्रकाशित कविता संग्रहको कुरा गर्ने हो भने उनको एउटै मात्र कृति प्रकाशित छ अहिलेसम्म । ‘सगरमाथाको गहिराइ ।’ जसले साहित्यिक विधामा दिइने प्रतिष्ठित पद्मश्री पुरस्कार जित्यो । त्यसपछि उनको साहित्यिक यात्रा निरन्तर छ । उनी हरेक समय साहित्य सिर्जनामा लागिरहेका हुन्छन् । तर उनी अर्को संग्रह प्रकाशित धेरै नै हतारो गर्ने पक्षमा छैनन् । उनलाई सबैले सोध्ने प्रश्न पनि यही हो रे, कहिले आउँछ दोस्रो कृति ? उनी भन्छन्, ‘त्यसका लागि काम गरिरहेको छु र केही समय लाग्ला ।’
नवराजलाई नेपाली साहित्यमा फरक प्रयोग गर्ने साहित्यकारका रूपमा चिनिन्छ । उनी कहिले कवितालाई म्युजिक भिडियोमार्फत व्यक्त गरिरहेका हुन्छन् भने कहिले स्टेजमा कलात्मक रूपले प्रस्तुत गरिदिन्छन् । तर उनले जसरी आफ्नो सिर्जनालाई प्रस्तुत गरेका छन्, सबै दर्शकले मन पराइदिएका छन् । त्यसैले पनि होला उनी दर्शकप्रति अत्यन्तै आभारी छन् । उनले पाएको अर्को अनुभव के हो भने कविता सुन्ने दर्शक नेपाल र विदेशमा फरक–फरक हुँदारहेछन् । नेपालमा कवितालाई शब्दमार्फत मात्र सुन्ने गरिन्छ भने विदेशमा त्यही कवितालाई शब्दसँगै भाषामार्फत समेत सुनिने उनको अनुभूति छ । ‘यहाँ कविता सुन्ने दर्शकको आँखामा नेपालको माया, सम्झना, भाषाप्रतिको प्रेम अझ स्पष्ट देख्न सकिन्छ ।’
झापाको जलथलस्थित एक किसानको घरमा जन्मिएका नवराजलाई यो यात्रासम्म आइपुग्न धेरै सहज भने भएन । तर उनी आफैंलाई भाग्यमानी मान्छन् किनकि जब उनले कविता सुरु गरेका थिए, त्यतिबेला फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालको प्रचलन बढ्दो थियो । ‘यस्ता सामाजिक सञ्जालले मलाई धेरै मद्दत गर्यो ।’ उनी आफ्नो विगत सम्झन्छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेसमक्ष गएर कविता सुनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भने उनलाई धेरैले कविका रूपमा चिने । त्यतिमात्र नभएर झापामा आयोजना गरिएको साहित्य महोत्सवताका सुनाएको कविताले उनलाई अन्य दिग्गज साहित्यकारसमक्ष परिचित गराइदियो । उक्त सम्मेलनमा उनले कविता वाचन गरिसकेपछि साहित्यकार मनु मञ्जिलले मञ्चमै गएर अंग्रेजीमा ‘योभन्दा सुन्दर के हुन सक्छ र’ भन्ने प्रतिक्रिया पाएपछि भने आत्मविश्वास चुलिएको थियो बताउँछन् उनी ।
नवराजको साहित्यिक यात्रामा भुल्नै नहुने नाम सनतकुमार वस्ती हो रे । कुराकानीका क्रममा उनले वस्तीलाई पटकपटक सम्झिए । त्यससँगै अन्य धेरै साथी तथा साहित्यकारको साथ सहयोगको सम्झना छ उनलाई । जसलाई उनले हरेक समय आफ्नो मनमा राखेका छन् । तर उनलाई कवि भने बाकसमा बन्द भएर आएको आफ्नो मामाको छोराको शव पशुपति आर्यघाटमा राखिएको घटनाले बनायो । आफ्नो छोराको खुट्टा ढोगेर मामाले बिलौना गरिरहेको बेलामा उनलाई यदि बन्द बाकसमा रहेको छोराले बोल्न सक्थ्यो भने के भन्थ्यो होला भन्ने सोच आयो रे । उनले त्यही सोचलाई कवितामा रूपान्तरित गरेर र लेखे ‘सगरमाथाको गहिराइ ।’ कविता लेखाइको पनि उनलाई फरकफरक अनुभव छ । उनी ‘स्कुल’ नामक कविता लेख्न एक वर्ष भने ‘च्याऊ’ कविता २५ मिनेटमै लेखिएको अनुभव सुनाउँछन् ।
सायद उनी पहिलो नेपाली साहित्यकार हुनुपर्छ, जसले विदेशमा सफल एकल कविता कन्सर्ट गरिरहेको छ । उनी त्यसप्रति आभारी पनि छन् । उनलाई दर्शकश्रोताले यो मेरो कुरा भनिदिने मान्छे हो भन्ने मानिदिन्छन् जस्तो लाग्छ । अनि उनलाई लागेको अर्को कुरा भने उनलाई दर्शकश्रोताले आफूमा लिएर हिँडिदिएको भान हुन्छ, त्यसैले पनि उनी यस्तै कविता र साहित्य सिर्जना गरिरहन चाहन्छन् । उनी कविता सिर्जना गर्दा आफूलाई छोड्न नहुने र कविता मात्र आफ्ना लागि लेखिनुपर्ने सुनाउँछन् । ‘अरूका लागि कविता लेखिने हो भने आफू छुटिन्छ, आफू छुटेपछि आत्मा छुट्छ र आत्मा छुटेको केही पनि सुन्दर हुँदैन,’ उनको तर्क छ । अर्कोतिर कविता लेख्दा होस् वा जे गर्दा होस्, आफूसँग इमान्दार हुन आवश्यक रहेको उनको भनाइ छ । ‘तपाईं आफूसँग इमान्दार हुन सक्नु भएन भने त्यसले सही सन्देश दिँदैन ।
कविसँगै उनी छोरीका बाउ हुन् । श्रीमान् अनि छोरा हुन् । नेपाली मनका एक युवा पनि । त्यसैले त नवराज अन्य युवाजस्तै देशको अवस्थाप्रति निकै चिन्तित छन् । अहिले युवाले देश छाडेका घटनाले समाचारका शीर्षक बनाइरहेका छन् । केही समयपछि गाउँमा साना बालबालिका नै नहुने चिन्ता छ । ‘सबै युवाले गाउँ छोडेर गएपछि बालबालिका जन्मिने कसरी ?’ उनी प्रश्न गर्छन् । उनलाई लाग्छ, यदि कुनै विकसित देशले सहज किसिमले प्रवेश अनुमति दिने हो भने नेपालका अधिकांश युवा बाहिरिनेछन् । कविता कन्सर्टका क्रममा उनले यहाँका युवामा देखेको देशप्रतिको माया, नेपाली भाषाप्रतिको प्रेम र सम्मानले मन्त्रमुग्ध बनाउँछ । त्यसैले पनि उनलाई लाग्छ, कवितालाई सुनाउनुको मज्जा र आनन्द सायदै अन्य कुनै कार्यमा होला । उनी भन्छन्, ‘कवितालाई दर्शकश्रोतासामु सुनाउन पाउँदा मात्र आफूले आफ्नो सिर्जनालाई न्याय गरेको फिल हुन्छ ।’
