कान्तिपुर एकेडेमीको ओटीटी प्लेटफर्म

काठमाडौँ — कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’ को सुरु गरेको छ । प्लेटफर्ममार्फत इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’ मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।

हालका लागि प्लेटफर्ममा ‘ज्याकी आईएम ट्वान्टी वान’ र ‘जुलेबी’ फिल्म राखिएका छन् । ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ सिरिज पनि हेर्न सकिने एकेडेमीले जनाएको छ । त्यस्तै, सर्ट फिल्म ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’ लगायत पनि एपमा राखिएको छ ।
कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीका अनुसार ‘कान्तिपुर सिनेमाज’ मा मासिक २९९ रुपैयाँ तिरेर सबै सामग्री हेर्न सकिन्छ । पुरीले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । ‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिजहरू हेर्न सकिन्छ ।’