बडिबिल्डिङमा महिला

पछिल्लो समय खासगरी शारीरिक सुगठनमा लाग्ने युवतीहरूको संख्या सहरी क्षेत्रमा बढ्दो छ । तर सन्तुलित रूपमा डाइट, अभ्यास र आराम जरुरी हुने भएकाले सबै जना चाहेर पनि यसमा सफल हुन भने सक्दैनन् । 

श्रावण ५, २०८०

सीमा तामाङ

काठमाडौँ — माल्दिभ्समा गत वर्ष भएको ५४ औं एसियाली शारीरिक सुगठन र फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा सहभागी हुन राम्रो तयारी गरेकी थिइन् रजनी श्रेष्ठले । तर डेंगीले थलिएपछि उनी सहभागी हुन् पाइनन् । जसका कारण पदक जित्ने उनको योजना सफल हुन सकेन । त्यसैले आगामी सेप्टेम्बरमा नेपालमा हुने ५५ औं एसियाली शारीरिक सुगठन र फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपका लागि उनको तयारी जोडतोडले चलिरहेको छ । आजभोलि रजनी दिनको करिब पाँच घण्टा जिममै बिताउँछिन् । 

झापाकी रजनी शारीरिक सुगठनमै लाग्छु भनेर चाहिँ लागेकी होइनन् । करिब ८ वर्षअघिसम्म उनी ‘हाउस वाइफ’ मात्रै थिइन् । श्रीमान् समीरले जिम सञ्चालन गर्थे । उनले सामान्य अभ्यास मात्रै गर्थिन् । त्यसमै रमाइरहेकी श्रेष्ठको घाँटीमा स–साना गाँठा देखिन थाले । उपचारका लागि नेपालमा मात्र नभई भारतसम्म पनि पुगिन् । उपचारका लागि धाउँदाधाउँदै त्यस्ता गाँठाको संख्या बढ्दै गएको थियो । चिकित्सकले एन्टिबायोटिक मात्रै दिन्थे । औषधि खाँदासम्म दुखाइ कम हुने र गाँठा पनि हराउने हुन्थ्यो । तर औषधि सकिनासाथ दुखाइ र गाँठा दुवैको समस्या हुन थाल्थ्यो । 

अधिकांश चिकित्सकले क्यान्सर भएको आकलन गर्थे । एक चिकित्सकले गाँठा काटेर त्यसको ‘बायोप्सी’ गरेपछि मात्रै क्यान्सर वा अन्य रोग पुष्टि हुने बताए । अधिकांश चिकित्सकले क्यान्सरको आकलन गर्न थालेपछि तनाव बढ्न थालेको थियो । भोलि ‘बायोप्सी’ गर्ने दिन तोकिए पनि अघिल्लो रात नै समीरले जिम गर्दा पो ठीक हुन्छ कि भन्दै जिम जान सुझाए । त्यसपछि सुरु भयो, उनको जिमदेखि शारीरिक सुगठनसम्मको यात्रा । त्यसपछि उनी नेपाल व्यायाम मन्दिरमा नियमित जिम जान थालिन् । जिम सुरु गरेसँगै उनको घाँटीको गाँठा आफैं हराउँदै गए । ८ वर्ष भइसकेको छ तर अहिलेसम्म त्यस्तो कुनै समस्या देखिएको छैन उनमा । ‘घाँटीको गाँठा हराउँछ कि भनेर जिम जान थालें । गाँठा पनि हराए, शरीर पनि फिट,’ उनले भनिन्, ‘जिम गर्दै गएपछि शरीरको आकार पनि परिवर्तन हुँदै आयो । त्यसपछि त झन् सबैले बडिबिल्डिङ सुहाउँछ भन्दै हौस्याए ।’

श्रीमान् समीर, परिवार र साथीभाइको हौसलामा स्टेज उक्लेकी रजनीको नाम बिजेताका रूपमा आयो । मिस्टर काठमाडौं–२०७४ मा ११ जना सहभागीलाई पछि पार्दै उनले फिजिक विधामा प्रथम अर्थात् ‘गोल्ड मेडल’ जितिन् । ‘भगवान्ले नै यस्तो संयोग जुराइदिएका होलान्,’ उनले भनिन्, ‘पहिला घाँटीमा समस्या त्यसपछि जिम र अहिले बडिबिल्डिङमा ।’ परिवारको साथ पाएकी रजनीले फर्केर दिन सम्झँदै पछुताउनुपरेको छैन । उनले मिस्टर हिमालय–२०१९ मा महिला एथ्लेटिक्स फिजिक्सको उपाधि हात पारिन् ।

विजेताले साउथ एसियन च्याम्पियनसिपमा प्रतिनिधित्व गर्न पाउँथे । त्यसकारण १२ औं साउथ एसियन च्याम्पिएनसिप–२०१९ मा नेपालको प्रतिनिधित्व गरेकी उनले रजत पदक जितिन् । लगत्तै इन्डोनेसियामा भएको ५३ औं एसिएन शारीरिक सुगठन र फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा दुई वटा विधामा प्रतिस्पर्धा गर्दा रजत र कांस्य पदक हात पारिन् । शारीरिक सुगठन विधाअन्तर्गत ५५ केजी तौलसम्म रजत र फिजिक्स विधाअन्तर्गत ३० वर्षभन्दा माथि कांस्य पदक जितिन् । लगातार तीनवटा खेल आफ्नो पोल्टामा पारेकी रजनीलाई सोही वर्ष सरकारले ‘बेस्ट खेलाडी अवार्ड’ ले सम्मान गरेको थियो ।

शारीरिक सुगठनमा रमाउन भने सहज छैन । प्रतिस्पर्धाको दिनभन्दा दुई महिनाअघिदेखि नै क्लिन डाइट, एक्सरसाइज र आराम गर्न सुरु गरिसक्नुपर्छ । यो अवधिमा दिनमा पाँच पटक खाना, पाँच घण्टा जिम र आराममा विशेष ध्यान दिनुपर्ने उनी बताउँछिन् । ‘दिनमा कम्तीमा २० वटा अण्डा, एक किलो चिकेन ब्रेस्ट र उमालेको खानेकुरा खानुपर्छ,’ उनले भनिन्, ‘अण्डाको पनि सेतो भाग मात्र खान मिल्छ । नुन, तेल, चिनी बिस्तारै कम गर्नुपर्छ ।’ प्रतिस्पर्धाको समयमा त २४ घण्टा अगाडिदेखि नै पानी पनि खान नमिल्ने उनले सुनाइन् । ‘शारीरिक सुगठन भनेको आराम, खानपान र एक्सरसाइजमै भर पर्छ,’ उनले भनिन् ।

अनुशासनको पालना गर्न नसक्ने व्यक्ति यसमा आउनै सक्दैनन् र यसमा रमाउन थालेपछि निस्कनै मन नलाग्ने उनी सुनाउँछिन् । ‘अनुशासन एकदमै महत्त्वपूर्ण हुन्छ भने खानेकुरामा विशेष ध्यान दिनुपर्छ ,’ उनले भनिन्, ‘बाहिरको चिल्लो, जे पायो त्यही खाना बहिष्कार नै गर्नुपर्छ, सुत्ने र उठ्ने समय पनि एउटै हुनुपर्छ ।’ अभ्यासमा भन्दा स्टेजमा पोजिङ गर्दा गाह्रो हुने उनको अनुभव छ । जति गाह्रो भए पनि पोजसँगै मुहारमा मुस्कान ल्याउनुपर्ने उनी सुनाउँछिन् । महिला भएर दुई पिस लुगामा स्टेजमा पफर्मेन्स गर्न गाह्रो हुने भए पनि स्टेजमा गइसकेपछि ‘बेस्ट’ गर्नै ध्यान जाने उनले सुनाइन् । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि कोशी प्रदेशका तर्फबाट महिला शारीरिक सुगठनमा छनोट परेकी थिइन् । डेंगीले थलिएको शरीर नै लिएर प्रतिस्पर्धामा सहभागी भएको समेत उनले बताइन् ।

सरकारले गत वर्षदेखि शारीरिक सुगठनलाई पनि राष्ट्रिय खेलमा समावेश गरेको हो । स्वयम्भूस्थित विजेश्वरीकी २९ वर्षीय श्वेता कपाली सन् २०१२ देखि नै फिटनेसका लागि जिम जान्थिन् । तर शारीरिक सुगठनमै लाग्छु भन्ने उनको मनमा भने थिएन । २०१६ देखि २०१८ सम्म उनले एयरहोस्टेसका रूपमा काम गरिन् । लामो फ्लाइट र परिवारदेखि टाढा भएपछि उनले एयरहोस्टेसको जागिर छाडेर नेपाल फर्किन् । नेपाल फर्केलगत्तै उनी फेरि जिम जान थालिन् । ‘मैले जिम गर्ने ठाउँका धेरै जना दाइहरू बडिबिल्डिङ गर्थे, सबैले मलाई पनि एक पटक जानु भन्न थाले,’ उनले भनिन्, ‘त्यो बेला घर र जिम मात्रै गर्थे अरू केही थिएन । त्यसैले एक पटक कोसिस गर्छु भनेर जाने निधो गरें ।’ 

नवौं राष्ट्रिय खेलकुदमा मोडल फिक्जिक्स विधाअन्तर्गत पहिलो पटक नै स्वर्ण जिते । लगत्तै सोही वर्ष थाइल्यान्डमा भएको १३ औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक हात पारिन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै महिला मोडल फिजिक्स विधामा रजत पदक जितेको उनले सुनाइन् । ‘एउटा खेलका लागि तयारी गर्दा ५/६ लाख खर्च हुन्छ, तर पाउने नाम, सम्मान र ट्रफी मात्रै हो,’ उनले भनिन् । सरकारी तवरबाटै केही सहयोग भइदिए आफूजस्तै यो क्षेत्रमा लाग्नेहरूलाई सहज हुने उनको भनाइ छ ।

युवा ग्यालरी

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully