काठमाडौँ — ‘मिस्टर नेपाल २०२३’ का अन्तिम प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीबार गरिएको कार्यक्रममा अन्तिम २० जनाले आफ्नो परिचय दिँदै प्रतियोगी बन्नुको कारणबारे उल्लेख गरेका थिए ।
अन्तिम प्रतिस्पर्धीमा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन्टलगायतका विभिन्न पेसाकर्मी सँगै विद्यार्थी अटाएका छन् । प्रतियोगिताको फाइनल शनिबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुँदै छ । आयोजकका अनुसार प्रतियोगितामा टाइटलसहित विभिन्न विधाका गरी १२ विजेता चयन हुने छन् ।
विजेताले ५ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । त्यसका साथै ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिष्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्न पाउने बताइएको छ ।
देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फाइनलका लागि स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जनभन्दा बढी विधामा प्रशिक्षण दिइएको आयोजकको भनाइ छ । फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पूर्वमिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरेलगायतका निर्णायक छन् ।
