कालीकोटमा देउडा महोत्सव

श्रावण ५, २०८०

तुलाराम पाण्डे

कालीकोट — कर्णाली प्रदेशमै पहिलो पटक कालीकोटमा देउडा खेल्ने महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा देउडा पारखीले गीतमार्फत कर्णालीको समृद्धि र विकासका कुरा मात्र गरेनन्, बालविवाह न्यूनीकरण र विपद् व्यवस्थापनबारे समुदायमा सचेतना जगाए । महोत्वसमा सहभागी हुन कालीकोटका सबै स्थानीय तहसहित दैलेख, बाजुरा, सुर्खेत, जुम्ला, हुम्लालगायतका जिल्लाका देउडा कलाकार मान्म पुगेका थिए । 

‘देउडाप्रति स्थानीयको निकै आकर्षण पाइयो,’ प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले भने, ‘देउडा मनोरञ्जनको प्रमुख माध्यममात्र नभएर सचेतना जगाउने मियो पनि रहेछ ।’ देउडामार्फत कला संस्कृतिको जगेर्ना गर्न पहिलो पटक देउडा महोत्सव गरिएको आयोजक देउडा प्रतिष्ठान सुर्खेतका अध्यक्ष नेत्रराज शाहीले बताए । ‘देउडा कर्णालीको सुख–दुःख, आँसु–हाँसो, मायाप्रेम र सामाजिक सद्भावको चौतारी हो,’ उनले भने, ‘यसको संरक्षण गर्नु हाम्रो पुस्ताको दायित्व पनि हो ।’ 

कर्णाली प्रदेश सरकारले पनि देउडालाई महत्त्व दिएरै २०७५ सालदेखि प्रत्येक वर्ष साउन १ गते देउडा दिवसका रूपमा बिदा दिँदै आएको छ । महोत्सवमा बाजुराकी विपना भण्डारी, देउडा गायकहरू नेत्रराज शाही, पुष्पराज आचार्य, हुम्लाका मनलाल जैसी, दैलेखका कर्णबहादुर शाही, नरहिरनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, विपना सिंह, पूर्णबहादुर शाहीलगायतले देउडा गीतमा एकआपसमा सवाल जवाफ गरी स्थानीयलाई मनोरञ्जन दिएका थिए । 

देउडाको संरक्षणमा पाको पुस्ताले बढी चासो देखाए पनि युवापुस्तालाई पनि जागरुक बनाउन विभिन्न मेला महोत्सवको आयोजना हुनुपर्ने देउडा सर्जक चित्रसिह गाउँलेले बताए । महोत्सवमा देउडा विधामा योगदान पुर्‍याएका पाका र नयाँ पुस्ताका गरी ३७ जना देउडा खेलाडीलाई महोत्सवमा सम्मान गरिएको छ । कार्यक्रममा कालीकोटका ९ वटै स्थानीय तहसहित छिमेकी जिल्लाबाट आएका कलाकारलाई दोसल्ला, खादा र सम्मानपत्रबाट सम्मानित गरिएको आयोजक समितिका सदस्य भानुप्रभात पाण्डेले बताए ।

युवा ग्यालरी

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully