२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘गोलमेसिन’ एमबाप्पे

एमबाप्पे भर्खर २४ वर्षका भए । उनका सामु प्रचुर सम्भावना कायम छन् । यत्तिको उमेरमै उनले विश्वकपको दुई संस्करणका फाइनल खेलिसकेका छन् । रुसमा भएको विश्वकपमा त उनी विजेता नै रहे, कतारमा भने अर्जेन्टिनासँग पछि परे । मेसी र रोनाल्डोको युग सकिएपछि सबैको ध्यान उनमै हुनेछ । 
हिमेश

काठमाडौँ — यसपल्ट फ्रान्सेली लिग–वान पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित्नैमा कुनै शंकै छैन । फ्रान्सको आफ्नै केयलिन एमबाप्पे मात्र होइन, लियोनल मेसी र नेयमर जत्तिको खेलाडी भएको क्लबले लिग नजिते कसले जित्ने ? सबैले भन्ने पनि यस्तै हो ।

‘गोलमेसिन’ एमबाप्पे

तर अहिले तत्काल पीएसजीमा सबथोक राम्रो भइरहेको भने छैन । लिगका आफ्नो पछिल्लो खेलमा पीएसजी लोरिन्टसँग ३–१ ले पराजित भयो । त्यो पनि आफ्नै घरमा ।

पीएसजीका तर्फबाट सम्भव त्यो एक गोल पनि अरू कोही होइन, एमबाप्पेले गरेका थिए । लिग तालिकामा पीएसजी ७५ अंकमा शीर्ष स्थानमा छ, ३३ खेल खेलेर । दोस्रो स्थानमा रहेको मार्सेले पनि समान ३३ खेल खेलेको छ र उसको अंक रहेको छ, ७० । भनेपछि लिगमा पाँच चरणका खेल मात्र बाँकी छँदा पीएसजी र मार्सेबीचको अन्तर भनेको पाँच अंक मात्रै हो । फेरि मार्से पीएसजीको त्यस्तो शत्रु क्लब हो, जसलाई पीएसजीका हरेक असफलतामा खुसी लाग्ने गर्छ ।

पीएसजीलाई उपाधि जित्नबाट रोक्न मार्सेले सबथोक गर्नेछ, आफूले सक्दो । सन् २०२० मा पीएसजी युरोपेली च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । युरोपेली क्लब फुटबलका सबैभन्दा ठूलो प्रतियोगितामा पीएसजीको यो नै अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । फाइनलमा पीएसजी बायर्न म्युनिकको हातबाट १–० ले पराजित भयो । पीएसजी के पराजित भयो, मार्सेका समर्थकले सडक सडकमा आर्लेर मस्त खुसियाली मनाए ।

यस्तो किनभने पीएसजी त्यस फाइनलमा पराजित हुनुको अर्थ हो, मार्से त्यस्तो एक्लो फ्रान्सेली टिम रहनेछ, जसले च्याम्पियन्स लिग जितेको छ । सन् १९९३ मा मार्सेले एसी मिलानलाई हराएर यो उपाधि जितेको थियो । एक से एक खेलाडी किनेर पनि, आफूले सक्दोभन्दा बढी खर्च गरेर पनि पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । कतार स्पोर्ट्स इन्भेस्टमेन्टले क्लब किनेयता यसलाई युरोपको च्याम्पियन बनाउन के मात्र गरेन, तर कहिले पनि सफलता हात परेन ।

सन् २०११ मा कतारीहरूले पीएसजी किनेका थिए र त्यसयता मन खुलेर खर्च गरिरहेका छन् । यस पटकको सिजनमा पनि पीएसजी खालि अन्तिम १६ मै रोकियो । फेरि एकपल्ट उसलाई बायर्नले माथ खुवायो । यस्तै पृष्ठभूमिमा पीएसजीले फेरि एकपल्ट फ्रान्सको माथिल्लो डिभिजन जित्छ भने त्यसमा खासै मज्जा नै के रह्यो र ? जित्न सकेन भनेचाहिँ त्यो प्रलय समान हुनेछ । यी सबै पृष्ठभूमिबीच फेरि एकपल्ट एमबाप्पे चर्चामा छन् ।

उनले अर्को सिजनका लागि के गर्नेछन्, सबैमा त्यसमा चासो छ । लगातारको च्याम्पियन्स लिगको असफलतापछि पीएसजीले पनि आफ्नो नीति परिवर्तन गर्न लागेको छ । त्यो भनेको कतार स्पोर्ट्स इन्भेस्टमेन्ट नै भयो । त्यो नीतिअनुसार आउने सिजनका लागि पीएसजीले एमबाप्पेलाई केन्द्रमा राखेर युवा टिम बनाउँदै छ, जसमा सम्भवतः मेसी र नेयमर हुने छैनन् । कम्तीमा मेसी त हुने छैनन् नै । पीएसजीको अबको नीति हो, फ्रान्सेली युवा खेलाडीको उत्पादन गर्ने र त्यसकै मदतले बलियो टिम बनाउने ।

यसअघि जस्तो नाम चलेका खेलाडी किनेर मात्र टिम बलियो नबनाउने । यसका लागि पीएसजीले एमबाप्पेलाई फकाइरहेको छ । सबैलाई थाहा छ, नेयमर विश्व फुटबलका अबका सबैभन्दा ठूला स्टार हुन् । मेसी र क्रिस्टियानो रोनाल्डोपछि अबका सबैभन्दा ठूलो नाम यी नै त हुन् । एमबाप्पे अहिले भर्खर २४ वर्षका भए । उनका सामु प्रचुर सम्भावना कायम छन् । यत्तिको उमेरमै उनले विश्वकपको दुई संस्करणका फाइनल खेलिसकेका छन् ।

त्यसमध्ये रुसमा भएको विश्वकपमा त उनी विजेता नै रहे, कतारमा मात्र अर्जेन्टिनापछि दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो । मेसी र रोनाल्डोको युग सकिएपछि सबैको ध्यान उनमै हुनेछ । सुरुमा उनी मोनाकोको खेलाडी थिए, सन् २०१७–१८ मा पहिलो पल्ट पीएसजी गए । त्यति बेला उनी ऋणमा त्यता गएका थिए । त्यसको एक वर्षपछि उनले पीएसजीसँग स्थायी अनुबन्ध नै गरे । त्यसयता उनले पीएसजीका लागि १ सय २९ गोल गरिसकेका छन् ।

उनी पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बनिसके । उनलाई फ्रान्समा रहेको विविधताबीच एकताको प्रतीकका रूपमा पनि लिने गरिन्छ । उनी आधुनिक फ्रान्सका अनुहार हुन् । फेरि उनी मेसीको फुटबलका प्रशंसक पनि होइनन् उनका लागि अर्जेन्टिनी सहकर्मी विश्वकै उत्कृष्ट खेलाडी होइनन् । उनलाई मेसीभन्दा रोनाल्डो नै मन पर्छ । सानोमा उनी आफ्नो कोठाको भित्ता भरी रोनाल्डोकै तस्बिर राख्थे ।

अनि उनी जिनेदिन जिदानलाई पनि उत्तिकै मन पराउँछन् । जिदानपछि फ्रान्सले पाएको सबैभन्दा राम्रा खेलाडी एमबाप्पे नै हुन् । तर उनले अहिलेसम्म फ्रान्सबाहिर क्लब फुटबल खेलेका छैनन् । फ्रान्समै रहने हो भने उनको हैसियत मेसी र रोनाल्डो जत्तिको नहुने भन्नेहरू पनि छन् । युरोपका तीन लिग त इंग्लिस प्रिमियर लिग, इटालीको सिरी ‘ए’ र स्पेनको ला लिगा नै भए । त्यसपछि बल्ल जर्मनीको बुंडेसलिगा आउँछ । अनि मात्रै फ्रान्सेली लिग–वान ।

फ्रान्सको यो माथिल्लो डिभिजनको लिगलाई खासै उम्दा नभएको आरोप लगाउनको पनि संख्या पनि कम्ती छैन । यही जमातले भन्छ, अबको सिजन एमबाप्पेले अन्यत्र जानैपर्छ । उसलाई सुहाउने क्लब धेरै अर्थमा स्पेनमा छ, विशेषतः रियल म्याड्रिड । अथवा इंग्ल्यान्डका कुनै ठूला क्लब । पोहोर सिजनै एमबाप्पेलाई रियलले लगभग किनिसकेको थियो, तर अन्त्यमा आएर कहाँनिर के भयो, कसैले थाहै पाएनन् । गत सिजननै उनले पीएसजीसँग नयाँ अनुबन्ध पनि गरे र यो सन् २०२५ सम्म कायम रहनेछ ।

एमबाप्पेलाई पीएसजी छाडेर अन्यत्रा जान उक्साइरहेका सबैभन्दा अगाडि छन्, फ्रान्सकै पुराना खेलाडी इमानुल पेटी । उनी भन्छन्, ‘एमबाप्पे १७ वर्षको उमेरदेखि नै स्टार खेलाडी छन् । फ्रान्समा उनले आफूले सक्दो सबै कीर्तिमान आफ्नो नाममा बनाइसके । तर उनले च्याम्पियन्स लिग जित्न सकेका छैनन् । विश्वकै उत्कृष्ट खेलाडी हुन् र बेलन डे’अर उपाधि जित्न एमबाप्पेले च्याम्पियन्स लिग जित्नैपर्छ ।’ सायद पीएसजीले अबका सिजन च्याम्पियन्स लिग जित्नेमा पेटीलाई पनि शंका छ ।

उनी के पनि मान्छन् भने पोहोर सिजन जे जस्तो भए पनि एमबाप्पे आउने भयो भने रियलले आफ्नो ढोका सधैंका लागि खुल्ला राख्ने नै छ । फेरि रियल भनेको च्याम्पियन्स लिगको राजा हो । यो च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन मात्र होइन, यो जत्तिको च्याम्पियन्स लिगमा सफल क्लब अरू कुनै छैन । त्यसैले रियल एमबाप्पेबीच मिलन हुनु नै पर्छ भन्नेहरू धेरै छन् । त्यसैले फुटबलको यो सिजन सकिँदा सबैभन्दा ठूलो प्रश्न हुनेछ, के एमबाप्पेले पीएसजी छाड्ने छन् त ?

प्रकाशित : वैशाख २०, २०८० ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?