कतार विश्वकपपछि विश्व फुटबलमा एउटा नयाँ युग सुरु भएको मानिन्छ । त्यो के अर्थमा भने विश्वकपपछि लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको अध्याय सकिएको छ । अबको फुटबल भनेको त्यसपछिको पुस्ताको हो । अबका ठूला स्टार भनेका कि त केयलिन एमबापे हुन्, होइन भने इर्लिङ हालान्ड ।
काठमाडौँ — ठूला खेलाडीको ठूलै कुरा । नर्वेजियन इर्लिङ हालान्ड यस्तै खेलाडी हुन् । उनीबारे भर्खर एउटा नयाँ तथ्य बाहिर आएको छ । त्यसअनुसार उनी चौबिसै घण्टा निगरानीमा रहेछन् । उनले के खान्छन्, कसरी खान्छन्, कता जान्छन्, कसरी जान्छन्, कोसँग जान्छन्, अनि के गर्छन्, ती सबै प्रत्येक पलपलको जानकारी म्यानचेस्टर सिटी लिइरहेको हुन्छ ।
किन त ? इंग्लिस प्रिमियर लिग क्लब सिटीका व्यवस्थापक पेप ग्वार्डिओला भन्छन्, ‘उनी अमूल्य छन्, उनलाई निगरानीमा नराखे कसलाई राख्ने त ?’
स्ट्राइकर हालान्ड किन अमूल्य भए त ? उनी सिजनको सुरुमा ५ करोड १० लाख पाउन्डमा सिटी आएका थिए । आएदेखि गोल गरेको गर्यै छन् । इंग्लिस प्रिमियर लिगमा सिटीले लेस्टर सिटीविरुद्ध प्राप्त पछिल्लो जितमा उनले दुई गोल गरे । यससँगै यो सिजन उनले गरेको गोल संख्या ४७ पुगेको छ । त्यसमध्ये प्रिमियर लिगमा मात्र उनको गोल संख्या कीर्तिमान ३२ पुगेको छ । यी सबै कीर्तिमान नै हुन् । यसअघि यति तीव्र गतिले गोल कसैले गरेकै थिएन ।
त्यसमाथि यस सिजनका खेल अझै धेरै बाँकी छन् । यस्तोमा प्रश्न हो, हालान्डले सिजनको अन्त्यमा कति धेरै गोल गर्ने होलान् ? यस प्रश्नसँगै अर्को प्रश्न पनि जोडिएर आउँछ । यस सिजन सिटीले कति ट्रफी जित्ने छन् त ? यही प्रश्नको उत्तरसँगै जोडिने त हो, हालान्ड । सिटीलाई धेरैभन्दा धेरै जित्न हालान्ड चाहिन्छ । उनको शरीर वास्तवमा निकै ठूलो छ । उचाइ नै ६ फिट ५ इन्च ।
यस्तो शरीरको खेलाडी समय समयमा घाइते भइरहन्छ । पोहोर सिजन चोटले उनलाई दुःख दिएको थियो । त्यति बेला उनी बोरुसिया डर्टमुन्डमा थिए । चोटकै कारण धेरै खेल खेल्न पाएनन् । सिटी आएयता पनि समय समयमा चोट बोकिसके । धन्न यो ठूलो भने भएको छैन । ‘हो, यसैले गर्दा उनी निगरानीमा छन्,’ ग्वार्डिओला थप्छन् । फेरि अचेलको फुटबलले खेलाडीसँग निकै माग्छ । दुई दिन बिराएर जस्तो खेल्नुपर्छ । यी सबै खेलमा हालान्डलाई ‘फिट एन्ड फाइन’ राख्नकै लागि हो, उनी सूक्ष्म निगरानीमा रहेको ।
सिटीको तीन उपाधिमा चुनौती बाँकी छ । लेस्टरलाई हराएयता प्रिमियर लिगको अंक तालिकामा सिटीले शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब पनि सिर्जना गरेको छ । अब त यी दुई टिमबीचको दूरी भनेको खालि चार अंक मात्रै हो । अनि ‘सिटी भर्सेस आर्सनल’ को खेल त बाँकी छ, अझ त्यो पनि सिटीको घर इतिहादमा । युरोपेली च्याम्पियन्स लिगमा सिटी क्वाटरफाइनल पुगेको छ । त्यसको पनि पहिलो लेगमा सिटीले बायर्न म्युनिकलाई ३–० ले हराइसकेको छ, त्यसैले सेमिफाइनल प्रवेश लगभग तय छ ।
एफए कपमा भने सिटी सेमिफाइनल पुगिसकेको छ, त्यसमा उसले सेफिल्ड युनाइटेडको सामना गर्नेछ । त्यसमा पनि सिटी नै विजयी रहने अपेक्षा गर्न सकिन्छ । निचोड के हो भन्दा सिटी उपाधिको ‘ट्रेबल’ लाई पछ्याइरहेको छ । ग्वार्डिओला भन्छन्, ‘हामी सबै चाहन्छौं, हालान्डले गोलको कीर्तिमान बनाओस् । सबै गोलको कीर्तिमान उनकै नाममा होस् । उनले धेरै गोल गर्नु भनेको हामीले धेरै जित्नु पनि हो । उनी पनि सिटी आएयता धेरै उपाधि जित्न चाहन्छन् ।’
हालान्डले ४७ गोलका लागि ४० खेल खेलेका छन् । प्रिमियर लिगमा सर्वाधिक गोलको कीर्तिमान एलान सिएरर र एन्डी कोलको नाममा छन् । उनीहरूले एकै सिजन ३४ गोल गरेका थिए । हालान्डले जुन गतिले गोल गरिरहेका छन्, त्यसलाई उछिन्नै पटक्कै गाह्रो हुने छैन । हालान्डमा त्यस्तो के छ त ? उनी भर्खर २२ मात्र भए । सन् २००० मै त हो, जन्मिएका । अर्को एक दशकभन्दा बढी समय उनले मज्जाले खेल्न सक्नेछन् । लामो रेसको घोडा पो त हुन्, उनी ।
हाल्यान्डको खेलमा गति त छ नै, त्यो गतिलाई सुहाउँदो नियन्त्रण पनि छ । प्राविधिक रूपमा उनी वास्तवमै अब्बल छन् । खासमा उनी फुटबल खेल्नैका लागि जन्मेका हुन् । उनको शरीर जत्तिकै ठूलो भए पनि त्यो खुबै लचक छ । लाग्छ, उनको शरीरमा हड्डी नै छैन । उनको त्यति धेरै लचक शरीर चोटग्रस्त हुने सम्भावना त हुन्छ नै, तर त्यसको फाइदा पनि त असाध्यै छ । उनी जुनसुकै स्थितिमा पनि गोल गर्न सक्षम छन्, नपत्याए, उनले गरेको गोल हेरे पुग्छ ।
सानोमा छँदा उनी फुटबल मात्र होइन, अरू थोक पनि खेल्थे । उनी ह्यान्डबल र गल्फ त खेल्थे नै, हाइजम्पमा पनि राम्रै दखलता राख्ने । इंग्ल्यान्डको लिड्समा जन्मेका थिए । त्यति बेला उनका बुबा एल्फाई हालान्ड लिड्स युनाइटेडका लागि खेलिरहेका थिए । बुबा हालान्ड आफ्नो देश नर्वे फर्केपछि उनलाई पनि त्यतातिरै जानु थियो । उनीहरू ब्राने सरे, छोरा हाल्यान्डले त्यहींको क्लबबाट खेले । त्यति बेलाको उनीबारे एउटा वृत्तचित्र तयार गरिएको छ र यो खुबै रोचक पनि छ ।
सानोमै हालान्डको शरीर ठूलो थियो, त्यसैले उनलाई धेरै खानुपर्थ्यो । धेरै पनि कस्तो भन्दा अति नै धेरै धेरै । ब्राने क्लबमा रहेको क्यान्टिनमा जसले खाना पकाउँथे, उनी हालान्डका लागि मीठो–मीठो खान पकाउँथे । हालान्डको बानी पनि कस्तो भने खुबै स्वाद लिएर खानुपर्ने । उनको व्यक्तित्व नै कस्तो भने जे गरे पनि धेरै गर्नुपर्ने । उनी सानोमा खाना मात्र धेरै खाँदैन थिए, गोल पनि खाएजत्तिकै गर्थे । सिटीका लागि उनले अहिले जसरी गोल गरिरहेका छन्, त्यसको एउटा कारण यही व्यक्तित्वको विशेषता पनि हो ।
कतारमा भएको विश्वकपपछि विश्व फुटबलमा एउटा नयाँ युग सुरु भएको मानिन्छ । त्यो के अर्थमा भन्दा यो विश्वकपसँगै लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको अध्याय सकिएको छ । अबको फुटबल भनेको त्यसपछिको पुस्ता हो । अबका ठूला स्टार भनेका कि त केयलिन एमबापे हुन्, होइन भने हालान्ड । एमबापेले आफ्नो देश फ्रान्सका लागि धेरै जिते । तर क्लबका लागि कमै जितेका छन् । त्यो भनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) भयो ।
हालान्डले भने आफ्नो देशका लागि केही पनि जितेका छैनन् । नर्वे त कतारमा भएको विश्वकपका लागि छनोटसम्म पनि भएन । तर उनले क्लब फुटबलमा धेरैथोक जितेका छन् । अझ ठ्याक्कै भन्दा सिटीका लागि धेरैभन्दा धेरै जित्न सक्नेछन् । हाल्यान्डको अर्को विशेषता भन्नु नै यही हो । ग्वार्डिओलाजस्ता प्रशिक्षक उनको प्रशंसा गरेर थाक्दैनन् । उनी भन्छन् पनि, ‘हालान्ड त मेसी र रोनाल्डोजत्तिकै खेलाडी हुन् ।’ फुटबल प्रेमीको काम भनेको अब हालान्डको गोलमा रमाउनु हो ।
