चोटमुक्त हुने अवसर

चोटबाट मुक्ति पाए पनि लामो लकडाउनका कारण घरमै रहेकाले कोरोना महामारीपछिको परिस्थितिमा पुरानो लय समात्न धेरै मिहिनेत गर्नुपर्ने राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरीले बुझेकी छन् ।
कुशल तिमल्सिना

काठमाडौँ — कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सुरक्षित रहन लकडाउन लागू भएको दुई महिना पुगिसकेको छ । यसले घरेलु खेलकुद गतिविधि ठप्प छ । 

चोटमुक्त हुने अवसर

खेलाडीहरू घरमै क्वारेन्टाइनमा छन् र सहज परिस्थितिको प्रतीक्षामा छन् । सकारात्मक रूपमा सोच्दा लकडाउनले केही खेलाडीलाई भने चोटमुक्त हुने अवसर दिएको छ । पर्याप्त आराम पाएपछि उनीहरू खेलमा फर्कन तयार देखिएका छन् ।

फागुन १० मा म्याग्दीको बेनीमा आयोजित दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको फाइनल खेल्नेक्रममा एपीएफ क्लबकी सरस्वती चौधरीले दायाँ गोलीगाँठाको चोट बोकिन् । लिगामेन्टमा सामान्य चोट लागेकाले उनलाई चिकित्सकले कम्तीमा एक महिना पूर्ण आराम र त्यसपछि अवस्था हेरेर खेलमा फर्कन सुझाएका थिए ।

‘ल्यान्डिङ बिग्रिएपछि खुट्टामा चोट लागेको थियो । काठमाडौं आएर परीक्षण गराएपछि खुट्टामा ब्यान्डेज लगाएर एक महिना आराम गरें । सामान्य अभ्यास सुरु थालेको थिएँ लकडाउन भइहाल्यो,’ घरमै आराम गरिरहेकी उनले कान्तिपुरसँग भनिन्, ‘पर्याप्त आराम पाएँ ।’

चोटका कारण पर्याप्त फिटनेस गर्न नसकेकी उनलाई घरमा समय बिताउन कठिन भएको छ । उनी राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य स्पाइकर पनि हुन् ।

परिस्थिति सहज भइदिएको भए उनले चैत महिनामै आफ्नै विभागको आईजीपी कप राष्ट्रिय भलिबल र वैशाखमा शेरबहादुर स्मृति प्रतिष्ठानको राष्ट्रिय महिला भलिबल खेल्नुपर्ने थियो । खुट्टाको चोट निको हुने समय पाए पनि सरस्वतीलाई भलिबल कोर्ट ‘मिस’ भइरहन्छ ।

‘सुरुमा एक साताको लकडाउन भनिएको थियो । रिकभरीलाई समय पाएँ भन्ने लागेको थियो । तर यति लामो समयसम्म लकडाउन हुन्छ भन्ने सोचेकी थिइनँ,’ घरमै बसेर खुट्टाको थेरापीसँगै सामान्य फिटनेस गरिरहेकी सरस्वतीले भनिन्, ‘खेल्न नसके पनि कोर्टमा गएर टिमसँग सामान्य अभ्यास गर्न सक्थें । लगातार प्रशिक्षण र प्रतियोगिता खेलिरहनुपर्ने हामीलाई तीन महिनादेखि घरमै रहनुपर्दा गाह्रो नहुने त कुरै भएन रु’

खेल गतिविधि नभए पनि एपीएफका टिममेट तथा प्रशिक्षकसँग आफू नियमित सम्पर्कमा रहेको उनले सुनाइन् । ‘सबैले घरमा बसेर फिटनेसको अभ्यास गरिरहेका छन् । पूरै विश्व प्रभावित रहेका बेला कोरोना संक्रमणबाट बच्न अर्को विकल्प पनि त छैन । त्यसमाथि स्वास्थ्यभन्दा ठूलो करिअर होइन,’ उनले भनिन् ।

चोटमुक्त भएसँगै लामो लकडाउनका कारण घरमै रहेकाले कोरोना महामारीपछिको परिस्थितिमा पुरानो लय समात्न धेरै मिहिनेत गर्नुपर्ने सरस्वतीले बुझेकी छन् । ‘लकडाउन हुनुभन्दा महिना दिन अघिदेखि नै म कोर्टबाहिरै छु । अझै कति समय यसरी बस्नुपर्ने हो थाहा छैन । यसले हामीलाई पुरानै लयमा फर्कन धेरै समय लाग्नेछ,’ उनले थपिन्, ‘शारीरिक रूपमा पुरानै अवस्थामा आउन एक महिना लाग्छ र कोर्टमा अर्को दुई महिना लाग्नसक्छ । हामीलाई पुरानै स्थितिबाट भलिबल खेल्न तीन महिनाभन्दा बढी लाग्नसक्छ । लकडाउन लम्बिने अवस्थाले यसको निर्धारण गर्नेछ ।’

चैत ११ गते लकडाउन हुनुअघि दुई महिनाको बीचमा महिला भलिबलका तीन खेलाडी एकपछि अर्को प्रतियोगितामा चोटग्रस्त भए । काठमाडौंमा आयोजित राष्ट्रिय क्लब च्याम्पियसिपमा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा मालीको घुँडामा चोट लाग्यो । राष्ट्रिय टोलीकी प्रमुख स्पाइकर उनी पनि शल्यक्रियापछि आराम गर्दैछिन् । प्रतिभा ९ महिनादेखि १ वर्षसम्म कोर्टबाहिर रहने आकलन गरिएको छ । राष्ट्रिय टोलीकी पूर्वकप्तान तथा एपीएफ टिमकी कप्तान विनीता बुढाथोकी पनि चोटपछि उपचाररत छिन् । उनलाई नेपालगन्जमा आयोजित प्रधानमन्त्री कप महिला भलिबलका क्रममा चोट लागेको थियो । एकपछि अर्को खेलाडी चोटग्रस्त हुँदा खेलाडीको बिमा गर्नुपर्ने आवाज पनि बुलन्द भएको छ ।

सरस्वतीले पनि नियमनकारी निकायले नै हरेक प्रतियोगितामा खेलाडीको बिमा गर्नुपर्ने नियम ल्याउनुपर्ने माग गरिन् । ‘राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र नेपाल भलिबल संघले पनि बिमाबिनाको प्रतियोगितालाई मान्यता नदिने हो भने हामीले खेल्ने थिएनौं,’ उनले भनिन्, ‘सबै खेलाडीको बिमा गर्न सकिँदैन भने कम्तीमा राष्ट्रिय टोलीका खेलाडीको बिमा गरिदिए हामीले सुरक्षित महसुस गर्ने थियौं ।’

राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले हरेक प्रतियोगितामा खेलाडी बिमा अनिवार्य गर्नुपर्ने बताइरहेका छन् । चोटको सम्भावना अधिक भएका केही प्रतियोगितामा यो नियम लागू गरिए पनि सबैमा कार्यान्वयन गरिएको छैन ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?