कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना त्रासले नेपाली खेलकुद पनि प्रभावित भएको छ । विश्व क्रिकेट स्टारहरूको जमघट हुने भएकाले निकै चासोका साथ हेरिएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिता बिहीबार स्थगित गरिएको छ ।

कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित

निर्धारित तालिकाअनुसार नेपालको तीनमध्ये एक यस फ्रेन्चाइज लिग क्रिकेट चैत १ देखि १५ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय थियो । आयोजक एभरेस्ट प्रिमियर लिग प्रालिले त्रासको अवस्थामा प्रतियोगिता गराउनु जोखिम हुने भएकाले स्थगित गर्नुपरेको जनाएको छ ।


६ फ्रेन्चाइज टिम प्रतिस्पर्धी रहेको ईपीएलले धेरै कहलिएका विदेशी खेलाडीलाई आकर्षित गरेको थियो ।


वेस्ट–इन्डिजका हस्ती क्रिस गेलसहित ड्वाने स्मिथ, केसरिक विलियम्स, श्रीलंकाका उपुल थाराङ्गा, जीवन मेन्डिस, मिलिन्दा श्रीबर्द्धना, पाकिस्तानका हसन खान, मीर हम्जा, हमद अजाम, न्युजिल्यान्डका कोरे एन्डरसन र जेम्स फुलर, आयरल्यान्डका पाउल स्टर्लिङ, केभिन ओ’ब्राइन, स्कटल्यान्डका जर्ज मुन्सी, सिंगापुरका टिम डेविड, ओमानका विलाल खानलगायत खेलाडीले ईपीएलमा खेल्ने निश्चित भइसकेको थियो । अन्य केही स्टार ईपीएल आएर खेल्ने घोषणा हुने क्रममा थियो ।


ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रतियोगिता हाललाई स्थगित गर्नु विवेकपूर्ण निर्णय भएको बताए । ‘निश्चय पनि हाललाई ईपीएल स्थगित गर्ने निर्णय सुनाउनुपर्दा हामी दुखित छौं । हामीले नेपाली र विदेशी खेलाडीका साथै प्रशंसकको स्वास्थ्यस्थिति पनि ख्याल गर्नुपर्ने हुन्छ,’ ईपीएल स्थगित गरिएकोबारे आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले अहिलेलाई यो स्थगित गरेका हौं, अहिलेको अवस्था समाधान भएपछि सम्भव भएको उपयुक्त मितिमा ईपीएल आयोजना हुनेछ र त्यसमा घोषणा गरिएको लगभग सबै विदेशी खेलाडीसहित अन्य धेरै नाम चलेका खेलाडी आएर खेल्न सक्ने सम्भावना छ ।’


ईपीएलको तयारीका लागि भैरहवा ग्लाडियटर्सले गृहनगर भैरहवामा तीन दिनअघिदेखि प्रशिक्षण क्याम्प राखेर ट्यालेन्ट हन्ट सुरु गरिसकेको थियो । अर्को टोली पोखरा राइनोजले शुक्रबारदेखि पोखरामा तयारी सुरु गर्ने क्रममा थियो । टोलीका प्रशिक्षक दीपेन्द्र चौधरीका अनुसार ईपीएलको निर्णयसँगै सबै स्थगित गरिएको छ । पोखराले शुक्रबार ट्यालेन्ट हन्ट गर्ने कार्यक्रम राखेको थियो । ईपीएलको नियमानुसार हरेक टोलीमा सम्बन्धित फ्रेन्चाइज टोलीको क्षेत्रको एक खेलाडी र चार विदेशी खेलाडी राख्नुपर्छ । मार्की खेलाडीबाहेक अन्य खेलाडीको छनोट अक्सनबाट गरिएको थियो ।


अख्तरले गृह मन्त्रालय, फ्रेन्चाइज टोलीहरू, नेपाल क्रिकेट संघ, प्रायोजक र अन्य सरोकारवालासँग परामर्श गरेर यो निर्णय गरिएको बताए । नेपाल सरकारले कोरोना भाइरसबाट बच्न भीडभाडमा नबस्नु र नगराउनू भनेकाले ईपीएल हाललाई स्थगित गर्नुपरेको जनाइएको छ । हालको स्थिति आफूहरूको वशमा नभएकाले यो निर्णय गर्नुपरेको उनी बताउँछन् । आईसीसीलाई स्थगितबारे जानकारी गराइसकिएको ईपीएलले जनाएको छ ।


गेलसहित नेपालका सन्दीप लामिछाने ईपीएलका केही खेलहरू खेलेर इन्डियन प्रिमियर लिग खेल्न जाने तालिका थियो । आयोजकले ईपीएलको अर्को मिति घोषणा गरेको छैन । आईपीएल मार्च २४ देखि मे २४ सम्म आयोजना हुँदै छ ।


सबै प्रतियोगिता रोक्नू’

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले अब हुन लागेका सबै खेलकुद प्रतियोगिता रोक्न निर्देशन दिएको छ । राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमलगायत भीडभाड हुने स्थलमा संक्रमण हुन सक्ने संवेदनशील स्थलका रूपमा लिइएको हुँदा परिषद् र त्यसअन्तर्गत सञ्चालन गरिने अत्यधिक भीडभाड हुने सबै किसिमका खेलकुद प्रतियोगिता र कार्यक्रमहरू अर्को सूचना प्रकाशित नहुँदा सम्भव भएसम्म स्थगित गर्न निर्देशन दिएका छन् ।


भोजपुरको पौवादुङमा गाउँपालिकाले पनि यस्तै निर्णय गरेपछि भोजपुर ट्रेल रेस बिहीबार स्थगित गरिएको छ । विश्व अल्ट्रा रनर समावेश भोजपुर ट्रेल रेस शनिबार र आइतबार हुने कार्यक्रम थियो । त्यस्तै बुटवलमा चैत १ देखि हुन लागेको तिलोत्तमा गोल्डकप फुटबल पनि स्थगित गरिएको छ । शनिबारदेखि राजधानीमा हुने चौथो खुला पारा भारोत्तोलन पनि कोरोनाकै कारण स्थगित गरिएको छ । कैलालीमा बुधबार सुरु हुनुपर्ने दोस्रो सुदूरपश्चिम राजधानी कप फुटबल पनि स्थगित गरिएको आयोजकले जनाएको छ ।


यसैबीच कोरोनाकै कारण फिफा र एएफसीले आसन्न विश्वकप र एसियन कप छनोटका खेलहरू स्थगित गर्ने निर्णय गरेका छन् । यसबाट नेपालले घरेलु मैदानमा अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्ने तालिका प्रभावित बनेको छ ।



प्रकाशित : फाल्गुन २२, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?