टेकुको आइसोलेसन वार्डबाट भागेका बिरामी विराटनगरमा 'ट्र्याक' [अपडेट]
काठमाडौँ — कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र्याकिङ गर्दा विराटनगरमा फेला परेको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।
उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको छ । डा. राजभण्डारीका अनुसार ती बिरामीलाई प्रतिष्ठानको आइसोलेसन वार्ड राख्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, अब उपरान्त आइसोलेसन वार्डमा नेपाल प्रहरीका साथै मनोवैज्ञानिक परामर्शदातालाई पनि खटाइने भएको छ ।
ती बिरामी कोरियाबाट आएर बुधबार अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए ।
चारै जनामा कोरोनाको परीक्षण बिहीबार गराइने अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले बताएका थिए ।
कोरोनाको आशंकामा ३ नेपाली र एक फ्रेन्च अस्पताल भर्ना
तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्काइटिस जस्तो देखिएको थियो । बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना शंकास्पद बिरामी भर्ना भएका छन् ।
मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो ।
प्रकाशित : फाल्गुन २२, २०७६ १३:४५