लन्डन — विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) संक्रमण बेलायत मा पनि बढ्दै गएपछि सरकारले सम्भावित महामारीबाट बच्नका लागि तयारी तीव्र पारेको छ । सरकारले थप सतर्क रहन जनमानसमा अपिल गर्दै एउटा प्रमुख जनस्वास्थ्य अभियान सुरु गरिएको छ । उक्त अभियानमा सर्वसाधारणलाई कम्तीमा २० सेकेन्ड निरन्तर मिचेर हात धुन अपिल गरिएको छ ।
स्वास्थ्यमन्त्री म्याट ह्यानककले संक्रमणबाट बच्न नियमित हात धुनु महत्वपूर्ण हुने बताए । स्वास्थ्यमन्त्री ह्यानककले कोरोनाको रोकथामबारे छलफल गर्न बुधबार लन्डनमा आपत्कालीन बैठक बोलाएका थिए ।
पब्लिक हेल्थ इंग्ल्याण्डले साबुन र पानी नभए कम्तीमा ६० प्रतिशत अल्कोहल रहेको ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न सुझाएको छ । सार्वजनिक यातायात चढेपछि हात धुन विशेष महत्वपूर्ण हुने भएकाले यसमा चनाखो रहन पब्लिक हेल्थले अपिल गरेको छ ।
बिहीबार बिहानसम्म बेलायतमा संक्रमितको संख्या ८७ पुगेको छ । बीबीसीका अनुसार, ८० जना इंग्ल्याण्ड, ३ जना स्कटल्याण्ड, एकजना वेल्स् र ३ जना उत्तरी आयरल्याण्डमा संक्रमित भएका हुन् । तर, इंग्ल्याण्डमा ३ जनामा कसरी कोरोना भाइरस संक्रमण भयो स्पष्ट भएको छैन ।
यूके चिफ मेडिकल अड्भाइजर प्रोफेसर क्रिस ह्वीटीले संक्रमितमध्ये ३६ जना अति प्रभावित देशहरुको हालै भ्रमण गरी फर्किएका वा अरुबाट संक्रमण भएको हुन सक्ने बताए ।
प्रधानमन्त्री बोरिस जोनसनले आपतकालीन कानुन लागू गरेका छन् । जसअनुसार कामदारहरुलाई बिरामी भएको चौथो दिनपछि मात्र तलब दिनुपर्ने कानुनी प्रावधान रहेकामा अब पहिलो दिनदेखि नै तलब दिनु पर्नेछ । यसको अर्थ बिरामी भएका कामदारलाई रोजगारदाताले हप्तामा ४० पाउन्ड थप दिनु पर्नेछ ।
हाउस अफ् कमन्स्मा बोल्दै प्रधानमन्त्री जोनसनले भाइरसको संक्रमण हुन नदिन आफैंलाई अलग राख्ने मानिसहरुलाई दण्डित गर्न नहुने बताए । सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनी फ्लुका कारण विश्वका करिब ५० करोड मानिसमा महामारी भएको दृष्टान्त ध्यान राख्दै कोरोना भाइरसको सम्भाव्य जोखिमका लागि बेलायतले तयारी गरिरहेको पनि प्रधानमन्त्री जोनसनले बताएका छन् ।
महामारीको डरले बेलायतीहरु उच्च सतर्कतामा छन् भने कतिपयले केही समयका लागि लत्ताकपडा र खाद्यान्नको जोहो गरिरहेका छन् ।
बेलायतमा मास्क र हयाण्ड स्यानिटाइजरको अभाव भइसकेको छ । बेलायतमा हालसम्म १६ हजार ६ सय ५९ जनाले कोरोना भाइरसको परीक्षण गराएका छन् जसमध्ये १६ हजार ५७४ जनामा नेगेटिभ पाइएको छ ।
विश्वभर कोभिड–१९ बाट करिब ९५ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३ हजार २ सयभन्दा बढीको ज्यान गइसकेको छ । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तबाट यो भाइरस फैलिएको थियो ।
