काठमाडौं-१ मा एमाले र नेकपासहित २६ उम्मेदवारको जमानत जफत  

नेपाल जनसेवा पार्टीबाट जुत्ता चुनाव चिह्नसहित उम्मेदवार बनेका अर्जुन शाहीले पाए शून्य मत 

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Deposits of 26 candidates, including UML and NCP, confiscated in Kathmandu-1

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना न्यौपानेले निकटतम प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतान्तरले जित हात पारेकी छन् । उनले १५ हजार ४सय ५५ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाएका छन् ।  

राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ४८ हजार ४ सय ८९ मतदाता थिए । तीमध्ये करिब २८ हजार मत खसेको थियो । १० प्रतिशत ल्याउने उम्मेदवारले २ हजार ८ सय मत ल्याउनुपर्ने थियो । नेकपा एमालेका उम्मेदवारसहित अन्य २६ उम्मेदवारको जमानत जफत हुने भएको छ । 

एमाले उम्मेदवार मोहनराज रेग्मी १ हजार  ६ सय १८ मत पाएका थिए । उनी र उनीपछिका सबै उम्मेदवारको जमानत जफत हुने देखिएको छ । उज्यालो नेपाल पार्टीका मोहनराज रेग्मी,श्रम संस्कृति पार्टीका समिर तामाङ लामा, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीसहित जमानत जफत हुने देखिन्छ । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ।  

काठमाडौं-१ मा  नेपाल जनसेवा पार्टीवाट निर्वाचनमा भाग लिएका अर्जुनबहादुर शाही शून्य मत पाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले १५ हजार ४ सय ५५ मत पाएर जित हात पार्दा नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् ।  राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् । 

सबैभन्दा कम मत प्राप्त गर्नेमा अर्जुनबहादुर शाही छन् जसले शून्य मत प्राप्त गरेका छन् । राजु भुजेल, शान्ति श्रेष्ठ, संगीत बम्मले एक मत मात्र प्राप्त गरेका छन् । राजकुमार लिम्बु, कमल सुवेदी, किरण शाह र  रमेशप्रसाद जोशीले २ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका-२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दस प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । प्रतिनिधिसभा सदस्य बन्न चाहने व्यक्तिले १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । 

२०७९ मा देशभर एमाले र कांग्रेसका १/१ उम्मेदवारको जमानत जफत भएको थियो । त्यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रका २ उम्मेदवारको जमानत जफत भएको थियो । यस पटक धेरै स्थानमा अग्रता बनाएको रास्वपाका ८२ उम्मेदवारको जमानत जफत भएको थियो । 

प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully