दुर्गम क्षेत्रका केही मतदान केन्द्रहरूमा भने मतदाताको न्यून उपस्थिति
काठमाडौँ — हिमाल, पहाड र मधेशमा उत्साहजनक मतदान भइरहेको छ । पर्यवेक्षकहरू र स्थानीय अगुवाहरूले कान्तिपुरसँग टेलिफोनमा गरेको कुराकानीमा मधेश र सहरी इलाकामा उत्साजनक मतदान भएको आफूहरूले पाएको बताएका हुन् ।
पहाडी र हिमाली दुर्गम क्षेत्रका केही मतदान केन्द्रमा भने विगतका निर्वाचनजस्तै दृश्य देखिएको निर्वाचन पर्यवेक्षक र स्थानीय अगुवाहरूले जनाएका छन् । पर्यवेक्षकहरूले सुरक्षा व्यवस्था चुस्त भएकाले मतदाताले ढुक्कसँग मतदान गरिरहेको जनाए ।
हिमाली जिल्ला जुम्ला सदरमुकाम वरिपरि पर्यवेक्षण गरिरहेका पर्यवेक्षक मुनबहादुर रावतले मतदाताहरू उत्साहका साथ मतदानमा भाग लिइरहेको बताए ।
‘मैले गएका निर्वाचनभन्दा उत्साहका साथ मतदान भइरहेको पाएँ’ उनले टेलिफोनमा ईकान्तिपुरसँग भने, ‘दिउँसोसम्म हामीले पर्यवेक्षण गरेका मतदान केन्द्रमा करिब २० प्रतिशत मत खसेको पाइयो ।’
मुस्ताङको वारागुङ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विनोद गुरुङले चुसाङमा दिउँसोसम्म करिब ५० प्रतिशत मत खसिसकेको टेलिफोनमा जानकारी दिएका छन् । ‘यो वडामा छ सय मतदाता छन् । आधा जतिले दिउँसोसम्म मतदान गरिसकेका छन् । टाढाका मतदाताहरू पनि आउनेक्रम जारी छ,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण भइरहेको जनाए ।
उनले शान्तिपूर्ण रूपमा मतदान भइरहेकाले मतदाता ढुक्क देखिएको जनाए । पर्सामा निर्वाचन केन्द्रहरुको पर्यवेक्षण गरिरहेका शिवनाथ यादबले बिहीबार मध्यान्हसम्म मतदाताहरु उत्साहका साथ मतदानमा सहभागी भइरहेकामे आफूले अवलोकनका क्रममा पाएको बताए ।
उनले दिउँसोसम्म एक दर्जन मतदान केन्द्रको पर्यवेक्षण गरेको उल्लेख छ । ‘पर्साका मतदान केन्द्रमा महिला र पुरुषको लामो लाइन देखिएको छ,’ उनले भने, ‘एक दर्जन मतदान केन्द्रको अवलोकन गर्दा मतदातामा उत्साह देखिएको छ ।’
सिरहा एक, दुई र तीन निर्वाचन क्षेत्रका २५ निर्वाचन केन्द्रको पर्यवेक्षण गरिसकेका निर्वाचन पर्यवेक्षक विमल ठाकुरले विगतभन्दा शान्तिपूर्ण र उत्साहजनक तरिकाले मतदान भइरहेको आफूले पाएको बताए । पर्यवेक्षण गर्दै गोलबजार निर्वाचन केन्द्रमा पुगेका बेला उनले यो निर्वाचनमा महिलाहरुको झन् उत्साहजनक सहभागिता भएको बताए ।
‘सिरहाका मतदान केन्द्रमा बिहानदेखि दिउँसोसम्म उत्साहजनक मतदान भइरहेको छ । यसपटक विगतभन्दा महिलाहरु सहभागिता बढी देखियो,’ उनले भने, ‘विगतका निर्वाचनमा महिलाको संख्या कम देखिन्थ्यो ।’
पोखरा महानगरमा निर्वाचन पर्यवेक्षण गरिरहेका प्रेम सापकोटाले विगतजस्तै अनुपातमा आफूले मतदान भइरहेको आफूले पाएको बताए । ‘पोखराका मतदान केन्द्रमा विगतका निर्वाचनजस्तै ट्रेन्डमा मतदान भइरहेको देखियो,’ उनले सुरक्षा व्यवस्था भने चुस्त रहेको बताए, ‘निर्वाचन केन्द्रको सुरक्षा व्यवस्था चुस्त देखियो ।’
बाँकेका निर्वाचन पर्यवेक्षक टेकराज जैशीले ६ वटा मतदान केन्द्रको अवलोकन गर्दा मतदाता उत्साहित भएको आफूले पाएको जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका ११ र २० वडाका मतदान केन्द्रमा मतदानका दिउँसोसम्म लामोलाइन देखेको उनले बताए । ‘मैले पर्यवेक्षण गरेको केन्द्रमा मतदाता उत्साहित देखिन्थे । मत हाल्न लामो लाइन थियो,’ उनले भने, ‘उत्साहजनक मतदान भएको थियो ।’
धनगढी उपमहानगरपालिका १८ ‘ई’ गाउँका नागरिक अगुवा रमेश बस्नेतले आफ्नो मतदान केन्द्रमा विगतको तुलनामा दिउँसो १२ बजेसम्म कम मतदान भएको जानकारी दिए । पुराना राजनीतिक दलका कार्यकर्ता पनि मतदातालाई उत्साहित गर्न जाँगर नदेखाएको आफूले पाएको बताए । ‘२०७९ मा दिउँसोसम्म ३० प्रतिशत मत खसेको थियो । आज जम्मा १० प्रतिशतसम्म खसेको थियो,’ उनले भने ।
धादिङ बेनिघाट रोराङ-७, चरौदीको बुद्धि विकास माविको मतदान केन्द्रमा उत्साजनक रुपमा मतदान भएको पाएको अभियन्ता नवीन सिलवालले बताए । ‘बिहानैदेखि लामो लाइन छ । मतदाताहरूमा किन भोट हाल्ने ? भनेर घर बसेको पाइएन,’ उनले भने ।
डोटी पूर्वीचौकी गाउँपालिका-३ चैकोटका स्थानीय अगुवा भरत बोहराले आफ्नो मतदान केन्द्रमा ५ सय ५२ मतदाता भएकोमा दिउँसोसम्म ८५ मात्र मत खसेका बताए । ‘मान्छेहरू बाहिरबाट मत हाल्न एकदम कम आए । त्यसैले कम मत खस्ने देखिएको छ,’ उनले भने, ‘डोटीका अन्य मतदान केन्द्रमा पनि मतदानको ट्रेन्ड फरक पाएको छैन ।’
