डोल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्यो

उपल्लो डोल्पाका २३ मतदान केन्द्रमा ५० प्रतिशतभन्दा कम मत खस्यो

फाल्गुन २१, २०८२

रामचन्द्र न्यौपाने

Elections held peacefully in Dolpa, 66.16 percent voter turnout

डोल्पा — हिमाली जिल्ला डोल्पामा उत्साहपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ। बिहीबार जिल्लाभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको हो।

स्थायी र अस्थायी गरेर कुल ७० वटा मतदान केन्द्र भएको डोल्पामा स्वच्छ, मर्यादित एवं शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्। उनका अनुसार डोल्पामा कुल ६६.१६ प्रतिशत मत खसेको छ।

मुचुल्का उठाउँदासम्म केही थपघट हुन सक्ने प्रजिअ हमालको भनाइ छ। संख्यात्मक हिसाबमा भन्नुपर्दा १५ हजार ९ सय ५६ मत खसेको उनले बताइन्। कुल मतदाता २४ हजार १ सय १५ रहेको डोल्पामा ८ हजार १ सय ५९ मत भने खसेनन्।

विशेष गरेर उपल्लो डोल्पाका २३ मतदान केन्द्रमा ५० प्रतिशतभन्दा कम मत खसेको बताइएको छ। हिमपातका कारण उपल्लो डोल्पाका धेरैजसो मतदाता नआएका कारण कम मत खसेको हो। अहिले मुचुल्का उठाउने काम भइरहेको बताइएको छ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully