मतगणना कार्य शुक्रबार बिहान १० बजेबाट सुरू हुने
लमजुङ — हिमाली जिल्ला मनाङमा मतदान सकिएसंगै मतपेटिका संकलन सुरू भएको छ । मतगणनास्थल सदरमुकाम चामेस्थित कृषि तथा पशु विकास कार्यालय पशु सेवा शाखा (साविकको भेटरिनरी अस्पताल) मा मतपेटिका संकलन कार्य सुरू भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए ।
उनका अनुसार गाडीबाट ल्याउने सबै मतपेटिका बिहीबार राति साढे ८ बजेसम्म मतगणना स्थल ल्याइसक्नेछन् । नार्पाभूमि गाउँपालिकाको मतदान केन्द्र २ दिन लाग्ने बाटो भएकोले हेलिकप्टरमार्फत ल्याइने उनले बताए ।
उनका अनुसार बिहीबार मतपेटिका ल्याउनको लागि समय अभाव भयो र मौसम पनि राम्रो संग खुलेन । शुक्रबार बिहानै हेलिकप्टर मतपेटिका लिन जाने र बिहान १० बजेदेखि मतगणना सुरु गरिने उनले जानकारी दिए ।
मनाङमा ४३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा कम मत खसेको छ । कूल ७ हजार मतदाता रहेको मनाङमा ३ हजार २१ मत खसेको प्रारम्भिक रिपोर्ट छ ।
सिंगो नार्पाभूमि गाउँपालिकामा ४ सय ८८ मतदाता रहेकोमा १ सय २१ मत अर्थात २४ दशमलव ७९ प्रतिशत मत खसेको छ । मनाङमा एउटा अस्थायीसहित २९ मतदानस्थलमा २९ मतदान केन्द्र छन् । ४ वटा गाउँपालिका रहेको मनाङमा २८ वटै वडामा वडैपिच्चे मतदान केन्द्र छन् ।
मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ मतदाता छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निवाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनको तुलानामा यसपटक २ सय २१ मतदाता थपिएका थिए ।
