नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले सोमबार विज्ञप्ति जारी गर्दै शेखर कोइरालालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
विराटनगर — मोरङ-६ मा तीन राजनीतिक दलका उम्मेदवारहरूले प्रत्यक्ष प्रतिस्पर्धाबाट पछि हट्दै कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई सघाउने निर्णय गरेका छन् । यो निर्णयसँगै चुनावी समीकरण रोचक बनेको छ ।
नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ कोइरालालाई समर्थन गर्ने निर्णय गरेका हुन् । उनीहरूले लोकतान्त्रिक मूल्य र वर्तमान राजनीतिक सन्दर्भलाई ध्यानमा राख्दै यस्तो कदम चालेको जनाएका छन् ।
तीन दलका उम्मेदवारहरूले प्रत्यक्षतर्फ कोइरालाको पक्षमा उभिने तर समानुपातिकतर्फ भने आफ्नै दललाई मत दिन कार्यकर्ता र समर्थकलाई आह्वान गरेका छन् । यसअघि यही क्षेत्रका एमाले उम्मेदवार विनोद ढकाललाई उज्यालो नेपालका उम्मेदवार वसन्त बुढाथोकीले सघाउने निर्णय गरेका थिए ।
