के भन्छन् काठमाडौं क्षेत्र नम्बर–५ का मतदाता ?

क्षेत्र नम्बर–५ का मतदाताले कस्ता उम्मेदवार चाहेका छन् ? घरदैलो कार्यक्रममा उम्मेदवारहरुले उक्त क्षेत्रको लागि के–के गर्ने आश्वासन दिए ? मतदाता के चाहन्छन् ?

फाल्गुन १८, २०८२

आरती पौडेल

What do voters of Kathmandu Constituency No. 5 say?

What you should know

काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ३ दिन बाँकी छ । देशभर चुनाव माहोल तातिरहेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवारहरु अहिले आफ्ना लागि भोट माग्न घरदैलोमै निकै व्यस्त देखिन्छन् । 

हरेक चोक, पार्क, गल्ली–गल्लीमा साथै जहाँ मतदाताको भीड देख्छन् । त्यहाँ विभिन्न शैलीबाट  उम्मेदवारहरुले भोट मागिरहेका देखिन्छन् । 

क्षेत्र नम्बर–५ का मतदाताले कस्ता उम्मेदवार चाहेका छन् ? घरदैलो कार्यक्रममा उम्मेदवारहरुले उक्त क्षेत्रको लागि के–के गर्ने आश्वासन दिए ? मतदाता देशमा कस्तो विकास चाहन्छन् ? उनीहरु चुनाव नजिकिँदै गर्दा कत्तिको उत्साहित छन् ? आफ्नो क्षेत्रमा के–के समस्या छन् ? कान्तिपुरले केही प्रतिनिधि पात्रसँग कुराकानी गरेको छ । 

उम्मेदवारहरुले सदनमा आफ्ना कुरा राख्ने मात्र नभएर सहर विकास गर्न तल्लित हुने वाचासमेत गरेको मतदाताहरु बताउँछन् । 

टोखा–३ बानियाँटार घर भएका भोलाप्रसाद चौधरी क्षेत्र नम्बर–५ का मतदाता हुन् । उनी चुनाव आउँदा उत्साहित भएको बताउँछन् । अहिलेसम्म ३ पटक मतदान गरेको बताउने चौधरी आफ्नो क्षेत्रबाट निर्वाचित हुने उम्मेदवार बुझेको होस् साथै देशको लागि आफ्ना विचार प्रष्ट राख्न सक्ने होस् भन्ने चाहन्छन् । उनी भन्छन्, ‘राजनीति के हो बुझेको हुनुपर्‍यो । उम्मेदवारले त्यहाँ आएर थोडी न विकास गर्ने हुन् र ? तर देशको हरेक समस्याका बारेमा आवाज उठाउन सक्ने उम्मेदवार हुनुपर्छ जस्तो लाग्छ ।’ आफ्नो क्षेत्रमा उम्मेदवार आएर जितेपछि यो यो काम गर्छु भन्दा आफूलाई अचम्म लाग्ने गरेको उनी बताउँछन् । भन्छन्, ‘जितेर गएका उम्मेदवारहरुले त कानुन बनाउने, सदनमा देशमा भएका समस्या राख्ने हुन्,’ उनले भने,‘तर हामीलाई यो गर्छु त्यो गर्छु भन्छन् । हामी मतदाताले केही पनि बुझेका छैनौ जस्तो गर्न भएन ।’

चौधरी पेसाले पलम्बरको काम गर्छन् । अहिलेसम्म उनी पार्टी हेरेर भन्दा पनि विचार हेरेर आफूले  मतदान गर्ने गरेको बताउँछन् । भन्छन्,‘म यो फलानो पार्टीमा विश्वास गर्छु भन्ने लाग्दैन । भोट कस्लाई गर्ने भनेर उम्मेदवारका बारेमा सुरुमा उनीहरुको विचार सुनेर, एजेन्डा पढेर मात्र भोट दिने सोचमा छु ।’ भोला जुन पार्टीले जितेपनि देश विकास प्रेमी साथै राजनितिमा पूर्णरुपले बुझेको आओस् भन्ने चाहन्छन् । 

...

टोखा–३ साइबाबा चोकैमा घर भएकी बाटुला पाठक ५२ वर्षकी भइन् । पाठक आफ्नो किराना पसलमा निकै व्यस्त देखिन्थिन् । उनी १० वर्षदेखि व्यवसाय गर्दै आइरहेको सुनाइन् । बाटुला क्षेत्र नम्बर–५ की मतदाता हुन् । चुनावको माहोल निकै उत्साहजनक रहेको उनले सुनाइन् । अहिलेको चुनावले धेरै आशाहरु पलाएको पाठक बताउँछिन् । 

घरदैलो कार्यक्रममा क्षेत्र नम्बर–५ लाई सुविधा सम्पन्न बनाउने उम्मेदवारहरुले वाचा गरेको पाठकले सुनाइन् । भन्छिन्,‘उम्मेदवारहरुले जितेपछि आफूले गरेका वाचाहरु पूरा गरेर देखाउन पर्‍यो । बाटो, खानेपानी, बिमा सुविधाको राम्रो व्यवस्ता गर्नुपर्‍यो । यो गर्छौँ भनेर भनेका छन् । हेरौँ हामीले चाहेको पनि मुख्य यही हो ।’ उम्मेदवार कस्तो हुनुपर्छ ? भनि सोधेको प्रश्नमा पाठक भन्छिन्,‘पढे लेखेको शिक्षित हुनुपर्छ । युवापुस्ताको इच्छा, चाहानालाई बुझेर देश विकास गर्न सक्ने उम्मेदवार अहिलेको समयमा खाँचो छ,’ उनले भनिन्,‘स्वाभिमानी, जनताका कुरा सुन्ने, बुझ्ने, समस्या हल गर्न सक्ने, कानुन निर्माण गर्न सक्ने मुख्य उम्मेदवारमा हुनुपर्ने गुण हो ।’ पाठकले जुन पार्टीले जितेपनि देशमा बस्न सक्ने वातावरण आवश्यक रहेको सुनाइन् । भनिन्,‘हाम्रा छोराछोरी उज्वल भविष्यको लागि पराईको देश जान नपरोस् अवसर आफ्नै देशमा पाउनुपर्‍यो ।’

...

 

धेरै मतदातालाई आफ्नै देशमा रोजगार सिर्जना होस् । युवाहरु बिदेसिन बाध्य नहुनु परोस् भन्ने चाहन्छन् ।  

आफ्नो घर छेउको बारीका काम गर्दै बेला भेटिएकी रुपा गुरुङ पनि क्षेत्र नम्बर–५ की मतदाता हुन् । उनी ४५ वर्षकी भइन् । आफ्नो क्षेत्रमा उम्मेदवारहरु भोट माग्न आइसकेको गुरुङले सुनाइन् ।

‘हरेक दिन बिहानमा पार्कमा व्यायाम गर्न जाँदा त्यहाँ पनि विभिन्न पार्टीबाट उठेका उम्मेदवारहरु हामीलाई भोट भन्दै आउँछन् । दिउँसो घरमा पनि त्यसरी नै पार्टीका उम्मेदवारहरु भोटको लागि आउँछन्,’ उनले भनिन्,‘पुराना नयाँ सबैले हामीले यो यो काम गर्छौं भनेर आशा देखाउँछन् ।’

रुपा जुन पार्टीले जिते पनि देशमा शान्ति छाउनुपर्छ भन्ने चाहन्छिन् । रुपाको पनि एउटा आशा भनेको देशमै केही गर्ने वातावरण सिर्जना होस् भन्ने नै हो । उनी भन्छिन्,‘मेरो श्रीमान् परिवार पाल्नकै लागि हामी बिहे गरेपछि बिदेसिनु भएको हो । अहिलेसम्म पनि अर्काको देशमा दुःख गर्दै हुनुहुन्छ । कसैलाई आफ्नो परिवार, देश छोडेर अर्काको देशमा दुःख गर्न मन लाग्दैन,’ उनले भनिन्,‘नेपालमा सोचेजस्तो काम नपाएर नै विदेश जानुपर्ने बाध्यता सिर्जना भएको हो । अब मेरा छोराछोरी देशमै भविष्य देखुन् । उनीहरुले पढ्न, आफ्ना सपना पूरा गर्न अर्काको देशमा जान नपरोस् ।’ रुपालाई तपाईँको क्षेत्रमा समस्या के छ जस्तो लाग्छ ? भनी सोधेको प्रश्नमा उनले आफ्नो क्षेत्रमा के समस्या छ भनेर एकैछिन् सोचिन् । अनि भनिन्,‘पहिला कच्ची रोड थियो, तर अहिले बाटो पिच भएको छ । पानी साथै फोहोरको गाडी पनि समयमै आउँछ । खासै समस्या यो छ भन्ने त केही छैन ।’ आफ्नो दोस्रो भोट रहेको बताउने रुपा शिक्षा, स्वास्थ्य, रोजगारमा सरकारले निकै ध्यान दिएर सबै राम्रो व्यवस्था गरोस् भन्ने चाहन्छिन् । 

...

त्यसरी नै धापासी घर भएकी साबित्री बराल क्षेत्र नम्बर-५ की मतदाता हुन् । उनी पनि चुनावलाई लिएर आफू उत्साहित भएको सुनाइन् । बराल पनि जुन पार्टीले बहुमत ल्याएर जितेपनि आफ्ना नातिनातिना आफ्नै देशमा काम गर्न सक्ने वातावरण बनोस् भन्ने चाहन्छिन् । भन्छिन्,‘हाम्रो त बुढेसकाल लाग्यो । अब हाम्रा नातिनातिनाले देशमै काम गरेर परिवारसँग खुसीका साथ बस्न पाउन् । आमाबा नेपाल छोरोछोरी विदेश त्यसरी बस्न नपरोस् ।’ आफूलाई नयाँ पुस्ता देश छोडेर बिदेसिँदा निकै दुःख लाग्ने गरेको बराल सुनाउँछिन् । बराल पनि देशमा शान्ति छोओस् । युवाले देशमै काम गर्ने वातावरण सिर्जना होस् भन्ने उनी चाहन्छिन् । 

...

त्यसरी नै टोखागेटमा घर भएकी मिना डंगोल पनि व्यवसाय गर्छिन् । ४५ वर्षीया मिना आफ्नै घरमा किराना पसल साथै मसला पिस्ने गरेको सुनाइन् । उनी उम्मेदवारहरु भोट माग्न आइसकेको सुनाइन् । भन्छिन्,‘पहिला पहिलाको चुनाव भन्दा अहिले धेरै उम्मेदवारहरु उठेका रहेछन् भन्ने महसुस भएको छ । हामी यो पार्टी भन्दै दिन दिनै फरक फरक उम्मेदवार आउँछन् ।’ उनी पनि युवाहरु देशमै केही गर्न सक्ने हुन् भन्ने चाहन्छिन् । भन्छिन्,‘मेरो एउटा मात्र सन्तान छ । प्लस टु पढेर सक्ने बित्तिकै विदेश पढ्न जान्छु भनेको थियो । हामीले ब्याचलर सकेर जौ भनेर रोक्यौँ । युवाहरु बिदेसिने लहर देखेर मन दुख्छ । देश विकास होस् र नेपालमै सोचेजस्तो जागिर होस् भन्ने चाहना छ ।’

डंगोलको भनाइमा विकास भनेको अबका युवालाई नेपालमै बस्न सक्ने स्थिति निर्माण होस् भन्ने रहेको सुनाइन् । ‘टोखा धार्मिक, सांस्कृतिक सबै कुराले भरिपूर्ण छ । यसलाई जस्ले जितेपनि व्यवस्थित बनाउनुपर्छ,’ उनी भन्छिन्,‘टोखामा भएका चाकु उद्योगहरुलाई पनि व्यवस्थित तरीकाले चलाएर अन्तर्राष्ट्रिय रुपमा बेच्न सक्ने बनाउनुपर्छ ।’

...

कोही मतदाता भने देशमा शान्ति छाउनु नै आफ्नो क्षेत्र साथै देशको मुख्य विकास रहेको सुनाउँछन् । 

बेलुकाको ७ बजेको थियो । काठमाडौं ग्रीनल्यान्ड घर भएका झम्कनाथ बराल तरकारी किनेर घर जाने क्रममा ग्रीनल्यान्ड चोकमै भेटिए । क्षेत्रनम्बर– ५ का मतदाता रहेको बताउने बराल चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीका उम्मेदवारहरु घरदैलो गरिसकेको बताए । उनले सुनाए,‘चुनाव नजिकिएर पनि होला । हरेक दिन फरक फरक पार्टीका उम्मेदवारहरु भोट माग्न आइरहेका छन् ।’

बरालले आफ्नो क्षेत्रमा खासै केही समस्या नरहेको बताए । भने,‘यो क्षेत्रमा यो ठूलो समस्या छ भन्ने त खासै केही छैन । समस्याको समाधान गर्ने काम नगरपालिकाको हो । उम्मेदवारले आएर गर्ने कुरो पनि हैन ।’

बराल आफ्नो क्षेत्रमात्र बनेर नहुने बताउँछन् । ‘यस्तो उम्मेदवारहरु आउनुपर्छ जसले नीति, नियम बुझेको होस् । जो देश विकास गर्छु भनेर बोलीले मात्र नभएर अठोटका साथ आएको होस् । मैले यहाँबाट जितेर गए त्यहीँ केही गर्छु भनेर मात्र आश्वासन देखाएर हुँदैन,’ उनले भने । 

पहिला जति विकास हुनुपर्ने हो त्यति नभएको बराललाई लाग्छ । ‘देशमा पहिला विकास हुँदै नभएको होइन, तर जति हुन पर्ने हो त्यो नभएकै हो,’ उनले भने,‘जो आएपनि देशको अवस्था बिग्रनु हुँदैन । देशमा शान्ति छाउनुपर्छ । स्थायित्व होस् । हामी सबैको इच्छा चाहना त्यही हो । विकास भन्ने कुरा शान्ति सुव्यवस्था भएपछि आफैं हुने कुरा हो ।’

...

निर्वाचनलाई लिएर यहाँका युवाहरुमा पनि निकै उत्साह देखिन्छ । 

त्यसैमध्येका एक हुन्- काठमाडौं बुढानीलकण्ठ घर भएका २६ वर्षीय सुशील कार्की । सुशील चुनाव नजिकिँदै गर्दा निकै उत्साहित भएको बताउँछन् । भन्छन्,‘मैले पहिलो पटक भोट हाल्दै भएर पनि होला । म निकै खुसी छु ।’ सुशील अहिले आफ्नो क्षेत्रमा उम्मेदवारहरुको ठूलो प्रतिस्पर्धा रहेको सोच्छन् । आफ्नो क्षेत्रमा ठूला समस्या भन्दा पनि साना साना समस्या रहेको तर त्यसको समाधान गर्नुपर्ने कार्की बताउँछन् ।

भन्छन्,‘राजधानी भएर पनि होला अरु ठाउँमा जस्ता समस्या नै समस्या काठमाडौंमा छन् जस्तो मलाई लाग्दैन,’ उनले भने,‘तर मन्दिर व्यवस्थापन, फोहोर व्यवस्थापन, बाटोको छेउछेउमा पाइपलाइन, बत्तीको तारहरुको लागि बाटो खनेर काम पूरै नगरिकन यसै छोड्न गरेको देखिन्छ । खाल्टाखुल्टी यत्तिकै छोडेको हुनाले दुर्घटनाहरु भएको देखिन्छ । यस्तो समस्याहरु पनि समाधान गर्न पर्यो ।’ सुशील राजनीतिमा चासो नहुँदा पनि अहिले कसले जित्ला, देशमा अब के होला ? भन्ने कौतुहलता भएको बताउँछन् । उनको इच्छा जुन पार्टीले जितेपनि विकास होस् भन्ने रहेको सुनाए । भन्छन्,‘हामीजस्ता युवाहरु आफ्नो भविष्य आफ्नै देशमा देख्न पाउँ । अर्काको देशमा आफ्नो भविष्य देख्न नपरोस् । युवा आफ्नै देशमा रोजगार, व्यवसाय गर्न सक्ने वातावरणको सिर्जना होस्,’ उनले भने,‘जुन सरकार बनेपनि युवाले आफ्नै देशमा सपना देख्न सक्ने हुन् । कुनै युवाले अर्काको देशमा गएर कमाउने, घरपरिवार पाल्ने जबर्जस्ती सपना देख्न नपरोस् ।’

...

यी क्षेत्रकै अर्की मतदाता शिखा तामाङ चुनाव आएपछि फरक खालको उत्साह छाउने बताउँछिन् । भन्छिन्,‘जसरी चाडपर्व आउँदा रमाइलो छाउँछ । त्यसरी नै चुनाव भनेपछि त्यत्तिकै रमाइलो माहोल हुन्छ,’ उनले भनिन्,‘फर्केर कहिल्यै नआउाने उम्मेदवारहरु पनि टोल टोलमा भोट माग्न आउँछन् । फलानोले जितेपछि राम्रो गर्थ्यो कि भन्ने आशा लाग्छ ।’

पहिला र अहिलेमा चुनावी माहोल निकै परिर्वतन भएको शिखाले सुनाइन् । भन्छिन्,‘पुराना चुनावमा भाषण, र घरदैलोमा मात्र सीमित हुन्थ्थो । अहिले त बिहानै विभिन्न पार्टीबाट हामीलाई भोट दिनुपर्छ है भनेर फोन आउन थालेको छ ।’ 

जसको सरकार बने पनि कर घटाउनुपर्ने उनी बताँछिन् । भन्छिन्,‘आम्दानी भन्दा खर्च बेसी हुन्छ । जे कुरामा पनि कर घटाएर अरु समस्याको पनि समाधान गर्नुपर्छ ।’ आफ्नो क्षेत्रमा खासै ठूलो अन्य समस्या नदेखेको बताउने शिखा फोहोर व्यवस्थापनमा कमजोरी हुँदा निकै रिस उठ्ने गरेको सुनाइन् । भन्छिन्,‘फोहोरको गाडी नआउँदै मान्छेहरुले बाटैभरि लगेर फोहोर थुपार्छन् । यो पनि समाधान हुनुपर्छ,’ उनले भनिन्,‘यो स्थानीय निकाएको काम हो भन्ने थाहा छ, तर जति भनेपनि हुँदैन । यसमा पनि उम्मेदवारहरुले आवाज उठाउनुपर्छ जस्तो लाग्छ ।’ शिखा आफ्नो क्षेत्रको उम्मेदवारहरुको कडा प्रतिस्पर्धा हुने समेत सुनाइन् । 

...

त्यसरी नै टोखागेट छेउ घर भएकी ३२ वर्षीय सबिना डंगोल आफ्नै ब्युटी पार्लर चलाइरहेकी छन् । उनी आफूलाई राजनीतिको बारेमा खासै केही थाहा नभएको सुनाउँछिन् । चुनावको बारेमा टिकटक, फेसबुकमा समाचार हेर्ने गरेको ढंगोल बताउँछिन् । 

उनी जुन पार्टीको सरकार बनेपनि महँगी घटोस् भन्ने चाहन्छिन् । भन्छिन्,‘जुन सामान पनि महँगीले छोइसक्नु छैन । जितेको उम्मेदवारले होइन कि जुन सरकार बन्छ त्यसले महँगी हटाउनुपर्‍यो ।’ 

आफ्नो क्षेत्रमा खासै समस्या नरहेको तर एक समस्याले कतै जानुभन्दा पहिला निकै धेरै तनाव हुने गरेको सुनाइन् । भन्छिन्,‘यो जितेको उम्मेदवारले गर्ने काम हो कि होइन । त्यो त थाहा भएन तर कतै हिँड्दा टोखाबाट भनेको समयमा माइक्रो बस पाइँदैन,’ उनले भनिन्,‘धेरैबेर कुरेर माइक्रो आएपनि उभ्भिएर हिँड्न पर्छ कहिल्यै सिट पाइँदैन । यातायात व्यवस्थित हुनुपर्‍यो । यो कुरा हल गर्नुपर्ने विषय हो ।’

काठमाडौं–५ बाट पत्यक्षतर्फ विभिन्न पार्टी साथै स्वतन्त्र उम्मेदवार गरी २५ जना उम्मेदवारहरु रहेका छन् । जसमा नेपाली कांग्रेसबाट प्रदीप पौडेल छन् । त्यसरी नै नेकपा एमालेबाट ईश्वर पोखरेल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सस्मित पोखरेल उम्मेदवार रहेका छन् भने गतिशील पार्टीबाट निशा अधिकारी छन् । त्यसरी नै उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ, नेपाल कम्युनिस्ट पार्टीबाट कल्पना शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल थापा, जनता समाजवादी पार्टीबाट दानिन्द्र जोशीलगायत अन्य उम्मेदवारहरु उठेका छन् । 

यस क्षेत्रबाट गत निर्वाचनमा नेपाली कांग्रेसका प्रदीप पौडेलले जितेका थिए । उक्त क्षेत्रमा अहिले भने उम्मेदवारहरुमा ठूलो प्रतिस्पर्धा हुने सम्भावना रहेको मतदाताहरु बताउँछन् । 

काठमाडौं– ५ मा काठमाडौं महानगरपालिकाका ४ वटा वडा जसमा २, ३, ४, र ५ साथै बुढानिलकण्ठ नगरपालालिकाको ५ वटा वडा जसमा  ३,४, ५, ६, र ७ त्यसरी नै टोखा नगरपालिकाका ६ वटा वडा जसमा २, ३, ४, ५, ६ र  ७ वटा गरी जम्मा १५ वटा वडा रहेका छन् । 

क्षेत्र नम्बर–५ का २०८२ को मतदाता कुल संख्या हेर्ने हो भने, महिलातर्फ ४० हजार ८ सय ३२ रहेका छन् भने पुरुष मतदाता ३७ हजार २ सय ७८ जना रहेका छन् । साथै,अन्यमा ४ जना गरी ७८ हजार १ सय १४ जना मतदाताहरु रहेका छन् । 

आरती पौडेल

Link copied successfully