एमालेले मत ‘सर्वेक्षणका नाममा जनमत प्रभावित पार्ने प्रयास’ भएको आरोप समेत लगाएको छ ।
What you should know
काठमाडौँ — एमालेले मधेस, तराईका विभिन्न जिल्लामा निषेधाज्ञा, कर्फ्यू जारी गरिरहँदा आममतदाता तथा सर्वसाधारणले भयरहित वातावरणमा मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित हुनसक्ने चिन्ता व्यक्त गर्दै भयरहित चुनावका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई आग्रह गरेको छ । एमाले प्रेस संयोजक मिनबहादुर शाहीले विज्ञप्ति जरी गरी २१ फागुनमा निष्पक्ष र भयरहित निर्वाचन हुने अवस्था सृजना गर्न सरकारलाई आग्रह गरेको हो ।
‘निर्वाचन प्रचारका लागि निर्धारण गरिएको अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरूले आमसभा, भेला र सार्वजनिक संवादमार्फत आफ्ना विचार, एजेन्डा प्रस्तुत गर्न पाउनु लोकतान्त्रिक अभ्यासको आधारभूत मूल्य/मान्यता हो,’ उनले भनेका छन्, ‘तर निषेधाज्ञा, कर्फ्यूले ती अभ्यासलाई पूर्णतः अवरोध गर्छ । सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र होइन, लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रश्न उठाएको छ ।’
एमालेले मत ‘सर्वेक्षणका नाममा जनमत प्रभावित पार्ने प्रयास’ भएको आरोप समेत लगाएको छ । ‘यो संवेदनशील अवस्थामा मत सर्वेक्षणका नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ,’ शाहीले भनेका छन्, ‘सार्वजनिक खपतका लागि सार्वजनिक गरिने यस्ताखाले प्रायोजित एकपक्षीय तथ्यांकबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ । यी कार्यबाट निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमन, स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता गुमेको छ ।’
उनले निर्वाचन प्रक्रियामा मुलुक अघि बढिरहेको बेला सम्बन्धित निकाय, सञ्चारमाध्यमले प्रचलित कानुनी व्यवस्था, व्यावसायिक आचारसंहिता, उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ । ‘अतः यो संगीन घडीमा सन्तुलित तथ्यपरक सामग्री प्रस्तुत गरी मुलुक र जनताप्रति उत्तरदायी, जवाफदेही हुन सबै सरोकारवाला पक्षहरूलाई एमाले आहृवान गर्दछ’ एमालेको भनाइ छ ।
