उम्मेदवारको प्रतिबद्धताप्रति विश्वस्त छैनन् दार्माका भूकम्पपीडित 

चुनावी प्रचारमा दार्मा पुगेका पार्टीका नेता तथा उम्मेदवारले घर पुनर्निर्माणमा सघाउने वाचा त गरेका छन् तर भूकम्पपीडित भने विश्वस्त छैनन् ।

फाल्गुन १२, २०८२

विप्लव महर्जन

Earthquake victims in Darma are not confident in the candidate's commitment

What you should know

सल्यान — जाजरकोटको रामीडाँडा केन्द्र भएर १७ कार्तिक २०८० शुक्रबार राति गएको भूकम्पले सल्यान दार्मा गाउँपालिका–५ काउलाबोटका लालबहादुर खत्रीको दुई तले घर भत्कियो । ८ लाख खर्चेर बनाएको घर भत्किएपछि केही महिना उनी त्रिपालमा बसे । सरकारले तत्काल राहतस्वरुप अस्थायी टहरा बनाउन उनलाई ५० हजार उपलब्ध गरायो । त्यसयता सरकारले थप राहत उपलब्ध गराउने र क्षति भएको घर पुनर्निर्माणमा बेवास्ता गरेपछि उनी आफैले २ लाख ४५ हजार खर्च गरेर २ कोठे घर बनाएका छन् । 

भूकम्पले दुईतले घर क्षति भएका काफलनेटाका जगत खड्काले पनि अहिलेसम्म सरकारबाट तत्काल राहतस्वरुप पाउनले ५० हजारमध्ये २५ हजारभन्दा बढी पाउन सकेका छैनन् । क्षति भएको घर सरकारले पुणर्निर्माण गरिदिने भने पनि अहिलेसम्म कुनै चासो नदेखाएपछि तीनजनाको परिवारसहित उनी टिनले बारेको टहरोमा बस्दै आएका छन् ।  

दार्मा गाउँपालिकाको ६ वडामा दुई बर्षअघि गएको भुकम्पले ४ हजार ८१ घरमा क्षति पुर्‍याएको थियो । त्यतिबेला सरकारले गरेको निर्णयअनुसार अहिलेसम्म पालिकाका २ हजार ३ सय ८८ ले मात्र घर पुनर्निर्माणका लागि पहिलो किस्ता बापतको २५ हजार मात्र पाएका छन् भने अन्यले कुनै राहत पाउन सकेका छैनन् । सरकारले बेवास्ता गरेपछि निरास भएका भूकम्पपीडितहरूले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारमा गएका उम्मेदवारसँग घर पुणर्निर्माणमा सहयोग पुर्‍याउन माग गरेका छन् । बारम्बार पहल गर्दै आए पनि सम्बन्धित निकायले कुनै चासो नदिएपछि चुनावी प्रचारमा हिँडेका उमेदवारसँग माग गरेका हुन् । 

दार्माका भुकम्पपीडित अहिले पनि चर्किएकै घर मर्मत गरेर र केही टहरोमा बस्दै आएका छन् । क्षति पुगेको घर पुनर्निर्माणमा पहल गर्ने भन्दै गाउँ पुगेका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । चुनावी प्रचारमा गएका पार्टीका नेता तथा उम्मेदवारले क्षति भएको घर पुनर्निर्माणमा सघाउने वाचा त गरेका छन् तर भूकम्पपीडित भने विश्वस्त छैनन् । 

दार्मा गाउँपालिका–४ गलातका भद्रबहादुर चन्दले सरकारले सल्यानका भूकम्पपीडितलाई उपेक्षा गरेको आरोप लगाए । क्षति पुगेको घर पुनर्निर्माणको लगत संकलन गरे पनि घर बन्नेमा विश्वस्त नभएको उनले जानकारी गराए । ‘सरकारले तत्काल राहतको लागि टहरो बनाउन ५० हजार दिने भनेपछि ऋण काँढेर टहरो बनाए । जम्मा २५ हजार मात्र दियो । उल्टै १५ हजार ऋण लाग्यो । सरकारले बेवास्ता गरेकै कारण चुनावी प्रचारमा आएका नेतासँग माग गर्नु परेको हो,’ उनले भने, ‘पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला दार्माको फारुला आएर घर पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । तर केही गरेनन् । त्यहि भएर अहिलेका उम्मेदवारले पनि माग पूरा गर्लान् भन्ने नलागेको हो ।’ 

दार्मा गाउँपालिका–५ का वडासदस्य निमबहादुर खड्काले पहिले सरकारमा पुगेका नेताले केही नगरेका कारण अब आउने नयाँ केही गर्छन् की भन्ने आस लागेको बताए । यहाँ कयौं भूकम्पपीडित अहिले पनि अस्थायी टहरो र भत्किएकै घर मर्मत गरी बस्दै आएको उनले बताए । 

भूकम्पले आफ्नो वडाका ७ सय घरमध्ये २ सय ५० भन्दाबढी घरमा क्षति पुगेको थियो । क्षतिग्रस्त घरमै बस्न बाध्यहरू भएकाहरूमा विभिन्न जोखिम बढ्दै गएको दार्मा गाउँपालिका–२ का वडाध्यक्ष सार्कु खत्रीले बताए । ‘वडाका सबैले आफ्नै लगानी गरेर घर बनाउन सक्दैनन् । सरकारले आशा मात्रै देखायो, भूकम्प गएको दुई वर्ष बितिसक्दा राहत समेत उपलब्ध गराउन सकेन । चुनाव जितेर गएकाले केही गर्छन् की भनेर सबैले माग राखेका हुन,’ उनले भने ।  पीडितले माग राख्नु स्वाभाविक रहेको उनको भनाइ छ । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully