चुनावका लागि घर फर्किन थाले जुम्लाबासी

सर्वसाधारण घर फर्किएसँगै गाउँमा चुनावी चहलपहल बढ्दै गएको छ । उम्मेदवारहरूले पनि घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

फाल्गुन ११, २०८२

डीबी बुढा

Jumla residents begin returning home for elections

What you should know

जुम्ला — दसैंतिहार मानेलगत्तै रोजगारीका लागि जिल्लाबाट बाहिरिएका सर्वसाधारण घर फर्किन थालेका छन् । उनीहरू २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धमाधम घर फर्किन थालेका हुन् । 

हिमा गाउँपालिकाका प्रयाग आचार्यले मतदान गर्न गाउँ छाडेकाहरू फर्किन थालेको बताए । उनले भने, ‘कामको सिलसिलामा जिल्लाबाहिर बस्दै आएका सर्वसाधारण धमाधम फर्किरहेका छन् । उनीहरू फर्किएसँगै गाउँमा चुनावी चहलपहल बढ्दै गएको छ । उम्मेदवारहरूले पनि घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।’ 

दलहरूले गाउँ केन्द्रित चुनावी प्रचारलाई अहिले घरदैलो केन्द्रित बनाइरहेको स्थानीयले बताएका छन् । ‘पहिले गाउँमा महिला, बालबालिका र जेष्ठ नागरिक मात्रै थिए,’ उनले भने, ‘अचेल गाउँ चहलपहल बढेको छ । आफूहरूले चाहेको उम्मेदवार छनौट गर्न मतदाता उत्साहित छन् ।’

जुम्लाको सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरीबाट धेरै मतदाता व्यापारको सिलसिलामा जिल्लाबाहिर जाने गर्छन् । एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडाका नागरिक रोजगारी खोज्दै कालापहाड जाने प्रचलन छ । 

यसपटक जिल्लामा विकास निर्माणको काम गर्न सक्ने नेतृत्व चयन गर्ने तिला गाउँपालिकाका देवबहादुर थापाले जानकारी दिए । ‘विकास गर्ने र सबैलाई मिलाएर लैजाने जनप्रतिनिधि चाहिएको छ,’ उनले भने, ‘काम गर्न सक्ने प्रतिनिधि छान्न घर फर्कियौं ।’ आफुहरूले मजदुरीकै भरमा गुजारा गरे पनि छोरानातिका दिन सुध्रिने आशा उनीहरूमा छ । आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउन होस् मतदाताहरू गाउँ फर्किन थालेका हुन् । 

जिल्ला निर्वाचन कार्यालय जुम्लाले पनि निर्वाचन शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ । दैनिक न्युनतम १० वटा यात्रुबस जिल्ला भित्रिने गरेको स्थानीयको भनाइ छ । जुम्लामा ७१ हजार ७ सय ३९ मतदाता छन् । ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल छन् । जिल्ला सुरक्षा समितिले पनि मतदान केन्द्रको अवस्था अनुगमन गरिरहेको छ । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully