सुर्खेतमा २० निर्वाचनस्थल अति संवेदनशील

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १ सय ४२ निर्वाचनस्थल र ३ सय ५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

फाल्गुन ११, २०८२

विवेक पोख्रेल

20 polling stations in Surkhet are highly sensitive

What you should know

सुर्खेत — सुर्खेतका २० निर्वाचनस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १ सय ४२ निर्वाचनस्थल र ३ सय ५ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार बाँकी ८७ स्थललाई संवेदनशील र ३५ स्थललाई सामान्य निर्वाचन स्थलका रुपमा हेरिएको छ ।

अति संवेदनशील निर्वाचन स्थल निर्वाचन क्षेत्र नम्बर-१ अन्तर्गत सिम्ता र चिङगाड गाउँपालिकाका ९ निर्वाचनस्थल छन् । यस्तै, क्षेत्र नम्बर-२ मा पञ्चपुरी नगरपालिका, चौकुने र बराहताल गाउँपालिकाका-११ वटा स्थल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए ।

‘दूरी, विकटता र विगतमा घटना घटेको हिसाबलाई मध्यनजर गरेर क्षेत्रलाई वर्गीकरण गरिएको हो,’ शाहीले भने, ‘अहिले हामी सुरक्षा निकायका प्रमुखसहित निर्वाचन अधिकृत निर्वाचन स्थलमै पुगेर हेर्ने, सुधार गर्नुपर्ने कुराहरु सुधार गर्ने र दलहरुबीच पनि समन्वयको काम भएकाले निर्वाचन सामान्य तरिकाले सम्पन्न हुन्छ ।’  शाहीका अनुसार संवेदनशील भनिएका मतदानस्थलमा अहिलेदेखि नै निगरानी राख्न सुरु भएको छ । 

सुर्खेतमा निर्वाचन लक्षित गरेर ९ सय ३५ प्रहरी, ३ सय ७४ नेपाली सेना, २ सय ४८ सशस्त्र प्रहरी र १ हजार ८ सय ४० निर्वाचन प्रहरी खटिने छन् । निर्वाचन प्रयोजनका झण्डै २ हजार कर्मचारी खटिँदैछन् । २ लाख ४८ हजार ९ सय ४३ मतदाता रहेको सुर्खेतको निर्वाचन क्षेत्र नम्बर-१ मा १ लाख २२ हजार ९ सय २ र क्षेत्र नम्बर-२ मा १ लाख २६ हजार ४१ मतदाता रहेका छन् । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully