पाल्पालाई पर्यटकीय ‘हब’ बनाउन सके रोजगार सिर्जना हुन्छ : पाण्डेय

‘तानसेनका नयाँ तथा पुराना घरहरूको मौलिकता कायम राख्दै टेलिया र भक्तपुरे इँटा जस्ता परम्परागत सामग्रीको प्रयोग गरी पर्यटकीय आकर्षणको सुन्दर सहर बनाउने योजना रहेको छ,’ उनले भने, ‘योजनामा तानसेनलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्ने भन्ने नै हो ।’

फाल्गुन १२, २०८२

माधव अर्याल

Making Palpa a tourist hub will create jobs: Pandey

What you should know

पाल्पा — पूर्वउद्योगमन्त्री एवं पाल्पा क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार सोमप्रसाद पाण्डेयले पाल्पालाई पर्यटकीय ‘हब’ बनाउन सके रोजगार सिर्जना गर्न सकिने बताएका छन् । उनले पर्यटन, कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्दै पाल्पालाई पर्यटकीय ‘हब’ का रूपमा विकास गर्ने बताए । 

नेकपाका तर्फबाट आफ्नो क्षेत्रको तानसेनमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले समग्र पाल्पाको विकाससँगै ऐतिहासिक सहर तानसेनलाई पर्यटकीय भौतिक पूर्वाधार विकास गर्ने बताए ।

‘तानसेनका नयाँ तथा पुराना घरहरूको मौलिकता कायम राख्दै टेलिया र भक्तपुरे इँटा जस्ता परम्परागत सामग्रीको प्रयोग गरी पर्यटकीय आकर्षणको सुन्दर सहर बनाउने योजना रहेको छ,’ उनले भने, ‘योजनामा तानसेनलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्ने भन्ने नै हो ।’

सिद्धार्थ राजमार्गको छेउमै पर्ने सिद्धबाबादेखि राम्दीघाटसम्म एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने उनले बताए । पहिचानका रूपमा रहेको मगर संस्कृतिलाई विश्वमा चिनाउन राष्ट्रिय स्तरको ‘मगर संग्रहालय’ र ‘मगर गाउँ’ स्थापना गर्दै पर्यटक आकर्षित गर्ने उनले बताए । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको तानसेन र आसपासका क्षेत्रलाई लुम्बिनीसँग जोड्न श्रीनगरमा नेपालकै ठूलो बुद्ध मूर्ति स्थापना गर्ने उनले बताए । 

तानसेनलगायत ग्रामीण भेगमा रहेका विहारहरूको जीर्णोद्धार गरी आकर्षक तीर्थस्थल बनाउने पूर्वमन्त्री पाण्डेयले बताए । पूर्वसांसद तथा संविधानसभा सदस्यसमेत रहेका पाण्डेयले तानसेन नजिकैको माडीमा माण्डव्य आश्रम तथा बुडुवा साथै माण्डव्य ताल र रुरुक्षेत्रमा ऋषिकेश मोक्षधाम सरोवर निर्माण गरेर पर्यटक आकर्षष गर्ने उनले बताए । ‘नेपाल–अंग्रेज युद्धको विजयगाथा झल्काउने ‘एङ्गलो–नेपाल वार गार्डेन’ र ‘युनिफिकेसन ट्रेल’ निर्माणका लागि एकीकृत गुरुयोजना तयार गरिनेछ,’ उनले भने । ऐतिहासिक रणउजेश्वरी भगवती मन्दिरको पुनर्निर्माण र सौन्दर्यकरण दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने उनले बताए । 

तानसेनलाई ‘इभेन्ट टुरिजम’ को केन्द्र बनाउन ३ हजार ५०० सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको स्मार्ट सभाहल निर्माण गर्ने उनले बताए । बल्ढेङ्गढीलाई राष्ट्रिय पार्कका रूपमा विकास गर्दै पर्यटक भित्र्याउन सकिने बताउँदै पाण्डेयले नेवारी संस्कृति झल्काउन तानसेनमा ‘नेवाः छो’ सहित ‘टक्सार लिभिङ म्युजियम’ बनाउने योजनाले पाल्पाको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ऐतिहासिक फड्को मार्ने उनले बताए । 

पाण्डेयले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भने, ‘तानसेन बहुप्राविधिक क्याम्पस र दमकडा क्षेत्रलाई आवासीय शैक्षिक हबका रूपमा विकास गर्ने र पश्चिम नेपालकै शैक्षिक धरोहरको रूपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेन शैक्षिक अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारेको छु ।’ जिल्लाका अन्य शिक्षण संस्थाहरूमा व्यावसायिक तथा प्राविधिक शिक्षाका लागि पहल गर्दै पाल्पा अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार र विशेषज्ञ सेवासहितको अस्पतालको रूपमा विकास गर्ने उनले प्रतिबद्धता जनाए । 

पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पताललाई अन्तर्राष्ट्रियस्तरको मेडिकल रिसर्च सेन्टर, अध्ययन, अध्यापन केन्ऽको रूपमा विकास गर्ने पाण्डेयले बताए । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन–रिडी खण्डलाई ३ वर्षभित्र स्तरोन्नति गर्दै हार्थोक–छहरा मोटरबाटो २ वर्षभित्र कालोपत्रे गर्ने, दोभान–भोटेगाउँ–मरेक–काशीनगर–दुर्गुट–बतासे–सातमुरे–गुल्मी सडक निर्माणमा जोड दिने बताए । उद्योगमन्त्री र सांसद भएका समयमा सुरु गरेको भूतखोला–कचल, जगात–गोठादी, र मायाथोक–देवदह, माडीफाँट–हर्दिनिया जस्ता दर्जनौं सडकहरूलाई पूर्णता दिने उनले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully