अहिलेको निर्वाचन केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा होइन : गैरे

ठाकुर गैरे भन्छन् : ‘यो निर्वाचन सत्ता परिवर्तन मात्र होइन, विकासको दिशा परिवर्तन गर्ष्ने आधार हो । मिनी जनमत संग्रहसमेत हो ।’

फाल्गुन १२, २०८२

माधव अर्याल

The current election is not just a competition to gain power: Gaire

What you should know

पाल्पा — एमाले केन्द्रीय सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुरप्रसाद गैरेले वर्तमान राजनीतिक सन्दर्भमा अहिलेको निर्वाचन केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा नभएको बताएका छन् । निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले राजनीतिक स्थिरता, आर्थिक पुनरुत्थान र सुशासन सुनिश्चित गर्ने निर्णायक अवसर भएको बताए । 

आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक कायक्रममा रिब्दीकोट गाउँपालिकाको खस्यौली सिरुपातेमा आयोजित कार्यक्रमका बोल्दै उनले भने, ‘यो निर्वाचन सत्ता परिवर्तन मात्र होइन, विकासको दिशा परिवर्तन गर्ष्ने आधार हो । मिनी जनमत संग्रहसमेत हो ।’ 

उनले प्रतिनिधिसभा सदस्य भएको समयमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका पक्षलाई व्यवहारिक रूपमा संयोजन गर्ने काममा भूमिका र योगदान स्मरण गर्न मतदातालाई आग्रह गरे । नेता गैरेले भ्रष्टाचारमुक्त समाज र उत्तरदायी प्रशासन आफनो प्राथमिकता हुने बताए । 

‘सुशासन हाम्रा लागि चुनावी नारा वा वाचा मात्र होइन, यो हाम्रो कार्यशैली हुनेछ,’ उनले भने, ‘जनताले सरकारी सेवा लिन सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य गर्दै पारदर्शी र सुदृढ प्रशासनिक संयन्त्र निर्माणमा मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ ।’ सार्वजनिक सेवालाई प्रभावकारी र जवाफदेही बनाउने बताउँदै न्याय प्रणालीलाई विश्वासिलो र भरपर्दो बनाइने उनले बताए । प्रशासनलाई जनताप्रति उत्तरदायी बनाउने बताउँदै नीति निर्माण तथा कार्यान्वयन गर्ने नियकामा प्रभावकारी क्षमता विकास गर्ने गैरेले बताए । 

पाल्पाको समग्र विकासका लागि ९ वटा विशेष क्षेत्रलाई समेटेर  योजना अघि सारेको बताउँदै स्थानीय पूर्वाधार विकास र आर्थिक शहरी विकासलाई मुख्य आधार बनाउउने बताए । गैरेले पाल्पाली सभ्यताको जगेर्ना र पर्यटनलाई अर्थतन्त्रको बलियो स्रोत बनाउने उद्घोषसमेत गरे । 

ऐतिहासिक र सांस्कृतिक पहिचानलाई विश्व बजारमा पुर्‍याएर पर्यटन अर्थतन्त्रमार्फत समृद्धि हासिल गर्ने योजना रहेको बताउँदै उनले भने, ‘उद्योग र व्यापारलाई अर्थतन्त्रको मेरुदण्ड रहेको र स्वदेशी विदेशी उदोगीलाई वातावरण अनुकुल बनाइने छ ।’ स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना र व्यापारिक सहजीकरणमार्फत आर्थिक आत्मनिर्भरता प्राप्त गर्ने उनले बताए । पानी र ऊर्जाको समुचित प्रयोग गर्दै कृषि क्षेत्रमा आमूल रूपान्तरण ल्याई किसानको जीवनस्तर उकास्ने उनले बताए । 

शिक्षा, सीप र खेल पर्यटनको केन्द्रका रूपमा पाल्पालाई विकास गर्ने लक्ष्य राखेको बताउँदै उनले स्वास्थ्य र सामुदायिक कल्याणका लागि गाउँ–गाउँमा गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता जनाए । विशेषगरी युवाहरूका लागि सुरक्षित र रोजगारीमुखी पाल्पा निर्माण गर्ने र वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा दिगो विकासको बाटोमा अघि बढ्ने उनले बताए । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully