कांग्रेसले सरकार चलाएको ०४६-०५१ को अवधि स्वर्णिम युग : सभापति थापा 

प्रतिज्ञापत्रमाथिकाे प्रश्नोत्तरका क्रममा सभापति गगन थापाले मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले ३० वर्षपछिको सपना देखेर अघि बढेको बताएका छन् ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

The period of 046-051 when the Congress ruled the government was a golden era: Chairman Thapa

What you should know

काठमाडौं — कांग्रेस सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्म कांग्रेसले सरकार चलाएको समयलाई स्वर्णिम युगका रूपमा लिने बताएका छन् ।

बिहीबार पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा भएको प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसै वेलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताए । तर, समयानुकुल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नु पर्ने उनको भनाइ छ ।

‘०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले चलाएको सरकारकै वेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो,’ उनले भने, ‘कांग्रेसले त्यसैको कारण लामो समयसम्म कम्युनिष्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनु पर्यो ।  हामी निरन्तर लखेटियौँ । हाम्रा सार्वजनिक नीतिहरूका बारेमा नागरिकलाई बुझाउन सकेनौँ त्यो हाम्रो कमजोरी रह्यो । तर, आज पनि नेपालमा जेजति कुरा आएका छन् त्यसको कथा खोज्दै गयो भने त्यतिवेलै सुरु गरेका योजनाहरूको जगमा आएका छन् ।’   

पार्टी स्थापनाकालमा नेताहरूले ३० वर्षपछिसम्मको सपना देखेको विषयलाई उनले स्मरण गरे । ‘जननायक बीपी कोइरालाले त्यसबेला प्रत्येक नेपाली म जस्तै मध्यमवर्गीय स्तरको हुनु पर्छ भनेर सपना देख्नुभयो,’ सभापति थापाले भने, ‘आज हामी हिजो गरेका उपलब्धिप्रति गौरव गर्छौं । हाम्रा ऐतिहासिक मूल्य मान्यतालाई अझै उज्याले बनाउछौं ।’

०३३ सालको त्यो अप्ठ्यारो दिनमा हातमा ७ वटा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू नेपाल आएको उनको भनाइ छ । सभापति थापाले भने, ‘हाम्रा आफ्ना संघर्षका दिनहरू सम्झन्छौँ । ३० वर्षको पञ्चायती कालरात्रिमा एकपटक पनि हाम्रो नेतृत्वले सत्तातिर हेरेर फर्केन । ती दिनहरू सम्झदै अघि बढ्ने छौँ ।’

मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको उनको दाबी छ ।

कान्तिपुर

Link copied successfully