मोरङ क्याम्पसको विज्ञान भवन मेरै पहलमा बनेको हो : कोइराला

विराटनगरमा आज आयाेजित चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै शेखर कोइरालाले विगतमा भएका विकास निर्माणका कामहरूलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने बताएका छन् ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Morang Campus' Science Building was built on my initiative: Koirala

What you should know

विराटनगर — कांग्रेसका वरिष्ठ नेता तथा मोरङ-६ का उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन् ।

विराटनगर-१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भवन निर्माणका लागि ५ करोड रुपैयाँ बजेट आफूले नै पहल गरेर ल्याएको र सोही बजेटबाट विज्ञान भवन निर्माण सम्पन्न भएको बताए ।

कार्यक्रममा कोइरालाले भने, 'मोरङ कलेजभित्र छुट्टै विज्ञान क्याम्पस देख्नुभएको छ, त्यो कसले बनायो ? मैले पहल गरेर ५ करोड रुपैयाँको योजना ल्याएको हुँ ।' उनले क्याम्पसको शैक्षिक पूर्वाधार सुधारमा आफू निरन्तर लागिपरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए । 'मैले अध्ययन गरेका बेला जस्तो मोरङ कलेज अहिले छैन । समयअनुसार परिवर्तन र विकास आवश्यक छ,' उनले भने, 'यस क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप पूर्वाधार, प्रयोगशाला र स्रोत–साधन विस्तार गर्नुपर्ने अवस्था छ ।'

उम्मेदवार कोइरालाले यसपटकको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै आफूले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन जनताको साथ आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले अर्को महत्त्वपूर्ण एजेन्डाका रूपमा विराटनगर-१२ लाई डुबानमुक्त बनाउने प्रतिबद्धता दोहोर्‍याए । वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्याप्रति संकेत गर्दै उनले तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने बताए । 'केसलिया खोलाले यहाँका बासिन्दालाई वर्षेनी दुःख दिँदै आएको छ,' उनले भने, 'सुदृढ तटबन्धन निर्माण गरेर विराटनगरलाई डुवानमुक्त बनाउने मेरो स्पष्ट योजना छ ।'

उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर मात्र दिगो विकास सम्भव छ । विराटनगर-१२ ठूलो र सम्भावनायुक्त वडा भएकाले सडक, पुल-पुलेसा, ढल निकास तथा अन्य पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने उनले बताए ।

कोइरालाले विगतमा भएका विकास निर्माणका कामहरूको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले भने, 'विकासका काम एक्लैले सम्भव हुँदैनन् । वडा, नगर, प्रदेश र संघ सबैको सहकार्य आवश्यक हुन्छ । त्यसका लागि राजनीतिक स्थिरता र सक्षम नेतृत्व चाहिन्छ ।'

यसैबीच कांग्रेस विराटनगर-१२ ले घरदैलो कार्यक्रमलाई पनि तीव्र बनाएको छ । चुनावी माहोल तातेसँगै विराटनगर-१२ मा विकास, पूर्वाधार र डुवान नियन्त्रण मुख्य एजेन्डाका रूपमा उभिएका छन् । कोइरालाको विज्ञान भवन निर्माण दाबी र डुबानमुक्त नगर बनाउने प्रतिबद्धताले स्थानीय राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully