‘अब ठूलालाई चैन र सानालाई ऐनको अध्याय सकिएको छ । किसानलाई खाद(मल) लिन अब लाइन बस्नुपर्दैन । लाइसेन्स लिन घुस दिनुपर्दैन, त्यो हाम्रो प्रतिज्ञा हो ।’-गगन थापा
What you should know
जनकपुर — कांग्रेस सभापति गगन थापाले भदौ २३ मा जस्तो अब देशमा युवा मारिनु नपर्ने र भदौ २४ गतेजस्तो सिंहदरबार जल्नु नपर्ने कांग्रेसको प्रतिज्ञा रहेको बताएका छन् । देशमा देखिएका समस्याको हल निकाल्दै कांग्रेसले भोलिको उज्यालो नेपालका लागि खाका तयार पारिसकेको बताए ।
‘भदौ २३ र २४ गतेको विद्रोहले हामीलाई इन्कार गरेको होइन । बदलिएर आऊ भनेको हो । कांग्रेस बदलिएर आएको छ,’ जनकपुरको तिरहुतिया गाछीमा बुधबार आयोजना गरिएको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले भने,‘अब ठूलालाई चैन र सानालाई ऐनको अध्याय सकिएको छ । किसानलाई खाद(मल) लिन अब लाइन बस्नुपर्दैन । लाइसेन्स लिन घुस दिनुपर्दैन, त्यो हाम्रो प्रतिज्ञा हो ।’
मधेश प्रदेशका ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारसमेत उपस्थित रहेको प्रतिज्ञा सभामा थापाले विगतमा थुप्रै काम भए पनि भएका गल्ती सच्याउन कांग्रेस तयार रहेको बताए । ‘अब प्रश्न गर्दा कुनै युवा भदौ २३ गतेको जस्तो राज्यको गोलीबाट मारिनुपर्दैन,’ थापाले भने,‘कसैले नकाव लगाएर सिंहदरबार जलाउन पाउँदैन, यही हो कांग्रेसको प्रतिज्ञा ।’ उनले भदौ २३ र २४ गते सडकमा आएका युवा पुस्ताको भावनालाई कांग्रेसले सम्बोधन गर्ने बताए । ‘जेन-जी भनेर कहीँ कतैबाट आएको होइन । ती हाम्रै भाइ भतिजा हुन्,’ कांग्रेस सभापति थापाले भने,‘हामीलाई इन्कार गरेको होइन । हाम्रो शैली बदल भनेको हो ।’
कांग्रेस सभापति थापाले अबको पाँच वर्षको समय खेर नफाल्ने पनि बताए । उनले सबै राजनीतिक दल र पक्षलाई सम्हालेर कांग्रेसले अबको पाँच वर्ष विकास र परिवर्तनको नेतृत्व लिने बताए । ‘कांग्रेसले अब पाँच वर्षको समय खेर फाल्दैन । कांग्रेसले हिजोको दिनको गौरव गर्छ । तर, हिजोमा अड्किएर बस्दैन । आजको समस्या समाधान गर्छ, भोलिको उज्यालो दिनको नेतृत्व गर्छ,’ उनले भने, ‘कांग्रेसको शक्ति घृणा होइन । प्रेम हो । कांग्रेसको शक्ति निषेध होइन, सबैलाई सहभागी गराउने शक्ति हो ।’
कांग्रेस सभापति थापाले मन्तव्यको प्रारम्भमा मैथिलीमै बोलेका थिए । ‘आई हम मैथिलीमे बजाव । हम प्रतिज्ञा करैछी किछ दिनमे उहाँसव स आहाँक् भाषा आ लयमे बात करव’ (आज म मैथिलीमा बोल्छु । अनि प्रतिज्ञा गर्छु, केही दिनमै म तपाईंहरूसँग तपाईंकै भाषा र लयमा कुरा गर्नेछु ।), थापाले भने,‘कांग्रेसले जे प्रतिज्ञा गर्छ, त्यसको प्रत्येक अक्षरस ५ वर्षमा पालना गर्नेछ । कांग्रेस सरकारमा होस कि विपक्षमा आफ्नो प्रतिज्ञा पूरा गर्छ ।’
प्रतिज्ञा सभामा कांग्रेस सभापति थापाले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरे । प्रतिज्ञासभामा पार्टीको घोषणापत्रका रूपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ । साथै उक्त कार्यक्रममा घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले देशमा स्थीर सरकार र सुशासनको मुद्दामा चुनावपछि साझा धारणा बनाउन दलहरुसित सहकार्य गर्न कांग्रेस तयार रहेको बताए । ‘मुलुकलाई सही ढंगले सुशासन नदिँदा जेन-जी विद्रोह भएको हो,’ प्रतिज्ञा सभामा शर्माले भने,‘सारा समस्याको एमआरआई गरेर कांग्रेसले विशेष महाधिवेशनबाट बदलिएर आएको छ । सबै दल र शक्तिलाई साझा सोच राखेर देशमा सुशासन स्थापित गर्न कांग्रेस अपिल गर्दछ ।’ उनले जुन मुद्दामा विद्रोह भयो, त्यसको जरोमा पुगेर समाधान गर्न कांग्रेस तयार रहेको बताए ।
कांग्रेसकी अर्की उपसभापति पुष्पा भुषालले पार्टी बदलेर मुलुक बदल्न कांग्रेस अग्रसर भएको बताएकी छन् । प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले अहिलेको चुनाव संघीयताको विरोधी र पक्षपातीबीच भएको बताइन् ।
‘हाम्रो प्रतिस्पर्धा संघीयता नमान्ने नयाँ पार्टीसँग भएको छ । आफ्ना अपराधलाई लुकाउने नयाँ पार्टीसँग छ,’उनले भनिन्,‘हामी संघीयताको पक्षमा छौं । विकासको पक्षमा छौँ । सुशासन, परिवर्तन, विकासको पक्षमा छौं ।’ उनले नयाँ सोच, दृष्टिकोण व्यवहारसहित कांग्रेसको नेतृत्वमा गगन थापा आएको बताइन् । ‘नयाँ सोच, दृष्टिकोण व्यवहारसहित कांग्रेसको नेतृत्वमा गगनकुमार थापा आउनुभएको छ,’ उनले भनिन्, ’उहाँलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छौं । यसलाई अनुमोदन गराउन फागुन २१ को प्रतीक्षामा छौं ।’
पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् । निधिले कांग्रेस सभापति गगन थापाको नेतृत्वमा सरकार बनाएर संविधानको रक्षा र विकासका काममा क्रान्ति ल्याउने बताए । उनले अहिले भइरहेको चुनाव सामान्य अवस्थामा नभएको बताए ।
‘यो चुनाव सामान्य अवस्थामा हुन गइरहेको छैन । निर्वाचित संसद् छैन । निर्वाचित संसद्बाट बन्ने जनउत्तरदायी सरकार छैन । संविधान ट्य्राकबाहिर छ,’ निधिले भने, ‘राज्य चलाउने कुरा नयाँ पार्टीलाई अनुभव छैन । कांग्रेसले मात्रै अहिलेको संकटबाट मुलुकलाई अघि बढाउन सक्छ ।’ नेपालमा कांग्रेसबाहेक परिवर्नतकारी पार्टी अर्को कुनै नभएको उनले बताए ।
