आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

बुधबार निर्वाचनको तयारीबारे काठमाडौंको निर्वाचन क्षेत्र नम्बर-३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले उक्त धारणा व्यक्त गरेका हुन् ।

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

Upcoming elections will be held in a peaceful and fear-free environment: Home Minister Aryal

What you should know

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्।

बुधबार निर्वाचनको तयारीका विषयमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर-३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले उक्त धारणा व्यक्त गरेका हुन् ।

नेपाल सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भई आ-आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न लागि पर्न निर्वाचन अधिकारीलाई निर्देशनसमेत दिए।

गृहमन्त्री अर्यालको साथमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सह-प्रवक्ता रमा आचार्य, गृहमन्त्रीको सचिवालय सदस्य तथा काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई, निर्वाचन अधिकृत चमिला भट्टराई लगायतको टोली स्थलगत निरीक्षणका लागि आज त्यसतर्फ पुगेका हुन्।

त्यस क्रममा गृहमन्त्री अर्यालसहितको टोलीले गोकर्णेश्वर माविमा रहेको मतदान केन्द्र रओख्रेनी मावि, सुन्दरीजलमा रहेको मतदान केन्द्रको स्थलगत अनुगमन गरेको थियो । यस्तै, उनीसहितको टोलीले शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानव निर्मित धापड्यामको पनि निरीक्षण गरेको थियो ।  

यस्तै, गृहमन्त्री अर्यालले गोकर्णेश्वर नगरपालिका-४ मा रहेको निर्वाचन अधिकृतको कार्यालयको समेत निरीक्षण गरेका थिए । त्यस क्रममा निर्वाचन अधिकृत भट्टराईले ३ नम्बर निर्वाचन क्षेत्रमा रहेको सबै मतदान केन्द्रहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे यस अघि नै अनुगमन गरिसकिएको, मतदाता शिक्षाको काम भइरहेको र मतदान केन्द्रमा पठाइने निर्वाचन सामग्रीको ढुवानीको तयारी पनि भइरहेको जानकारी गराएका थिए ।

यस्तै, जिल्ला निर्वाचन अधिकारी भट्टराईले निर्वाचन क्षेत्रका लागि आवश्यक जनशक्तिको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालयले सम्पन्न गरिसकेको जानकारी पनि गृहमन्त्री अर्यालको टोलीलाई गराए।

कान्तिपुर

Link copied successfully