प्रतिज्ञाहरू समेटेर कांग्रेसको ‘भिजन टेन’

कांग्रेसले १० मुख्य बुँदामा अघि सारेको दृष्टिकोणलाई नेपालको सुन्दर भविष्यको तस्बिरका रूपमा प्रस्तुत गर्दै सबै नेपालीलाई सम्मानित र सम्पन्न जीवन दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

फाल्गुन ७, २०८२

अजित तिवारी

Congress' 'Vision Ten' includes promises

What you should know

जनकपुर — कांग्रेसले पार्टीको प्रतिज्ञापत्रअन्तर्गत समावेश ‘भिजन टेन’ बुधबार सार्वजनिक गरेको छ । मधेश प्रदेशको आठ जिल्लाकेन्द्रित जनकपुरको प्रतिज्ञासभामा कांग्रेस सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । 

प्रतिज्ञापत्रको विस्तृत रूप भने बिहीबार राष्ट्रिय सभागृहबाट सार्वजनिक गर्ने कार्यक्रम छ । सभापति थापाले उक्त कार्यक्रममा प्रतिज्ञापत्रमाथिका प्रश्नहरूको जवाफ दिने कार्यक्रमसमेत राखेका छन् । कांग्रेसले १० मुख्य बुँदामा अघि सारेको दृष्टिकोणलाई नेपालको सुन्दर भविष्यको तस्बिरका रूपमा प्रस्तुत गर्दै सबै नेपालीलाई सम्मानित र सम्पन्न जीवन दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

पहिलो बुँदामा हरेक नेपालीले सम्मानित भएर बाँच्न पाउने, हिंसा, छुवाछूत, जातीय/लैंगिक विभेदमुक्त समाज निर्माण गर्ने उल्लेख छ । दोस्रोमा युवा ऊर्जा र नवीन सोचलाई प्रयोग गर्दै सपना देख्न सक्ने, स्वदेशमै आकर्षक अवसर र प्रवासमा रहेका नेपालीलाई फर्काउने, जीवन्त देश बनाउने लक्ष्य छ । 

तेस्रो बुँदाले लगानी, रोजगारी र सम्पत्ति सिर्जनालाई प्रोत्साहन दिने, श्रमिकको सम्मान र अवैध धनमाथि नियन्त्रण गर्ने नीति अघि सारेको छ । चौथोमा किसानलाई मुलुकको मुख्य सारथि बनाई आधुनिक कृषि, उचित मूल्य, बजार र बिमामार्फत पेटभरि खुवाउने तथा नेपाली उत्पादनलाई विश्व ब्रान्ड बनाउने योजना छ । पाँचौं बुँदामा गर्भदेखि वृद्धावस्थासम्म उन्नत स्वास्थ्य बिमामार्फत उपचारलाई मौलिक अधिकार बनाई रोग/खर्चको डरमुक्त जीवन दिने उल्लेख छ । 

छैटौंमा छोराछोरी पढाउन आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षा, पोषण र प्रविधिमा आधारित सिर्जनशील शिक्षा प्रणाली लागू गर्ने प्रतिबद्धता छ । सातौं बुँदाले कानुनको नजरमा सबै समान, राज्य संस्थाहरूको दलीयकरण अन्त्य, डिजिटल नेपालमार्फत भ्रष्टाचार र ढिलासुस्ती उन्मूलन गरी हैरानीमुक्त विधिको शासन स्थापना गर्ने लक्ष्य राखेको छ । 

आठौंमा नेपालको विविध जातजाति, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै मौलिकतामा गर्व गर्ने आधुनिक देश निर्माण गर्ने उल्लेख छ । नवौं बुँदामा विश्व समुदायमा स्वाभिमानी र सम्मानित राष्ट्र बनाउने भनिएको छ । दसौं बुँदामा कृषि, पर्यटन, ऊर्जा, आईटीजस्ता क्षेत्रमा द्रुत विकास, प्रविधिमैत्री र पर्यावरणमैत्री अर्थतन्त्र, सामाजिक न्यायसहितको समुन्नति सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ । 

Congress' 'Vision Ten' includes promisesथापाले २३ भदौमा जस्तो अब देशमा युवा मारिनु नपर्ने र २४ भदौमा जस्तो सिंहदरबार जल्नु नपर्ने कांग्रेसको प्रतिज्ञा रहेको बताए । ‘२३ र २४ भदौको विद्रोहले हामीलाई इन्कार गरेको होइन । बदलिएर आऊ भनेको हो । कांग्रेस बदलिएर आएको छ,’ जनकपुरको तिरहुतिया गाछीमा बुधबार आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले भने, ‘अब ठूलालाई चैन र सानालाई ऐनको अध्याय सकिएको छ । किसानलाई खाद (मल) लिन अब लाइन बस्नु पर्दैन । लाइसेन्स लिन घूस दिनु पर्दैन, त्यो हाम्रो प्रतिज्ञा हो ।’

उनले २३ र २४ भदौमा सडकमा आएका युवा पुस्ताको भावनालाई कांग्रेसले सम्बोधन गर्ने बताए । ‘जेन–जी भनेर कहीँ कतैबाट आएको होइन । ती हाम्रै भाइ–भतिजा हुन् । उनीहरूले हामीलाई इन्कार गरेको होइन । हाम्रो शैली बदल भनेको हो,’ थापाले भने, ‘अब प्रश्न गर्दा कुनै युवा भदौ २३ को जस्तो राज्यको गोलीबाट मारिनु पर्दैन । कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन, यही हो कांग्रेसको प्रतिज्ञा ।’ 

उनले अबको पाँच वर्षको समय खेर नफाल्ने पनि बताए । उनले सबै राजनीतिक दल र पक्षलाई सम्हालेर कांग्रेसले अबको पाँच वर्ष विकास र परिवर्तनको नेतृत्व लिने बताए । ‘कांग्रेसले अब पाँच वर्षको समय खेर फाल्दैन । कांग्रेसले हिजोको दिनको गौरव गर्छ । तर, हिजोमा अड्किएर बस्दैन । आजको समस्या समाधान गर्छ, भोलिको उज्यालो दिनको नेतृत्व गर्छ,’ उनले भने, ‘कांग्रेसको शक्ति घृणा होइन । प्रेम हो । कांग्रेसको शक्ति निषेध होइन, सबैलाई सहभागी गराउने शक्ति हो ।’

कांग्रेस सभापति थापाले मन्तव्यको प्रारम्भमा मैथिलीमा बोलेका थिए । ‘आई हम मैथिलीमे बजाव । हम प्रतिज्ञा करैछी किछ दिनमे उहाँसव स आहाँक् भाषा आ लयमे बात करव (आज म मैथिलीमा बोल्छु । अनि प्रतिज्ञा गर्छु, केही दिनमै म तपाईंहरूसँग तपाईंकै भाषा र लयमा कुरा गर्नेछु),’ थापाले भने, ‘कांग्रेसले जे प्रतिज्ञा गर्छ, त्यसको प्रत्येक अक्षरशः पाँच वर्षमा पालना गर्नेछ ।’ 

Congress' 'Vision Ten' includes promisesउपसभापति विश्वप्रकाश शर्माले देशमा स्थिर सरकार र सुशासनको मुद्दामा चुनावपछि साझा धारणा बनाउन दलहरूसित सहकार्य गर्न कांग्रेस तयार रहेको बताए । ‘मुलुकलाई सही ढंगले सुशासन नदिँदा जेन–जी विद्रोह भएको हो,’ शर्माले भने, ‘सारा समस्याको एमआरआई गरेर कांग्रेसले विशेष महाधिवेशनबाट बदलिएर आएको छ । सबै दल र शक्तिलाई साझा सोच राखेर देशमा सुशासन स्थापित गर्न कांग्रेस अपिल गर्दछ ।’ उनले जुन मुद्दामा विद्रोह भयो, त्यसको जरोमा पुगेर समाधान गर्न कांग्रेस तयार रहेको बताए । कांग्रेसकी अर्की उपसभापति पुष्पा भुसालले पार्टी बदलेर मुलुक बदल्न कांग्रेस अग्रसर भएको बताइन् । प्रतिज्ञासभालाई सम्बोधन गर्दै उपसभापति भुसालले अहिलेको चुनाव संघीयताको विरोधी र पक्षपातीबीच भएको बताइन् ।

‘हाम्रो प्रतिस्पर्धा संघीयता नमान्ने नयाँ पार्टीसँग भएको छ । आफ्ना अपराधलाई लुकाउने नयाँ पार्टीसँग छ,’ उनले भनिन्, ‘हामी संघीयताको पक्षमा छौं । विकासको पक्षमा छौं । सुशासन, परिवर्तन, विकासको पक्षमा छौं ।’ उनले नयाँ सोच, दृष्टिकोण, व्यवहारसहित कांग्रेसको नेतृत्वमा गगन थापा आएको बताइन् । ‘नयाँ सोच, दृष्टिकोण, व्यवहारसहित कांग्रेसको नेतृत्वमा गगनकुमार थापा आउनुभएको छ,’ उनले भनिन्, ’उहाँलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छौं । यसलाई अनुमोदन गराउन २१ फागुनको प्रतीक्षामा छौं ।’

पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताए । निधिले कांग्रेस सभापति थापाको नेतृत्वमा सरकार बनाएर संविधानको रक्षा र विकासका काममा क्रान्ति ल्याउने बताए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully