४ फागुनदेखि चुनावी सभा गर्न कार्ययोजना बनाउँदै राजनीतिक दलहरू, शीर्ष नेताहरू आवश्यकताअनुसार विभिन्न जिल्ला पुग्ने तयारी
What you should know
काठमाडौँ — निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले भौतिक र डिजिटल माध्यमबाट निर्वाचन अभियानलाई तीव्र पारेका छन् । उम्मेदवारहरू घरदैलो र सानातिना भेलामा व्यस्त रहिरहेका बेला दलहरूले केन्द्रमा चुनावी प्रचारका रणनीति तयार गरिरहेका छन् ।
कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमतलगायत दलका उम्मेदवारहरूले निर्वाचनसम्बन्धी आचारसंहिताको सीमामा रहेर घरदैलो गरिरहेका छन् । घरदैलोका क्रममा उनीहरूले मत मात्र मागेका छैनन्, गुनासा र सुझाव पनि सुन्ने गरेका छन् । चुनावका लागि सभा गर्न भने ४ फागुनदेखि मात्र मिल्छ ।
कांग्रेस ‘बदलियौं कांग्रेस, बदल्छौं देश’ भन्ने मुख्य मुद्दा बनाएर निर्वाचनमा होमिएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको आइतबार बसेको भर्चुअल बैठकले निर्वाचन परिचालन निर्देशिका पारित गरेको छ ।
उपसभापति विश्वप्रकाश शर्माले तयार गरेको निर्देशिकामा ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता उल्लेख छ । ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ भन्ने नीतिअनुसार १ देखि २१ फागुनसम्म पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ,’ उपसभापति शर्माले भने ।
केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत्तत् स्थानमा काम सकेर पुनः आफ्नै जिल्ला/क्षेत्र/पालिका र वडामा केन्द्रित हुने कांग्रेसले जनाएको छ । ‘तोकिएको जिम्मेवारी लिएर अन्यत्र जानु भएकाबाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आआफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुहुनेछ,’ केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, ‘एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौं’ उद्घोषसाथ आआफ्नै वडामा खट्नुहुनेछ ।’
आफ्नै निर्वाचन क्षेत्र, वडा र टोलमा नेता–कार्यकर्ता खट्दा बढी प्रभावकारी हुने निष्कर्षसाथ कांग्रेसले निर्वाचनमा परिचालन गर्न लागेको हो । ‘पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आबद्धहरूले सोहीबमोजिम जिम्मेवारी निभाउनुहुनेछ,’ कांग्रेसले निर्देशन दिएको छ ।
................................................
कसको तयारी के ?
– १–२१ फागुनमा ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ कांग्रेसको नीति
– एमाले नेताहरू आआफ्नै जिल्लामा खट्ने, अध्यक्ष ओली आवश्यकताअनुसार अरू जिल्ला निस्कने
– नेकपाले ठूला सभा नगर्ने, घरदैलो र जनसंवादमा जोड दिने
– रास्वपाले प्रदेशहरूमा शक्ति प्रदर्शन गर्न सभा गर्ने, जनसंवादलाई निरन्तरता
................................................
उम्मेदवार नभएका नेताहरूलाई ४ फागुनपछि चुनावी अभियानमा परिचालन गर्ने कांग्रेसको तयारी छ । कांग्रेसले डिजिटल टिम बनाएर सामाजिक सञ्जालबाट पार्टीको चुनाव प्रचारलाई तीव्र बनाएको छ । कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का साथै अन्य क्षेत्र पुगिरहेका छन् । उपसभापति शर्मा उम्मेदवार छैनन् ।
एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ मुख्य नाराका साथ चुनावमा होमिएको छ । उसले निर्णायक राष्ट्रिय शक्तिका लागि आफ्नो दललाई मत दिन आग्रह गरेको छ ।
एमालेले जिम्मेवारी लिएको क्षेत्रमै नेताहरूलाई खटाएको छ । अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ को घरदैलो अभियानमा छन् । उनी चुनावी प्रचारका लागि अरू जिल्ला पुगेका छैनन् । उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेललगायत नेता आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् ।
एमालेले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । प्रचार विभाग प्रमुख मीनबहादुर शाहीको नेतृत्वमा प्रचारप्रसार नीति बनाइएको छ । देशभर पार्टीलाई जिताउन डिजिटल सामग्री बनाउन टिम नै तयार गरिएको छ । ‘निर्वाचन कार्ययोजना बन्दै छ, सभा र कार्यक्रमका लागि नेताहरूको तालिका पनि तयार हुँदै छ,’ शाहीले भने, ‘अध्यक्षलाई धेरै ठाउँमा आउनुपर्यो भन्ने आग्रह छ । आआफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार, नेता–कार्यकर्ता परिचालन भएका छन् ।’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय’ का लागि आफूलाई जिताउन आग्रह गर्दै अभियान थालेको छ । नेकपाले ठूलो निर्वाचन सभा नगर्ने भएको छ । संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल विभिन्न जिल्लाका चुनावी कार्यक्रममा सहभागी भएका छन् । यही साता दाहाल आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व र नेपाल रौतहट–१ जाने तयारी छ । संयोजक दाहाल आवश्यकता अनुसार अरू जिल्लामा पनि जाने उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
यसपालि निर्वाचनमा ठूला सभाभन्दा जनतासँग जोडिने कार्यक्रमलाई प्राथमिकता दिने नीति बनाइएको निर्वाचन प्रचारप्रसार समितिका संयोजक अग्नि सापकोटाले बताए । ‘परम्परागत चुनाव प्रचारभन्दा परिमार्जित कार्यक्रम बनाउँदै छौं । हाम्रो प्रचारशैली प्रभावकारी बनाउन घरदैलोमा मुख्य जोड दिन्छौं,’ उनले भने, ‘आवश्यकताअनुसार कोणसभा, अन्तर्क्रिया, अन्तरसंवाद, विचारगोष्ठी हुनेछन् ।’
नेकपाले निर्वाचन क्षेत्रलाई तीन समूहमा वर्गीकरण गरी चुनावी रणनीति बनाएको छ । ५६ निर्वाचन क्षेत्रमा विशेष जोड गर्ने, ६७ क्षेत्रलाई ध्यान दिने र अरू क्षेत्रलाई सामान्य हिसाबले हेर्ने नेकपाको नीति छ ।
नेकपाले चुनाव प्रचारप्रसारको प्रभावकारिताबारे केन्द्रबाट अनुगमन गर्दै आएको छ ।
डिजिटल प्रविधिसमेत प्रयोग गरी चुनाव प्रचारलाई प्रभावकारी बनाइने सापकोटाले बताए । ‘डिजिटल टिमले प्रचार सामग्री बनाइरहेको छ,’ उनले भने, ‘हाम्रो पार्टीले सरकारको नेतृत्व गर्दा भएका काम, हाम्रो भिजन, नेताको विशेषता लगायतका सामग्री तयार हुँदै छन् ।’
रास्वपाले ‘जान्नेलाई छान्ने’ मूल सिद्धान्त बनाएर प्रचार सामग्री बनाइरहेको छ । रास्वपाले चुनावमा जनसंवादलाई मुख्य जोड दिएको छ । सातै प्रदेशमा सभा गर्ने रास्वपाको तयारी छ । जनकपुरमा चुनावी सभा गरिसकेकाले अब कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सभा गर्ने योजना छ ।
सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवन–२, वरिष्ठ नेता बालेन्द्र शाह झापा–५, महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा–२ को घरदैलोमा व्यस्त छन् । रास्वपा संगठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठका अनुसार चुनाव प्रचारका क्रममा उम्मेदवारले जनसंवादलाई मुख्य जोड दिएका छन् । ‘निर्वाचन परिचालन समितिअन्तर्गत जनसंवाद सुरु गरेका छौं । टोलटोलमा जाने, गुनासा सुन्ने गरेका छौं । सुझाव लिइरहेका छौं,’ उनले भने, ‘४ फागुनपछि हुने सभालाई सभापति, वरिष्ठ नेतालगायतले सम्बोधन गर्नुहुनेछ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राजसंस्था, हिन्दु राष्ट्र’ मुद्दासहित निर्वाचनमा होमिएको छ । उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा परिचालन समिति बनाएर ४ फागुनदेखि देशव्यापी घरदैलो र सभा गर्ने तयारी छ ।
‘अध्यक्ष र अरू नेता कार्यक्षेत्र विभाजन गरेर निर्वाचन कार्यक्रममा सहभागी हुन्छौं,’ उपाध्यक्ष तामाङले भने, ‘डिजिटल माध्यमबाट मतदातामाझ पुग्ने कोसिस गरेका छौं । सामग्री उत्पादनका लागि डिजिटल टिम बनाएका छौं ।’
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष सीके राउत मधेशका जिल्लाहरूमा निर्वाचन अभियानमा व्यस्त रहेका छन् । उनीहरूले संघीयता, समावेशी, समानुपातिक, सुशासनको मुद्दालाई प्राथमिकतामा राखेका छन् । उज्यालो नेपाल, नेकपा माओवादीलगायत दल पनि निर्वाचन अभियानमा छन् ।
