नेपालका २० वटा डिजिटल अधिकार तथा प्रेस स्वतन्त्रता सम्बद्ध संस्थाहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै स्वच्छ निर्वाचनका लागि भौतिक सुरक्षासँगै दुष्प्रचारमुक्त सूचना वातावरणको सुनिश्चिततामा जोड दिएका हुन् ।
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनमा साइबर सुरक्षा तथा मिथ्या र भ्रामक सूचनाको बढ्दो जोखिमप्रति विभिन्न संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । योजनाबद्ध रूपमा फैलाइने दुष्प्रचारले निर्वाचनको विश्वसनीयता, सामाजिक सद्भाव र सार्वजनिक विश्वासमा क्षति पुर्याउन सक्ने डिजिटल अधिकारकर्मीहरूको ठहर छ ।
नेपालका २० वटा डिजिटल अधिकार तथा प्रेस स्वतन्त्रता सम्बद्ध संस्थाहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै स्वच्छ निर्वाचनका लागि भौतिक सुरक्षासँगै दुष्प्रचारमुक्त सूचना वातावरणको सुनिश्चिततामा जोड दिएका छन् ।
डिजिटल राइट्स नेपाल, डिग्निटि इनिसिएटिभ, सेन्टर फर मिडिया रिसर्च - नेपाल, फ्रिडम फोरम, ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर), मिडिया एड्भोकेसी ग्रुप, चाइल्डसेफनेट, डिजिटल मिडिया फाउन्डेसन, मिडिया एक्सन नेपाल, ह्युमन राइट्स एन्ड जस्टिस सेन्टर, बडी एन्ड डेटा, पर्पल फाउन्डेसन, नेपाल इन्टरनेट फाउन्डेसन, नेपाल मतदाता अधिकार मञ्च, द स्टोरी किचन, युथ इन्नोभेसन ल्याब, नागरिक आवाज, नेपाल शान्ति संस्था, वुमन लिडर्स इन टेक्नोलोजी र अकाउन्टबिलिटी ल्याब नेपालले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।
विज्ञप्तिमा नेपालको निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाइन सक्ने सम्भावनाप्रति सचेत गराइएको छ । ‘निर्वाचन आयोग तथा केही नागरिक समाज संस्थाहरू मिथ्या सूचना पहचान र विश्लेषणमा सक्षम र प्रतिबद्ध देखए पनि, समग्र निर्वाचन पर्यवेक्षण संयन्त्र यस गम्भीर चुनौतीप्रति पर्याप्त रूपमा सक्रिय हुन नसकेको प्रति हामी चिन्तित छौँ,’ विज्ञप्तीमा भनिएको छ ।
मतदानको मिति नजिकिँदै गर्दा मिथ्या सूचनाविरुद्ध सार्वजनिक सचेतना अभियानहरू तत्काल सुरु गर्न आवश्यक रहेको उनीहरूले औँल्याएका छन् । सरकार, निर्वाचन आयोग, मिडिया र नागरिक समाजबीच प्रभावकारी समन्वय हुनुपर्ने सुझाव विज्ञप्तिमा दिइएको छ । सम्पादक र पत्रकारहरूका लागि ‘मिथ्या सूचना ड्यासबोर्ड’ जस्ता साझा संयन्त्र विकास गरी तथ्यमा आधारित खण्डन प्रणाली निर्माण गर्न संस्थाहरूले आग्रह गरेका छन् ।
डिजिटल युगमा साइबर सुरक्षा प्राविधिक विषय मात्र नभएर यो राष्ट्रिय सुरक्षाको गम्भीर मुद्दा बनेको संस्थाहरूले जनाएका छन् । यसले लोकतान्त्रिक स्थायित्व र सार्वजनिक विश्वासमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सरकारले नेपाल प्रहरीको साइबर ब्युरोलाई पर्याप्त स्रोत र जनशक्ति उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ । ‘अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू र त्यसमा पनि नेपालमा व्यापक प्रयोगमा रहेका मेटा र टिकटकसँग निर्वाचन आयोगले तत्काल समन्वय गरी मिथ्या र भ्रामक सामग्री पहिचान र नियन्त्रणमा सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
अर्कोतर्फ मिडिया हाउस र सम्पादकहरूले कुनै पनि दबाब वा भयका कारण ‘सेल्फ-सेन्सरसिप’ अभ्यास गर्नु पत्रकारिताको आधारभूत मूल्य र लोकतान्त्रिक जिम्मेवारीबाट पन्छिनु सरह हुने चेतावनी दिइएको छ । निर्वाचनको लोकतान्त्रिक प्रक्रिया सुरक्षित मतपेटिकाले मात्र सुनिश्चित नहुने र त्यसका लागि सही र तथ्यपरक सूचनामा आधारित जनमत नै मुख्य आधार भएको यी संस्थाले जनाएका छन् । यस प्रक्रियामा निर्वाचन आयोगले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, नागरिक समाज र अन्य सरोकारवालाहरूले पनि यसलाई सशक्तरूपमा सघाउनुपर्ने अधिकारकर्मीहरूको निष्कर्ष छ ।
