निर्वाचनमा पुस्तान्तरणको सकस : पुराना दलमा ‘पाका’कै हालीमुहाली

नेपाली कांग्रेस, एमाले र नेकपामा ४० वर्ष मुनिका उम्मेदवारको उपस्थिति नगण्य छ । यसको विपरीत रास्वपाले युवालाई उल्लेख्य स्थान दिँदै स्थापित दलहरूलाई चुनौती दिएको छ ।

माघ ८, २०८२

दया दुदराज

Generational transition in elections: 'Paka' dominates old parties

What you should know

काठमाडौँ — आसन्न निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका उम्मेदवारहरूको सूचीले नेपाली राजनीतिमा ‘पुस्तान्तरण’को बहसलाई फेरि केन्द्रमा ल्याएको छ।

निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ, ‘पुराना र स्थापित दलहरू अझै पनि ‘अनुभव’को नाममा पाका उम्मेदवारमै निर्भर छन् भने नयाँ राजनीतिक शक्तिहरूले युवा र महिलालाई प्राथमिकता दिँदै जोखिम मोलेका छन्।’

भदौमा भएको जेन–जी आन्दोलनको मूल मागमध्ये एक थियो, राजनीतिमा पुस्तान्तरण र जवाफदेहिता। तर आन्दोलनपछि हुन लागेको निर्वाचनमा पनि परम्परागत दलहरूमा खासै रूपान्तरण देखिएको छैन।

कांग्रेस, एमाले र माओवादीजस्ता दलहरूले टिकट वितरण गर्दा उमेर पुगेका, आर्थिक रूपमा सक्षम र पुराना मतदाता सञ्जाल भएका उम्मेदवारलाई नै प्राथमिकता दिएका छन्। यसको ठिक उल्टो नयाँ मतदाता समूह विशेषतः प्रविधिमा अभ्यस्त जेन–जी पुस्ताले एजेन्डा, पारदर्शिता र नेतृत्वको उमेरलाई समेत मूल्याङ्कन गर्ने देखिन्छ।

१ सय ६५ निर्वाचन क्षेत्रमा कसको प्रभाव कति छ भन्ने फैसला मतदाताले गर्ने भए पनि, उम्मेदवार छनोटमा देखिएको यो ‘उमेरगत खाडल’ले भविष्यको राजनीति कुन दिशातर्फ अघि बढ्दैछ भन्ने कुरा यसैबाट भन्न सकिन्न।

विशेष गरी नेपाली कांग्रेस, एमाले र नेकपामा ४० वर्षमुनिका उम्मेदवारको उपस्थिति नगण्य छ। यसको विपरीत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले युवालाई उल्लेख्य स्थान दिँदै स्थापित दलहरूलाई चुनौती दिएको छ।

उम्मेदवारको उमेर: कुन दलमा कति युवा उम्मेदवार?

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारमा ४० वर्षको उमेररेखाले दलहरूको प्राथमिकता प्रस्ट देखाउँछ।


कांग्रेसमा १५८ जना ४० वर्षमाथिका उम्मेदवार हुँदा मात्र ७ जना युवाले टिकट पाएका छन्। एमाले र माओवादीको अवस्था पनि उस्तै छ।

रास्वपाले भने कुल उम्मेदवारको करिब ४० प्रतिशत हिस्सा ४० वर्षमुनिका युवालाई दिएको छ। ९९ जना पाका र ६५ जना युवाबीचको यो सन्तुलनले संसद्मा नयाँ पुस्ताको उपस्थिति बढ्न सक्ने संकेत गर्छ। राप्रपाले पनि ३० जना युवा उम्मेदवार उठाएर आफूलाई ‘परिमार्जित’ देखाउने प्रयास गरेको छ।

पुस्तान्तरण र समावेशीताको बहस चुनावी नारामा सीमित रहने कि साँच्चिकै व्यवहारमा रूपान्तरण हुने? यसको उत्तर आगामी निर्वाचनको परिणामले दिनेछ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully