नेकपाका उम्मेदवारविरुद्ध चार जनाको स्वतन्त्र उम्मेदवारी

जिल्लाबाट पार्टीले सिफारिस गरे पनि केन्द्रबाट टिकट नपाएपछि उनीहरुले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका हुन् ।

माघ ७, २०८२

गंगा बीसी

Four independent candidates contest against the NCP candidate

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीमा आधिकारिक उम्मेदवारविरुद्ध चार जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाबाट पार्टीले सिफारिस गरे पनि केन्द्रबाट टिकट नपाएपछि उनीहरुले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका हुन् ।

नेकपाले दाङ १ बाट पूर्व एकीकृत समाजवादी पार्टीका उपमहासचिव, पूर्वमन्त्री मेटमणि चौधरीलाई टिकट दिएपछि उनीविरुद्ध पूर्वमाओवादी नेता एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाबाट सिफारिस भए पनि चौधरीलाई दोहोर्‍याएर टिकट दिएपछि स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएको बताए ।

‘मैले उम्मेदवारी फिर्ता लिएको छैन । उम्मेदवारी लिने कुरा हुँदैन,’ उनले भने, ‘निर्वाचन क्षेत्रका जनताको भावना, सबैको आवाजको नेतृत्व गरेर यो निर्णयमा पुगेको हो ।’ उनले ठेकी चुनाव चिह्न लिएर प्रचार थालिसकेका छन् । नेकपा जिल्ला कमिटीले उनलाई फिर्ता गराउन कसरत भने जारी राखेको छ ।

आधिकारिक उम्मेदवार चौधरीले स्वतन्त्र उम्मेदवार केसीले फिर्ता लिने बताए । ‘कुलप्रसाद केसीले उम्मेदवारी फिर्ता लिनुहुनेछ,’ उनले भने । उनी २०७९ को निर्वाचनमा उम्मेदवार भई विजयी भएका थिए ।

सिन्धुली २ मा पनि नेकपाका नेता महेश्वर दाहालले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका छन् । पूर्व सांसद लेखनाथ दाहाललाई आधिकारिक उम्मेदवार बनाएपछि उनले बागी उठेका हुन् । दाहालको प्रस्तावकमा पूर्व उपहासचिव हरिबोल गजुरेल रहेका छन् । दाहाललाई जिल्ला पार्टी कमिटीले क्षेत्र नम्बर १ बाट सिफारिस गरेको थियो ।

‘जिल्ला कार्यदल गरेको सिफारिस गरेकोमध्ये एक म थिएँ । लेखनाथलाई क्षेत्र नम्बर १ बाट सिफारिस गरिएकोमा हुकुमी प्रमांगीबाट क्षेत्र नम्बर २ मा टिकट दिइयो’ महेश्वरले भने, ‘हामी हुकमी प्रणालीलाई मान्दैनौँ । जिल्ला पार्टी समितिले मान्दैन । केन्द्रको मनोमानी किन मान्ने ?’ २०७९ को निर्वाचनमा धादिङ २ बाट लेखनाथले जितेका थिए ।

नेकपा कालीकोटमा पनि पूर्वमन्त्री, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आधिकारिक उम्मेदवार बनाएपछि माओवादी लडाकु कमाण्डर जीवन बुढा बागी उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा शाहीले जितेका थिए । 

‘सधैं एउटै व्यक्तिलाई कति नेता मान्ने ?’ स्वतन्त्र उम्मेदवारी दिएलगत्तै बुढाले भनेका थिए, ‘नेता धनी हुँदै जाने र जनता सधैं गरिबीमा रहने प्रवृत्तिको अन्त्य गर्न मेरो उम्मेदवारी हो ।’ उनले पार्टीमा कुनै विधि, नीति नभएको, जिल्लाका बहुमत नेता–कार्यकर्ताको भावनाविपरीत दादागिरी गरेर मनोनयन पत्र कब्जा गरेकाले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको पनि बताए ।

उदयपुर– २ मा नेकपाले सुरेशकुमार राईलाई आधिकारिक उम्मेदवार बनाएको छ । उनीविरुद्ध पूर्व गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बागी उम्मेदवारी दिएका छन् ।  उनले लुम्चुङबुङ गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । उनी यो गाउँपालिकामा दुई पटक अध्यक्ष भइसकेका हुन् । सुरेशकुमार पूर्व सांसद हुन् ।

‘जनताको सपनालाई मार्न सकिएन । बचाए जनताले बचाउँछ, मारे जनताले मार्छ भनेर उम्मेदवार भएको छु,’ उनले भने, ‘शिक्षा, स्वास्थ्यमा सुधार, स्थानीय कृषि उत्पादन बिक्री गर्ने आधार बनाएँ ।’उनले सांसदका लागि अवसर दिन पार्टीसँग मागे पनि नपाएकाले त्यो अवसर जनतासँग मागेको बताए ।

‘पार्टीसँग अवसर मागेको थिएँ । अहिले दिएन । त्यसैले मैले जनतासँग अवसर मागेँ,’ उनले भने, ‘म कसैलाई हराउन उम्मेदवार भएको होइन । जनतालाई जिताउन हो ।’

त्यस्तै, ओखलढुंगा सन्तबहादुर तामाङले पनि आधिकारिक उम्मेदवार अम्बिरबाबु गुरुङविरुद्ध उम्मेदवार हालेका छन् ।

गंगा

Link copied successfully