कर्णालीमा महिला उम्मेदवारलाई उपेक्षा

कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १२७ पुरुष उम्मेदवार छन् भने ११ जना महिला मात्रै उम्मेदवार बन्न पाएका छन् ।

माघ ७, २०८२

ज्योति कटुवाल

Female candidates ignored in Karnali

सुर्खेत — फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ महिला उम्मेदवार संख्या निकै न्यून छन् ।

परिवर्तनको नारा बोकेर आएका नयाँ दलहरूले समेत महिला उम्मेदवारलाई प्राथमिकतामा राख्न नसक्दा कर्णालीको राजनीतिमा लैंगिक असन्तुलन दोहोरिँदै आएको छ ।

कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १२७ पुरुष उम्मेदवार छन् भने ११ महिला मात्रै उम्मेदवार बन्न पाएका छन् । समावेशी प्रतिनिधित्वको प्रतिबद्धता दलहरूले दोहोर्‍याउँदै आए पनि यसपटक छनोट गरेका उम्मेदवारमा महिला प्रतिनिधित्वको सवाल फेरि कमजोर देखिएको छ ।

कर्णालीका १२ निर्वाचन क्षेत्रमा उठाएका उम्मेदवार हेर्दा राजनीतिमा लैंगिक समानता अझै व्यवहारमा स्थापित हुन सकेको देखिँदैन । कर्णालीका १० जिल्लामा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले एक जना महिलालाई पनि अवसर दिएन । नेपाली कांग्रेसले दैलेखबाहेक अन्य जिल्लामा महिलालाई स्थान दिएको देखिँदैन ।

स्वतन्त्र र साना दलले मात्र महिलाको नाममा उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नारा र युवाहरुले अवसर पाउनु पर्छ भनेको रास्वापालेसमेत १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा दुई जनालाई मात्र उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चत गर्नु संवैधानिक बाध्यता भएपनि राजनीतिक दलहरूले महिलालाई उम्मेदवार बन्न कन्जुस्याइँ गरेको देखिन्छ ।

प्रतिनिधिसभा सदस्य तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैं उम्मेदवार बनेका छन् । यस्तै, नेकपा एमालेका प्रदेश अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसका प्रदेश अध्यक्ष ललितजंग शाही राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन् । उम्मेदवार सिफारिस गर्ने निकायमा बसेकाहरु नेताहरु नै आफू उम्मेदवार बनेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीकी प्रदेश अध्यक्ष विमला केसीले प्रत्यक्ष लड्छु भन्ने कोही नहुँदा पुरुषले अवसर पाएको बताइन् । ‘म आफैं लड्न मिलेन अध्यक्ष भएँ, जिल्ला मिलाउन अलि समस्या भयो त्यसैले अरुले अवसर लिए,' उनले भनिन्, 'हाम्रा दिदीबहिनीहरुले प्रत्यक्षमा लड्न आँट गर्नु भएन ।’

उनका अनुसार प्रत्यक्ष लड्ने भन्दा समानुपातिकमा आत्मविश्वास कम देखियो । कालीकोट, जाजरकोट र मुगुमा ३२ जना पुरुष उम्मेदवार हुँदा महिलाको संख्या शून्य छ ।

सुर्खेतमा नेपाल मजदुर किसान पार्टीका तुल्सी खड्का, दैलेखबाट आमजनाता पार्टी तीर्थकुमारी विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका बबिता शाही, आमजनता पार्टी दैलेख मेनका श्रेष्ठ, कांग्रेस बासना थापा, आम जनता पार्टी प्रेमा दमाई, रुकुमपश्चिम, टासी ल्हाजोम लामा रास्वपा हुम्ला, विनिता कठायत रास्वपा जुम्ला, जुनु भण्डारी मेतेरी पार्टी डोल्पा, सलयानबाट कमला डांगी राष्ट्रिय जनमोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिशा नेपाली उम्मेदवार बनाएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully