कहाँ–कसले उम्मेदवारी दर्ता गरे ? देशभर दर्ता प्रक्रिया कसरी चल्यो ? लाइभ अपडेटका लागि ekantipur.com
दुई वटा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा मंगलबार ३७ जनाले प्रतिनिधिसभा सदस्यकालागि उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएका हुन् । यहाँ कांग्रेस, एमाले, रास्वपा, नेकपा, श्रम संस्कृति, राप्रपा, जनमोर्चालगायतका दलबाट उम्मेदवारी परेको छ ।
उदयपुर– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागी उदयपुर क्षेत्र नं. १ बाट नेपाली काङ्ग्रेसका विदुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका पूर्व जिल्ला सभापतिसमेत रहेका बस्नेतले मनोनयन दर्ता गरेको हुन् । उनी कांग्रेसको विशेष महाधिवेशनमार्फत केन्द्रीय सदस्यमासमेत निर्वाचित भएका छन् । यस्तै, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट बलदेव चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । त्रियुगा नगरपालिकाका पूर्व मेयर समेत रहेका चौधरी नेकपाका केन्द्रीय सदस्य हुन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी फुटेर माधव नेपाल सहितले नेकपा (एस) बनाएपछि चौधरी पार्टीको केन्द्रीय सचिव बनेका थिए । बस्नेत र चौधरी दुवैले मनोनयन दर्ता स्थलमा एकअर्कालाई अंकमाल गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।
नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर-४ मा आफ्नो उम्मेदवार परिवर्तन गरेको छ । यसअघि उम्मेदवार तोकिएका वीरबहादुर बलायरले मंगलबार दिउँसो चुनावी प्रतिस्पर्धामा भाग नलिने घोषणा गरेपछि कांग्रेसले गोरखबहादुर विष्ट ‘आनन्द’ लाई नयाँ उम्मेदवारका रूपमा अघि सारेको हो ।
अर्घाखाँची– फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) ले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । २०५४ मा खन गाविस अध्यक्ष र ०७४ को चुनावमा प्रदेशसभा १ बाट कांग्रेसबाट प्रतिस्पर्धी थिए । योसहित तेस्रोपटक चुनाव लड्दैछन् । सन्धिखर्कस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य पदका लागि मंगलबार वारेस मार्फत चितवन-२ बाट उम्मेद्वारी दर्ता गराएका छन् ।
उनको वारेसनामा मार्फत उम्मेदवारी दर्ता भएको चितवन-२ का सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले जानकारी दिए। पर्सा जिल्ला अदालतमा रहेको सहकारी ठगी मुद्दा प्रक्रियाका कारण मंगलबार उनलाई निर्वाचन अधिकृतको कार्यालय आउन सम्भव नभएको हो ।
बैतडीमा कांग्रेसबाट चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रहेका चन्द पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।
कांग्रेस जिल्ला सभापति समेत रहेका उनी पूर्वशिक्षक हुन् । शिक्षण पेशासँगै क्रिकेटको विकासमा सक्रिय रहेका चन्द २०७४ मा शिक्षकबाट अवकाश लिएर सक्रिय राजनीतिमा आएका थिए।
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन झापा निर्वाचन क्षेत्र नं. ३ बाट मनोनयन दर्ता गराएका छन् । यसअघि पनि उनी यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।
राप्रपा झापाका अध्यक्ष केशव ओझाका अनुसार राप्रपाले झापा–१ बाट हेमराज कार्की,२ बाट भद्रप्रसाद नेपाल, ४ बाट भक्ति सिटौला र झापा–५ बाट लक्ष्मी सङ्ग्रौलालाई उम्मेदवार बनाएको छ ।
रास्वपा उम्मेदवार शिशिर खनालले काठमाडौं–६ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा असनकी युवा महिला उद्यमी शैलेजा कसाजु प्रस्तावक बनेकी छिन् भने तारकेश्वरका युवा अभिषेक थापा समर्थक बनेका छन्।
उम्मेदवारी दर्तापछि खनालले भने, ‘काठमाडौं–६ बाटै देशको नयाँ अध्याय सुरु गर्नेछौँ।’
नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चितवन-३ मा डा.आशिकप्रसाद महतोले उम्मेद्वारी दर्ता गरेका छन् । सो पार्टीले चितवनका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गराएको छ । पार्टीका चितवन जिल्ला सेक्रेटरी रूद्रप्रसाद भट्टराईले पार्टीले चितवन-१ मा गणेशबहादु श्रेष्ठ र चितवन-२ मा दिर्शनाकुमारी शाहीले उम्मेद्वारी दर्ता गरेको जानकारी दिए ।
आगामी फागुन -२१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर-१ मा एमालेबाट धुव्रकुमार शाहीले मनोनयन दर्ता गराएका छन् ।उनले दोस्रोपटक प्रतिनिधिसभाको चुनावमा भाग लिँदै छन् । यसअघि २०७४ मा कांग्रेका पूर्णबहादुर खड्कासँग जित हासिल गरेका थिए । २०७९ मा भने उनी खड्कासँगै पराजित भएका थिए ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि विप्लव नेतृत्वको नेकपा माओवादीका उम्मेदवार भरत मल्लले उम्मेदवारी दर्ता गराएका छन् । बझाङमा यो सँगै ६ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाका शैलेश सिंह, एमालेका ऐनबहादुर महर, नेकपाका मीनबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्व जेठारा र नेपाल मजदुर किसान पार्टीका दलबहादुर धामीले उम्मेदवारी दर्ता गराइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत-२ मा आफ्नो मनोनयन दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३:३० बजे कांग्रेस नेता नारायण कोइरालाले मनोनयन दर्ता गराएका हुन् । कोइराला पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन् । कार्यालयका अनुसार हालसम्म नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दल तथा स्वतन्त्र गरी १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
अछाम–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका बलबहादुर कुँवरलाई चुनाव चिह्न ‘तारा’ प्रदान गर्दै उम्मेदवारी मनोनयन दर्ता गरेको हो ।
कुँवर २०७० सालको संविधानसभा सदस्य का उम्मेद्वार भइसकेका नेता हुन् । २०७४ सालको निर्वाचनमा उनी अछाम-२ (प्रदेश ‘ख’) बाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थिए। यद्यपि, उनी दुवै निर्वाचनमा पराजित भएका थिए ।
नेपाली कांग्रेसकै महासमिति सदस्य तथा प्रभावशाली नेताका रूपमा चिनिएका कुँवरले फागुन २१ मा हुने निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिने भएपछि अछाम-२ मा चुनावी सरगर्मी बढेको छ । अन्तिम समयमा भएको यो राजनीतिक फेरबदलले निर्वाचन प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट गोरखा–२ मा डा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
भट्टराई २०६४ को संविधानसभा निर्वाचनमा पनि गोरखा–२ बाट निर्वाचित बनेका थिए । उनी २०७० मा गोरखा–१ बाट निर्वाचित भएका थिए । २०७४ मा कांगेससँगको गठबन्धनबाट गोरखा–२ मा विजयी बनेका भट्टराईले २०७९ मा भने तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सघाएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को उम्मेदवार मेनुका भण्डारी (कृतु) ले मनोनयन दर्ता गराएकी छन्।
यस क्षेत्रबाट एमालेका मोहन राज रेग्मीले मनोनयन दर्ता गराइसकेका छन् भने क्षेत्र नं. १ मा कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जुम्लामा उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला अदालत जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले दिउँसो १:३० बजे मनोनयन दर्ता गराएका हुन् ।उनी र्यालीसहित मनाेनयन दर्ता गर्न पुगेका थिए ।
काठमाडौं-६ बाट एमालेका अमनकुमार मास्के र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर ६ स्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका हुन् । निर्वाचन अधिकृत चपला पोखरेलका अनुसार हालसम्म नेपाल मजदुर किसान पार्टीका यमाकुमारी बज्राचार्य, जनमोर्चा नेपालका जगतप्रसाद रेग्मी र नेपाली कम्युनिष्ट पार्टीका हेमलाल शर्मा (हिमाल) र स्वतन्त्र रुपमा निर्मला खड्का घिमिरेले मनोनय दर्ता गराइसकेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-७ स्थित निर्वाचन कार्यालयमा राष्ट्रिय श्रम संस्कृति पार्टीका तर्फबाट मणिराम बहादुर प्रधान र राष्ट्रिय जनमोर्चा नेपालका दीर्घकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृत सविता शर्माका अनुसार अन्य दलका उम्मेदवार आउने क्रम जारी छ ।
चितवन-१ बाट जेन–जी अभियन्ता विकास रसाइलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पछिल्लो समय युवा पुस्ताको मुद्दा उठाउँदै आएका रसाइली जेन–जी आन्दोलनको अग्रपङ्क्तिमा रहेर सक्रिय रहँदै आएका छन् । उनी विशेष गरी किसान आन्दोलन र मिटरब्याज पीडितहरूको न्यायका लागि हुने आन्दोलनको नेतृत्वदायी भूमिकाका कारण चर्चामा छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजा र जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका नेकपाका कार्यकर्ताहरूको साथमा उनले उम्मेद्वारी दर्ता गराएका हुन् । यससँगै बझाङमा तीनवटा दलले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्व जेठारा र नेपाल मजदुर किसान पार्टीका दलबहादुर धामीले उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा कविन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् । तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धा गरेका बुर्लाकोटीले २०७९ मा १२ हजार ६ सय ३९ मत प्राप्त गरेर दोस्रो बनेका थिए।
कांग्रेसले सचिन तिमल्सिनालाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ । कांग्रेस सभापति गगन थापा लड्दै आएको निर्वाचन क्षेत्रबाट यस पटक तिमिल्सिनालाई उम्मेदवार बनाएको हो ।
युथ कंग्रेसका संस्थापक सभापतिसमेत रहेका तिमल्सिना काठमाडौं-४ कै स्थानीय बासिन्दा हुन् ।
काठमाडौं क्षेत्र नम्बर १ स्थित निर्वाचन कार्यालयमा मध्यान्हसम्म चार उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार रविन्द्र मिश्रसहित तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन्।
स्वतन्त्रतर्फ सुरेन्द्र प्रसाद ढकाल, शान्ति श्रेष्ठ र कमल कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन्। खड्काले भने, 'अहिलेसम्म चार जनाले दर्ता गराउनुभएको छ।'
नेकपा एमालेबाट अलग भएर बसेका बृजेशकुमार गुप्ताले नेपाली कम्युनिष्ट पार्टीबाट मनोनयन दर्ता गराएका छन् ।
तौलिहवामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका हुन् । गुप्ता दुई पटक प्रतिनिधिसभा र दुई पटक संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनी एमालेका पूर्व केन्द्रीय सदस्य हुन् ।
मंगलबार दिउँसो गरेकाे मनोनयनमा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घलेको प्रस्तावक र समर्थकमा सचिवालय सदस्य युवराज अधिकारी रहेका छन् ।
मंगलबार दिउँसो गरेकाे मनोनयनमा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घलेको प्रस्तावक र समर्थकमा सचिवालय सदस्य युवराज अधिकारी रहेका छन् । उनी नवौंपटक चुनाव लड्दै छन्। यसअघि आठ पटक चुनाव लडेका गुरुङ २०६४, २०७४ र २०७९ मा मात्रै तीन पटक निर्वाचित भए भने बाँकी पाँच पटक पराजित भएका थिए ।
नेक्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवारले जिल्लाको ३ वटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यकालागि उम्मेदवारी दर्ता गराएका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर १ बाट सुनिल चौधरी, क्षेत्र नम्बर २ बाट राजमंगल थारु र क्षेत्र नम्बर ३ बाट विनोद लुइटेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताको दिन ढल्किँदै गर्दा पनि नेपाली कांग्रेसले काठमाडौं–१ र काठमाडौं–४ क्षेत्रको उम्मेदवार अझै तय गर्न सकेको छैन।
काठमाडौं–१ मा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको दाबी छ। तर सिंहको उपस्थिति कमजोर हुने भन्दै पार्टी सभापति गगन थापाले उम्मेदवार परिवर्तन गर्ने प्रयास गरिरहेका छन्। काठमाडौं–१ मा हितेन्द्र श्रेष्ठ र प्रवल थापामध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरिएको बताइएको छ। पार्टीका एक पदाधिकारीले भने, 'यी दुवै क्षेत्रमा सभापति आफैले निर्णय गर्ने कुरा भएको छ। अरु क्षेत्रमा करिव निर्णय सकिएको छ।'
काठमाडौँ क्षेत्र नम्बर २ स्थित निर्वाचन कार्यालयमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की शर्मिला मालीले उम्मेदवारी दर्ता गराएकी छन्।
निर्वाचन अधिकृत शान्ति न्यौपानेका अनुसार अहिलेसम्म दर्ताका लागि तीन जना निर्वाचन कार्यालयमा आइपुगेका छन्। उनका अनुसार स्वतन्त्रतर्फ रुपक सिम्खडाले पनि मनोनयन दर्ता गराएका छन्।
फागुन २१ को निर्वाचनका लागि चितवन-२ मा मनोनयन दर्ता सुरू भएको छ । मंगलबार मध्यान्हसम्म स्वतन्त्र उम्मेद्वार प्रतापसिंह तमाङ र नेपाल मजदुर किसान पर्टीबाट शोभा बासुकलाले उम्मेदवार दर्ता गराइसकेको चितवन-२ मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवनमा तीन निर्वाचन क्षेत्र छन् ।
कैलाली– कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको समय तालिका अनुसार उनले नयनसिंह बडाएक मार्फत उम्मेदवारी दर्ता गराएका हुन् । रानाले केही समय अगाडि नेपाली कांग्रेस पार्टी परित्याग गरेका थिए ।
डोल्पा– आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डोल्पामा नेकपा एमालेका उम्मेद्वारा लंक रोकायले पहिलो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार जिल्लाका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उनले उम्मेदवारी गराएको मुख्य निर्वाचन अधिकृत दामोदर पौडेलले जानकारी दिए ।यसपछि नेपाली कांग्रेसका उम्मेदवार कर्ण बुढा उम्मेदवारी दर्ता गराउन आउने खबर प्राप्त भएको उनले बताए । प्रत्येक उम्मेदवारलाई उम्मेदवारी दर्ताका लागि एक एक घण्टाको समय छुट्याइएको उनको भनाइ छ । रोकाय पहिलोपटक संघीय सांसदका लागि चुनावी प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरि नेपाली कम्युनिस्ट पार्टीबाट धन बहादुर बुढा, उज्यालो नेपाल पार्टीबाट दिल बहादुर विष्ट, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, रास्वपाबाट देवसिँह ऐडी, राप्रपाबाट हरि डाँगी र स्वतन्त्रबाट ओमेन्द्र केसीले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।
काठमाडौं–३ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का शेखर अर्यालले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत अमिला भट्टराईले बताइन् ।
यसअघि मंगोल नेसनल अर्गनाइजेसनका कुलबहादुर लामा र स्वतन्त्र उम्मेदवार श्रीकृष्ण बरालले मनोनयन दर्ता गराइसकेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पूर्व अध्यक्ष कमल थापाले काठमाडौं ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले बिहान जुलुससहित आयोगको कार्यालय टोखा नगरपालिकाको समाज भवनमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौं ५ कि निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार भर्खर थापाले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि मकवानपुरवाट निर्वाचन लड्दै आएका थापा यस पटक काठमाडौंबाट उम्मेदवार भएका हुन् । भर्खरैमात्र राप्रपा नेपालबाट राप्रपामा फर्केका उनलाई टिकट दिएको भन्दै स्थानीय नेताहरुले भने असन्तुष्टि जनाएका थिए ।
काठमाडौं क्षेत्र नम्बर २ स्थित निर्वाचन कार्यालयमा उपेन्द्र कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट उम्मेदवारी दर्ता गराएका उनी यो कार्यालयमा मनोनयन दर्ता गराउन पुगेका पहिलो उम्मेदवार हुन् । 'उहाँसँगै हाम्रोमा दर्ता कार्य सुरु भयो,' निर्वाचन अधिकृत शान्ति न्यौपानेले भनिन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन गृहजिल्ला रोल्पा पुगेका छन्।
पूर्वअर्थमन्त्री पुन तेश्रोपटक रोल्पाबाट उम्मेदवार बन्ने तयारीमा छन्। यसअघि उनी २०७४ र २०७९ को निर्वाचनमा नेकपाको आधार क्षेत्र मानिने रोल्पाबाट विजयी भएका थिए।
काठमाडौं–६ क्षेत्रबाट मनोनयन दर्ताका लागि हालसम्म तीन दलले समय लिएका छन्। निर्वाचन अधिकृत चपला पोखरेलका अनुसार अहिलेसम्म कसैले पनि मनोनयन दर्ता भने गरेका छैनन्। तर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले समय लिएका छन्।
एमालेले १२ बजेर ३० मिनेटका लागि समय लिएको छ भने रास्वपाले १ बजेको समय लिएको छ। राप्रपाले ३ बजेर ३० मिनेटका लागि समय लिएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ९ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार मनोनयन दर्ताका लागि चन्द्रागिरी नगरपालिकास्थित निर्वाचन कार्यालय पुगे पनि फाइल फिर्ता पठाइएको कार्यालयले जनाएको छ । ‘उहाँहरू आउनुभएको थियो तर केही कागजी प्रक्रिया नमिलेको भएर मिलाएर आउनु भनी हामीले फिर्ता पठाएका छौँ,’ निर्वाचन अधिकृत मनुका घिमिरेले भनिन्, ‘अन्य टोलीचाहिँ आइपुग्नु भएको छैन ।’ सोमबारको सर्वदलीय बैठकमा दलहरूले मिलेरै आउने बताएकाले कसैलाई निश्चित समय नतोकिएको उनले जानकारी दिइन् ।
काठमाडौँ क्षेत्र नम्बर २ स्थित निर्वाचन कार्यालयमा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराउन समय लिएको छ ।
मुख्य निर्वाचन अधिकृत शान्ति न्यौपानेका अनुसार अहिलेसम्म दर्ताका लागि भने कोही पनि आइसकेका छैनन् । उनले करिब १५ वटा पार्टीका उम्मेदवारले फारम लिएर गएको बताइन् ।
काठमाडौँ–६ मा तीन दलले उम्मेदवारी दर्ताका लागि समय लिएका छन् । निर्वाचन अधिकृत चपला पोखरेलका अनुसार अहिलेसम्म कसैको पनि मनोनयन दर्ता भएको छैन । नेकपा एमाले, रास्वपा र राप्रपाले भने समय लिएका छन् ।
एमालेले १२ बजेर ३० मिनेटका लागि समय लिएको छ भने रास्वपाले १ बजेको समय लिएको छ । राप्रपाले ३ बजेर ३० मिनेटका लागि समय लिएको छ । नेपाली कांग्रेस र नेकपा लगायत अन्य दलहरूबाट भने हालसम्म समय माग नभएको उनले बताइन् ।
काठमाडौं क्षेत्र नम्बर १ स्थित निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारहरू मनोनयन दर्ताका लागि पुगेका छन् । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार स्वतन्त्र उम्मेदवार कमल कोइरालाले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
उनले भने, ‘अहिलेसम्म स्वतन्त्र उम्मेदवार मात्रै आइपुग्नुभएको छ । ११ बजेसम्म राप्रपाका उम्मेदवार दर्ताका लागि आउने कुरा छ ।’
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ। सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता प्रक्रिया सुरु गरिएको हो।
दल तथा स्वतन्त्र उम्मेदवारका लागि मनोनयन दर्ताको समय फरक–फरक तोकिएको छ।
विनोद घिमिरे /धनकुटा
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।
विस्तृत समाचार
कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?
![Who registered their candidacies in 165 constituencies? [LIVE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/electioncommissionfinalcandidates20251229667-copy-1612026023508-1000x01-2012026051706-1000x0.jpg&w=1001&h=0)





























